निर्दयी बाबुआमाले छोडेपछि दुई भाइको शौचालयमा बास

  • ‘दुर्गन्धलाई सहेर भएपनि बस्ने ओत पाएका छौं’ जमुनाले थपिन ‘त्यो नै हाम्रोलागि सबैभन्दा खुसीको कुरा हो ।’
  • म्याग्दी, ३ फागुन -‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरित म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा बुबा आमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ । आफैले जन्माएका दुई छोरालाई आमा बुबा दुबै जनाले चटक्कै छोडेर अर्को बिबाह गरेपछि बेसहारा बनेका दुईजना नातिलाई ७५ वर्षिया हजुरआमाले विद्यालयको चर्पिमा राखेर पालिरहेकी छन् ।
    कमाइ खानका लागि एक सुर्को वारी र ओत लाग्नका लागि एउटा छाप्रोसम्म नभएकी ७५ बर्षिया जमुना सुनार ‘डाँडामाथिको घाम’ जस्तै कुन बेला अस्ताउने हुन् पत्तो छैन । उनै जमुनाको काँधमा दुई जना नातिहरुलाई पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका राजु सुनारका दम्पतीले आफ्ना दुई भाइ छोरा ९ वर्षिय एनस र ७ वर्षिय सिमसनलाई छोडेर अलग अलगरुपमा लाखापाखा लागेपछि ७५ वर्षिया जमुनाको काँधमा दुईओटा नातिको लालन पालनदेखि लिएर शिक्षा दिक्षाको समेत जिम्मेवारी थपिएको हो । स्थानीयवासीका अनुसार बालकहरुका बाबा राजुले अर्को बिबाह गरेर अन्यत्र बसेका छन् भने आमाले पनि अर्कैसंग बिबाह गरेकी छन् ।
    बाबा र आमाले नै दोस्रो बिबाहा गरेर छोराहरुलाई बेबारिसे अवस्थामा छोडेपछि नातिहरुलाई पालेर बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयको प्रयोग विहीन शौचालयका दुईवटा कोठा लिएर नातिहरुका साथ वसेकी छिन ७५ बर्षिया जमुना सुनार । जमुना सुनारले नातिहरुलाई स्याहारेर सुसार गर्न थालेको दुई वर्ष भएको छ । दुईवर्ष अघि छोराहरुलाई छोडेर गएका बाबु आमा अझसम्म पनि आफ्ना सन्तानको खैखबर गर्न आएका छैनन् ।
    ‘एक त आफ्नो शरिरले भर पाउँदैन, जीउले सकुन्जेल गिटी कुटेर,वालुवा चालेर र अरुको घरमा काम गरेर भएपनि बेनीमा कोठा लिएर राखेंँ’ गहभरी आँसु निकाल्दै ७५ वर्षिया जमुनाले भनिन ‘अब त जीउले पनि सक्दैन, म पनि बिरामी छु , कसैले दिए खाने हो नत्र भोकभोकै पल्टिने हो ।’ गत मंसिरदेखि विद्यालयको शौचालयमा बास बस्दै आएका नाति बजैको अवस्था अत्यन्त दयनीय रहेको छ । ‘उनीहरुको टीठलाग्दो अवस्था देखेर प्रयोगमा नआएका शौचालयका दुईवटा कोठा बस्नका लागि दिएका छौं’ सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले भने ।
    बृद्धभत्ता बाहेक आम्दानीको कुनै स्रोत नभएको जमुना सुनारले बताईन, ‘पहिले बालुवा चाल्ने काम गर्थे, अहिले काम गर्न सक्दिन, म पनि बिरामी छु । काम गर्न नसकेपछि कोठा भाडा तिर्ने पैसा भएन त्यसैले यो बास मागेर बसेका छौँ’सुनारले भनिन । चार कोठे शौचालयको देब्रे पट्टिको एउटा कोठामा नाति बजै सुत्छन् भने दाहिनेतर्फको कोठा भान्छाको रुपमा प्रयोग गरेका छन् । दुईवटा कोठा भने विद्यालयले शौचालयको रुपमा प्रयोग गरेको छ । छेउमै रहेको अर्को नियमित प्रयोग गर्ने शौचालयबाट दुर्गन्ध आउँछ । ‘दुर्गन्धलाई सहेर भएपनि बस्ने ओत पाएका छौं’ जमुनाले थपिन ‘त्यो नै हाम्रोलागि सबैभन्दा खुसीको कुरा हो ।’
    बेसहारा बनेकी जमुना शैचालयमा नै नातिहरुलाई राख्न पाउँदा खुसी भएपनि त्यो बाध्यताको खुसी भएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् म्याग्दीकी महिला अधिकारकर्मी रेखाकौशल रेग्मीले बताईन । महिला अधिकारकर्मी रेग्मीका अनुसार नेपालको संविधान २०७२ मा व्यवस्था भए अनुरुप बेसहारा बनेका व्यक्तिहरुको संरक्षण गर्नु र तिनीहरुलाई आश्रय दिनु राज्यको कर्तव्य हो । ‘एकल महिला त्यसमा पनि ७५ वर्षिया जेष्ठ नागरिक र नाबालक दुई बालकहरु वेवारिसे अवस्थामा शौचालयमा बस्न बाध्य हुनुले राज्यको ध्यान नपुगेको कुरालाई प्रष्ट्याउँछ ।’ रेग्मीले भनिन ‘समुदाय र सहृदयीहरुले दया गरेर सहयोग गर्नु मानवीयता हो भने तिनीहरुको दीर्घकालिनरुपमा समस्या समाधान गर्नु राज्यको दायित्व हो ।’ नाति बजैको अवस्था र उनीहरुको संरक्षणका लागि राज्य र राज्यका निकायहरु बेखबर र उदासिन भएपनि समुदाय र मनकारी व्यक्तिहरुबाट भने नाति बजैको सहयोगका लागि राहत उपलव्ध गराउने कार्य शुरु भएको छ ।
    केही दिन अघि बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक प्याक चाउचाउ, २ दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको जमुनाले बताईन । त्यसैगरी उनीहरुको अवस्थाका बारेमा जानकारी पाएपछि बेनीका युवाहरुले रु १७ हजार बराबरको अत्याबश्यक सामाग्री सहयोग गरेका छन् । बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दिपक जिसीको नेतृत्वमा १० जना युवाहरुले चरम आर्थिक संकट व्यहोर्नुभएकी सुनारको परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology