विचित्रका नेपाली महिलाहरु

नेपाली समाजमा महिलासँग सम्बन्धित कुरा उठाउँदा पुरुष प्रधान समाजको कुरा सहजै आउँछ। पुरूष प्रधान समाजको कुरा यति उठ्छ कि, यो एउटा फितलो थेगो जस्तै भइदियो। तर, कुरोको चुरो यसैमा छ। जगलाई छोडेर घरको कुरा गर्न नमिले जस्तै। कसरि पुरुष मुख्य र महिला सहायक भन्ने मात्र होइन। पुरुषको अस्तित्वले घनिभूत हाम्रो समाजमा महिलाको पहिचान, मूल्य र मान्यताहरु एकदम धिमा, असरल्ल र निकै दबिएका छन्।

नेपालमा महिला हक र अस्थित्वबारे बहस हुन थालेको धेरै भएको छैन। केही पठितहरुलाई लाग्छ नेपालमा महिला सम्बन्धि धेरै सुधारहरू भए। कानुनहरू परिमार्जन भए, शिक्षामा उनीहरुको पहुँच बढ्यो, सरकारी जागिरमा कोटा छ, केही उच्च स्थानमा महिला छन्। अनि महिला मामिला हेर्ने मन्त्रालय छ।  समय समयमा सहरहरूमा महिला गोष्ठी, कार्यक्रमहरु हुन्छन्। अझ अधिकार धेरै भएर सहरिया महिलाहरुले त मर्यादाको सीमा नाघेको पनि पढ्न र सुन्न पाइन्छ।

जस्तै उनीहरु भान्सामा खट्न छाडेर तीजमा पार्टी प्यालेसमा भोज गर्छन् त्यो पनि महिना भर। आजभोलि सहरका महिलाहरू डिस्को जान्छन्, धुम्रपान र मध्यपान गर्छन्। पहिरन छोटो छ आदि, आदि। यसरी आधुनिक महिलाहरूमा अहिले धेरै खोट देखियो किन कि, उनीहरु परम्परागत रहेनन्। उनीहरु हाम्रो समाजले बुझेको र जानेको भन्दा पृथक भए। उनीहरु एक्लै जागिर खान हिँड्छन्। आफ्नो जीवन साथी आफै रोज्न चाहन्छन्। पहिरनमा र  खाने कुरामा आफ्नो इच्छा जाहेर गर्छन्।

साथीहरूमाझ उन्मुक्त हाँस्छन्, ठूलो श्वरमा बोल्छन्, आफूलाई मन नपरेको र अनन्य भएको कुरा शब्दमा ब्यक्त गर्छन्। हाम्रो समाजका आदर्श नारीहरु यस्ता थिएनन्। उनीहरू धेरै लजालु हुन्थे। उनीहरूमा धेरै डर थियो। त्यसैले ठूला वडाका सामू टाउको निहुराएर बस्थे, बोल्थे। आज्ञाकारी थिए। नम्र थिए। घरमा दिएको खान्थे, दिएको लाउथे अनि चुलो चौको राम्रोसँग गर्थे। काम गरिरहन्थे। कहिले नथाक्ने।

घरमा पाहुनाले र छोरा मान्छेले खाएपछि मात्र उनीहरू खान्थे। उनीहरूका लागि खाना तुल्याउनेदेखि लिएर सुत्ने ठाउँको ब्यवस्ता गरेर, जुठो भाँडो गरेर मात्र उनीहरू आराम गर्थे। जो आफूलाई जति दुखः भए पनि ब्यक्त नगरी बस्थे उनीहरू कुशल र शुशील हुन्थे। छोरीहरुलाई कम बोल्ने र सहनशील हुन प्रेरित गरिन्थ्यो। छोरी बुहारीहरू कम बोल्थे र अथक रुपमा काममा लागि रहन्थे।

यसरी उनीहरू वास्तवमा सेवा प्रदान गर्ने बस्तुहरु थिए जसको मूल्य न्यून थियो। उनीहरु पुरूष सरह आराम गर्नुपर्ने, रमाइलो गर्नुपर्ने, नशामा रमाउनुपर्ने, अनेक उट्पट्याङ गर्ने मनुष्य थिएनन्। पशुभन्दा माथि तर पुरुषको भोग, सेवा र शानका बस्तु थिए। अहिले बिस्तारै हाम्रा समाजका केही महिलाहरू सेवा प्रदान गर्ने बस्तु वा अमुक खेलौनाबाट ‘चल्ता फिर्ता` मनुष्य बन्न जाग्दैछन्। त्यसैले पुरुष प्रधान हाम्रो समाजले यीनीहरुमा बिचित्रको व्यवहार र खोट देखन थालेको छ। समकालीन सहरिया महिलामा देखिएको यो परिवर्तन पुरूषप्रधान समाजको परिकल्पनाभन्दा बाहिरको छ। त्यसैले यीनिहरु अनौठा प्राणी जस्ता लाग्छन्।

महिलामा आएको यो परिवर्तन उनहरुको उकासिएको चेतनाको स्तर हो। उनीहरुमा पुरुषहरु जस्तै स्वतन्त्र मानव हुनखोज्ने चाहना हो। तर, यो चेतना सहरका केही महिलामा मात्र सिमित छ। गाउँघरका महिलाहरु त अझै पुरुष प्रधान सोंच, मान्यता, परम्परा र संस्कृतिले थिचिएरै बसेका छन्। छाउपडी एउटा उदाहरण मात्र हो।

तर, हाम्रो पुरुषप्रधान चस्मालाई फुकालेर हेर्ने हो भने यीनिहरु केवल मानव बन्ने प्रयत्नमा छन् जो सदियौंदेखि थोपरिएको बोझबाट मुक्ति चाहन्छन्। अबको सभ्यता भनेको पुरुष प्रधान वा नारी प्रधान होइन। केवल मानव मात्रको समाज निर्माण रहनु वान्छनीय हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology