जनताका आशामा ‘चिसोपानी’ खन्याउने ?- प्रधानमन्त्री

  • यो वर्ष मात्रै ४९७ किलोमिटर नयाा सडक निर्माण भए। ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति भयो।
  • काठमाडौँ, २ फागुन – प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकालमा आशा जागेको उल्लेख गर्दै यस्ता आशामा ‘चिसो पानी’ खन्याउने काम भइरहेको बताएका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार मुलुकवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षमा भएका कामको फेहरिस्त पेस गरे । जसमा प्रत्येक मन्त्रालयका राम्रा कामहरुका सूची छन् । उनले आफूले भ्रष्टाचारको विरुद्ध शून्य सहनशिलताको कुरा गरेको उल्लेख गर्दै भने,‘भ्रष्टाचार सम्बन्धमा म मुखमा पानी हालेर बोलिरहेको छैन। भ्रष्टाचार गर्न तम्सिएकाहरु तर्सिएका छन्, मुर्मुरिइरहेका छन्।’ प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा जनता उत्साहित हुने काम गरेको दाबी गरेका छन्। ‘राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार अल्पकालीन प्रतिफल दिने कार्यमा मात्र केन्द्रित नभएर दीर्घकालीन विकास योजना सञ्चालन गर्न बलियो आधार तयार भएको छ, यस्तो परिस्थिति सिर्जना हुादा खिन्न हुनुभन्दा उत्साहित हुनुपर्ने हैन र ?’
    प्रधानमन्त्रीले सार्वजनिक गरेका केही उपलब्धि संक्षेपमा :
    त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुन थालेको छ। यस अवधिमा धनगढी र चन्द्रगढीसहित ६ वटा विमानस्थलवाट रात्री सेवा सुरु गरिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रियविमानस्थल २०१९ जुनमा परिक्षण उडान तथा सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा निर्माणको काम भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगाडि सन् २०२० सम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ। निजगढ अन्तर्राष्ट्रियविमानस्थल निर्माणका लागि ११० विघा जग्गामध्ये ६५ विघा जग्गा अधिग्रहण भइसकेको छ।
    ऊर्जाको क्षेत्रमा ऊर्जा व्याङकिङ्, लगायतका दूरगामी प्रभाव पार्ने खालका निर्णय र सम्झौताहरु भएका छन्। यही अवधिमा करिब ३ लाख विद्युत उपभोग गर्ने ग्राहक थपिएका छन्। प्रतिव्यक्ति विद्युत खपत १७७ किलोवाट घन्टाबाट बढेर २०० किलोवाट घन्टा पुगेको छ। माथिल्लो तामाकोसी जलविद्युत परियोजनाको काम अन्तिम चरणतर्फ पुगेको छ। अरूण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सुरू भएको छ। भेरी–बबई डाइभर्सन आयोजनाको यो एक वर्षमा ८ किलोमिटर सुरुङ निर्माण भएको छ।
    यो वर्ष मात्रै ४९७ किलोमिटर नयाा सडक निर्माण भए। ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति भयो। जसमध्ये २२१ किमि सडक कालोपत्रे गरिएको छ। ७ हजार ५ सय किलोमिटर सडक मर्मत गरिएका छन्। ८७ वटा पक्कि मोटरेबल पुल निर्माण सम्पन्न भयो। ४१७ वटा झोलुङ्गे पुल बनाइए।
    तुईन विस्थापित गर्ने अभियान अन्तिम चरणमा पुगेको छ। यसवर्ष लगभग हरेक ३ दिनमा एउटाका दरले तुईन विस्थापन भएको छ।
    वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी गएको वर्षको अप्रिल ७ देखि संचालनमा आएको छ।
    ४ सय ९९ वटा उद्योग दर्ता भई जम्मा १ खर्व ९८ अर्व रुपैयाँको लगानी प्रस्ताव भएको छ। विदेशी लगानीतर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्व ८३ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ।
    बुधबार १ गते विश्वस्तरको एउटा वायो साइन्स कम्पनीको उद्घाटन भयो। त्यसले हावाबाट ‘भारइस’ उत्पादन गर्छ र त्यसलाई भ्याक्सिनको रुपमा पोको पारेर विदेशमा निर्यात गर्छ। त्यसले वायो साइन्स अध्ययन गरेका स्नातकहरुलाई रोजगारी दिन्छ।
    नवलपरासीको धौबादीमा करिव १० करोड मेट्रिक टन फलामको धाउको भौगर्भिक भण्डार पहिचान भएको छ। चीनमा गरिएको मेटालर्जिकल परीक्षणमा उक्त धाउबाट स्पोन्ज आइरन उत्पादन गर्न सकिन्छ।
    विशाखापट्नम वन्दरगाह र बीरगञ्जका बीच निकासी पैठारी गरिंदा विद्युतीय कार्गो ट्रयाकिङ प्रणालीमार्फत सोझै बीरगञ्जमा क्लियरेन्सको व्यवस्था भएको छ। यसै महिनादेखि कोलकाता र हल्दिया बन्दरगाहबाट रेलमार्फत हुने पैठारीमा विद्युतीय कार्गो ट्रयाकिङ् शुरु हुँदैछ।
    पेट्रोलियम पदार्थको ढुवानीमा हुने गरेको चुहावटलाई नियन्त्रण गर्न भारतबाट आउने सबै विन्दुहरुमा पेट्रोलियम ट्याङ्करहरुको लकिङ प्रणाली लागू भइसकेको छ।
    गएको माघ ३ गते चोभारमा कन्टेनर फ्रेट डिपो निर्माण कार्यको शिलान्यास भएको छ। बिहीबारबाट हरेक नेपालीलाई विद्युतको शेयरधनी बनाउने लक्ष्यसहित ‘नेपालको पानी– जनताको लगानी’ कार्यक्रम शुरु भएको छ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology