मलेशियाबाट फर्केर तरकारी बारीमा ब्यस्त युवाहरु

बागलुङ, १ फागुन – एक बर्ष पहिले मलेशियाबाट फर्केका बागलुङको निसिीखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिन्छन् । बिदेशमा बिताएका पाँच बर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविश्य खोजीरहेका छन् । ३ बर्ष बहराईनको होटलमा काम गर्दाका दुःख र २ बर्ष मलेशियाको एक कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्दाका दुःख अहिले पनि उनको मानपटलबाट बाहिरीएका छैनन् । सानोतिनो किराना पसल गरेर गाउँमै बसेका बुढा धेरै सम्पत्ति कमाउनेसपना देखेर खाडीमुलुकदेखि मलेशियासम्म पुगे तर त्यहाँको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले सुखको सास फेर्न सकिने देखेर उनी मलेशियाको तीन बर्ष बिताएर नेपाल फर्किए । झिँवाखोलाकै बिमल शाही एक बर्ष पहिला दुबईबाट फर्केका हुन् । राम्रो कमाई हुने आशामा दुबई पुगेका शाही एक बर्षमै गाउँ फर्केर बुढासँगै सामूहिक तरकारी खेतीमा लागेका छन् । बिदेशमा धेरै दुःख भोगेका शाही र बुढाले गाउँमा फर्केर गाउँमै केही उद्यम गर्ने सोच बनाए । बजारको राम्रो व्यवस्था रहेको र माटोमा गरेको मेहेनतले प्रतिफल दिने देखेर उनीहरुले तरकारी खेती गर्ने सोचे ।
उनीहरुले बनाएको योजनालाई झिँवाखोलाकै अर्का युवा श्याम बहादुर शाहीले साथ दिएका छन् । बिदेशमा गएर दुःख गरेको अनुभव नभए पनि श्यामले बिदेशका दुःखको बिषयमा सुनेका छन् । त्यसैले उनीहरु मिलेर अहिले झिँवाखोलामा सामूहिक तरकारी खेती गरिरहेका छन् । पछिल्लो समय विदेश पलायन हुने युवाहरुको घुइँचो देखिन्छ । कतिपय युवाहरु विदेशमा गएर कमाई गरिरहेका छन्भने कतिपय युवाहरु हण्डर खाएर स्वदेश फर्किएका छन् । बिदेशमा गरेको दुःख सम्झेर देशकै माटोमा भविश्य खोज्नेहरु पनि छन् । त्यस्तै भविश्यको खोजीमा रहेका छन् झिँवाखोलाका तीन युवा । स्थानीय स्तरमा नै तरकारीको बजार रहेकाले सुबिधा पनि हुने र कृषिमा आत्मनिर्भर बन्ने आँफुहरुको चाहना पनि पुरा हुने भएकाले सामूहिक तरकारी खेतीमा लागेको बुढाले बताए । उनीहरुले निसीखोला कृषि फर्म दर्ता गरेर व्यवसाय सुरु गरेको एक बर्ष भयो ।
अहिले उनीहरुको तरकारी बारीमा सबैखाले तरकारी उत्पादन गरेका छन् । शुरुमा चार लाख रुपैयाँ लगानी गरेर स्थानीयको केही जमिन भाडामा र केही जमिन आफ्नै प्रयोग गरेका उनीहरुले लगानी बढाउने योजना बनाएका छन् । ‘तरकारीको उत्पादनले राम्रै प्रतिफल दिन थालेको छ, लगानी बढाएर मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दैछौं’ बुढाले भने । तरकारीसँगै उनीहरुले बिरुवा समेत उत्पादन गर्दै आएका छन् । गाउँमा आवश्यक बिरुवा आफ्नै फाराममा उत्पादन गरेर गाउँलाई बिरुवामा आत्मानिर्भर बनाउने लक्ष रहेको बुढाले बताए । ‘हामीले उत्पादन गरेको वस्तुहरुले हाम्रै बजार पाउँछ’ बुढाले भने ‘व्यवसायलाई अलि बृहत तरिकाले संचालन गर्न स्थानीय र केन्द्र सरकारले सहयोग र प्रोत्साहन पाए अझै राम्रो हुन्थ्यो ।’ नयाँ व्यवसाय भएकाले तत्कालका लागि मुनाफाको आशा नराखेको उनीहरु बताउँछन् । व्यवसाय व्यवस्थित बनाएर महिनामा १ लाखदेखि दुई लाख रुपैयाँसम्म खर्च कटाएर आम्दानी गर्ने लक्ष रहेको शाहीले बताए । मध्यपहाडी लोकमार्गले गर्दा यहाँका अन्य कृषकहरुले उत्पादन गरेको वस्तुहरु बजारीकरणको लागि खासै समस्या छैन । स्थानीय सरकारले युवालाई कृषि लगायतका क्षेत्रमा विभिन्न खालका तालिम संचालन गर्ने, युवालाई व्यवसायिकतर्फ आकर्षण गर्न विभिन्न योजना बनाएर लागे यस क्षेत्रका युवाहरु स्वरोजगार बन्न सहज हुने उनीहरुको भनाई छ । बिदेशमा गरेको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले छाक टरे आनन्दको अनुभुती हुने बुढा बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology