नयाँ युगको पहिलो सरकार !

मेरिकी स्वतन्त्रता सङ्ग्राम, फ्रान्सेली राज्य क्रान्ति, रुसी (अक्टोबर) समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता सङ्ग्राम, चिनियाँ क्रान्ति संसारभर भएका क्रान्ति र परिवर्तनका प्रेरक मानिन्छन् । यिनै क्रान्ति, विद्रोह र परिवर्तनका प्रभावले छिमेकी देशमा युगान्तकारी उथलपुथल भए । मानवीय संवेदना, गुण, आनीबानी र व्यवहारमा समेत परिवर्तन यिनले ल्याए । वैज्ञानिक सिर्जना, आविष्कारलाई सर्वसाधारणले उपभोग गर्न पाए । राज्यसत्तामा नागरिकका छोराछोरीको पहुँच पुग्यो । जनसार्वभौमसत्ता कायम भयो । सभ्यताहरू नै परिवर्तन भए ।
विश्वभर युगान्तकारी परिवर्तन शुरु भए । नेपालमा पनि टङ्कप्रसाद आचार्य र हाम्रा शहीदहरूको बलिदानले शुरु भएको क्रान्ति ०६२÷६३ सालमा आइपुग्दा नयाँ युगको शुरुआत भयो । नेपाली क्रान्तिको चरम उत्कर्षको दिन थियो – वि.सं. २०७२, असोज ३ गते । त्यही दिन सार्वभौम नेपाली जनताले निर्वाचित संविधानसभा मार्फत आफूले बनाएको संविधान घोषणा गरे–हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै… दिगो शान्ति, सुशासन, विकास, समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ ।
सङ्घीय गणतन्त्र नेपालको संविधानअनुसार २०७४ को आमनिर्वाचनमार्फत सार्वभौम नेपाली जनप्रतिनिधिले सत्ताको बागडोर सम्हालेको दिन हो – २०७४, फाुगन ३ गते, नयाँ युगको शुरुआत !
यो विल्कुलै नवीन र जनताको व्यवस्था हो । यो समयलाई प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरिरहनुभएको छ । फागुन ३ गते (आज) ‘जनताले, जनताद्वारा, जनताका लागि’ शासन शुरु भएको वर्ष दिन पुगेको छ । यो वर्ष भएका तथ्य÷तथ्याङ्कलाई वर्गीकरण गरेर हेर्दा स्पष्ट रूपमा पाँचवटा उपलब्धि देखिन्छन् ः
पहिलो उपलब्धि, २०७४ को आमनिर्वाचनमार्फत नेपाली नागरिकले स्थिर शासनको पक्षमा मतदान गरे । पाँच वर्षसम्म शासन गर्न जनताले स्थिर सरकार दिए । २०४६ सालको परिवर्तनदेखि २०७४ सालसम्म आइपुग्दा २८ वर्षमा २७ सरकार परिवर्तन भएका थिए ।
केपी ओली नेतृत्वको वर्तमान सरकार अस्थिरता चिर्न स्थिरताका लागि आएको हो । तर अझै पनि कहिलेकाहीँ सत्तारुढ पार्टी र दुई तिहाई पु¥याउनबाट रोक्न खोज्नेबीचको पौंठेजोरीले अस्थिरता उत्पन्न हुने हो कि भन्ने सङ्केत दिएको देखिन्छ । त्यसले गर्दा पाँच वर्ष नपुग्दै उथलपुथल हुने हो कि आशङ्का गर्नेहरू पनि छन् । तर स्थिरता घनिभूत भएको छ । नयाँ युगको पहिलो सरकारको पहिलो वार्षिकोत्सव मनाइरहँदा सङ्घ, प्रदेश र स्थानीय निकायमा नागरिकले पाँच वर्षका लागि सरकार चुनेको र तिनीहरू जनताको पक्षमा गतिशील भइसकेकाले यो स्थिर सरकार हो भन्ने सर्वत्र अनुभूत भएको छ ।
यो सरकारले पाँच वर्ष जनताको सेवा गर्ने हो, शासन होइन भन्ने अभिव्यक्ति प्रधानमन्त्री केपी ओली हरेक दिन दिइरहनुभएको छ । उहाँले निरन्तर गरिरहेको ‘कोचिङ’ र नेतृत्वलाई गरेको ‘मेन्टरिङ’ले त्यसैलाई पुष्टि गरिरहेको छ । पहिलो वर्षको स्थिरताले अनुभूत गराएको रूपान्तरण यही हो, यो नै राजनीतिक स्थिरता हो ।
दोस्रो उपलब्धि, सामाजिक, साँस्कृतिक र आर्थिक क्षेत्रमा सिर्जित तरङ्ग हो । अस्थिर सरकारले गर्दा नेपाली जनता एक किसिमको ‘आघात’ मा थिए, वाक्क र दिक्क थिए, किनभने कहिले सामाजिक विद्रोह, कहिले आततायी वातावरण, कहिले त्रास, भय, आशङ्का त कहिले पारस्परिक अविश्वास, घृणा र द्वेषको अवस्था जताततै व्याप्त थियो । कहिले कुरीतिले गाँजिरहन्थ्यो ।
यो लामो चरणमा सामाजिक, साँस्कृतिक, आर्थिक रूपमा अवसर पाउनेहरूमा पनि त्रास थियो, स्थिरता र आत्मविश्वास थिएन ।
तर २०७४, फागुन ३ गतेदेखि शुरु भएको स्थायित्वका कारण आर्थिक, सामाजिक, साँस्कृतिकरूपमा समावेशी, गणतान्त्रिक, सङ्घीय संविधानले अपनत्व प्रदान गर्न थालेको छ । यद्यपि टुक्रे स्वार्थले बेलाबेला मसला बनाउन नखोजेको भने होइन तर नेतृत्व आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा आममानिसमा निर्भयको वातावरण बनाउन लागिरहेको छ । यो निरन्तरको प्रयत्न प्रत्यक्ष र भौतिक रूपमा देखिँदैन । यसको मापन मनोवैज्ञानिक हुन्छ । यसको प्रभाव नागरिकको आनीबानी, स्वभाव र व्यवहारमा देखिन्छ । रीतिरिवाज र सामाजिक संवादमा अभिव्यक्त भइरहेको छ ।
यी कुराबारे हाम्रा समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद् र राजनीतिशास्त्रीले पर्गेल्ने र घनिभूत रूपमा ‘आर्टिकुलेट, शेयर र डिस्कोर्स’ गर्नुपथ्र्यो, गरेनन् । सामाजिक, साँस्कृतिक र आर्थिक रूपान्तरणमा भएका पाटाले यसलाई देखाइरहेको छ । त्यसैले नेपालीमा आशा, आत्मविश्वास, सकारात्मक आर्थिक विकासको ‘छवि’ देख्ने संस्कृतिको विकास भइरहेको छ । त्यसैले यो, युग परिवर्तनको अर्को उपलब्धि हो ।
तेस्रो उपलब्धि, नेपालमा विकास, समृद्धि, स्थायित्व र सुशासन सम्भव छ र यो हामीले नै गर्नुपर्छ भन्ने भावना ह्वात्तै बढेको छ । १७८ देशमा फैलिएर रहेका नेपालीमा राष्ट्र, राष्ट्रियता र विकास गर्नुपर्छ भन्ने भावना अपूर्व रूपमा जागृत भएको छ । कानुनीराजको माग बढ्दो छ । यो अभिव्यक्ति सामाजिक सञ्जालमा घनिभूत रूपमा देख्न सकिन्छ ।
कतिपयलाई लागेको छ त्यो त असन्तुष्टि हो तर होइन । उनीहरू जहाँ रहेका होऊन्, सात समुद्रपारि वा सुदूर गाउँमा यो अपेक्षा, अपनत्व र नागरिक कर्तव्य तथा जिम्मेवारीप्रति उनीहरूले जनाएको जागरुकता हो । अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका, क्यारेवियन मुलुकहरू, मलेसिया, कोरिया वा अरबका खाडीमा रहँदा पनि प्रत्येक नेपालीले सामाजिक सञ्जालमार्फत जागरुकता जागृत गरिरहेछन् । त्यसैले यसप्रति आलोचना गरेर झर्कने होइन, यसलाई पृष्ठपोषक र अपेक्षा भनेर बुझ्नुपर्छ । यो जागरण राष्ट्र, राष्ट्रिय एकता र देशप्रेमको भावनाको नवजागृति हो ।
हाम्रो नयाँ पुस्ताले सूचना र प्रविधिमा पाएको पहुँच, अवसर र प्रयोगलाई सकारात्मक ऊर्जाका रूपमा लिनुपर्छ, लिएको पनि छ । यसमा कतिपय जिम्मेवारहरूले पनि पर्गेल्न नसकेको कुरा चाहिँ के भने यस्ता अभिव्यक्तिमा को को सङ्लग्न छन् ? सबै उमेर समूह, सबै आर्थिक हैसियत, सबै पेशा व्यवसाय, सबै खाले पृष्ठभूमि, सबै लिङ्गका नागरिकको संलग्नताले राष्ट्र, राष्ट्रियता र राष्ट्रप्रेमलाई जागृत गराएको देखाइरहेछ । प्रत्येक दिन र हरेक क्षण यति धेरै अपेक्षा अभिव्यक्ति हुनु भनेको उपलब्धिप्रतिको अपेक्षा हो । यो नयाँ युगबाट नागरिकले पाउने उपलब्धप्रतिको अपेक्षा र अपनत्व पनि हो । जसरी हामी बालबालिकाले केही काम बिगार्न लागे भनेर आक्रोशित हुन्छौँ, त्यस्तै हो आफ्नो सरकारप्रतिको सामाजिक सञ्जालमा अभिव्यक्त सजगता ! जनता जनार्दन भनेको यही हो । डा. गोविन्द केसीको अनशन र निर्मला पन्तलगायतका अवोध बालिकाको बलात्कार र हत्याप्रतिको निन्दा, भत्र्सना र न्यायको माग अत्यन्त स्वाभाविक हो, यसलाई कसैले अन्यथा मानिरहनै पर्दैन । त्यसैले सरकार अविच्छिन्नरूपमा निर्मलाको हत्याराको खोजी, अनुसन्धान गरिरहेको छ । ऐन नै पारित गरेर डा. केसीका माग सम्बोधन गरेको छ । केसीको सत्याग्रह र नागरिकको खबरदारीले यो सम्भव भएको हो । नयाँ युगमा नागरिक अपेक्षालाई सम्बोधन गर्न, लागिपर्न र सुधार गर्न सरकार चुकेको छैन ।
चौंथो उपलब्धि, नयाँ युगमा विकासका मुद्दा तय हुुनु हो । संविधानले व्यवस्था गरेबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारको नीति–कार्यक्रम बजेटमार्फत सार्वजनिक हुने थिति बसेको छ । सरकारले समाजवादी आर्थिक नीति अवलम्बन गर्ने, संविधानमा भएको व्यवस्थाबमोजिम नागरिकको मौलिक हक, अधिकार सुनिश्चितताका लागि आवश्यक कानुन तयार पारेको छ । प्रक्रियागत रूपमा पूरा गर्दैछ । राष्ट्रिय सुरक्षा नीति, सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, संस्थागत पुनःसंरचना, सुशासन पहिलो प्राथमिकता र त्यसप्रति व्यापक जागरण, पन्ध्रौँ राष्ट्रिय योजनाको तयारी, विकास र पूर्वाधारका आयोजना÷परियोजना तोकिएको समय अगावै सुसम्पन्न हुने शुरुआत हुनु, प्रत्यक्ष वैदेशिक लगानी सम्मेलनका लागि आधार तयार हुनु, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावशालीरूपमा उपस्थित भई मुलुकको आर्थिक उन्नति र समृद्धिका लागि देशभित्र मात्र नभई देश बाहिर पनि सञ्चार प्रवाह गर्न सफल हुनु नयाँ युगको पहिलो वर्षको अर्को उपलब्धि हो ।
पाँचौं उपलब्धि– हाम्रा दुई छिमेकी देश भारत र चीनबाट तुलनात्मक लाभका क्षेत्र पहिचान गरी आर्थिक समृद्धिको बाटोमा हिँड्ने साझेदारी र सुसम्बन्धको कूटनीतिक अभ्यासको शुरुआत अर्को कोसेढुङ्गो हो । नेपालले कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा युग परिवर्तनको सञ्चार प्रवाह गर्नसक्नु नयाँ युगको पहिलो वर्षको पाँचौं उपलब्धि हो । नेपालसँग भूमि जोडिएका भारत र चीनसँगको रेल, पानी जहाज, यातायात पारवहन सन्धि, सम्झौता र प्रोटोकल मार्फत नेपालको समुद्रसम्मको पहुँचको अन्तर्राष्ट्रिय कानुनद्वारा सुनिश्चितता पनि यसै वर्ष भएको छ । विद्युतीकरणको नयाँ सम्भावना पहिलिँदैछ ।
हिजो नेपालले संविधान जारी गरेर भारतीय नाकाबन्दी ब्यहोर्नुपर्दा चुइँक्क नबोल्ने अन्तर्राष्ट्रिय जगत् पनि अहिले नेपालसँग सम्बन्ध बढाउन हतारिएको छ । कूटनीतिक क्षेत्रले मारेको यो ठूलो फड्को हो । हाम्रो संविधानले परिकल्पना गरेको र विगतदेखि अभ्यासमा रहेको विदेश मामिला र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयामको अभ्यास नयाँ युगको पहिलो सरकारले पहिलो वर्षमा सफलतापूर्वक गरेको छ । नेपालको भूराजनीतिक विषयमा विज्ञता देखाउँदै चुरीफुरी गर्नेलाई पनि नयाँ पाठ बनेर नयाँ युगमा नयाँ नेपालको विदेश नीति देखिएको छ । यसको प्रभाव र उपलब्धि भोलिका दिनमा अझ देखिँदै जानेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology