सबै नगरको प्राथमीकतामा चक्रपथ निर्माण

बागलुङ, ७ फागुन – स्थानीय तह गठनपछिको दुई बर्षमा बागलुङका नगरपालिकाले सबै लगानी चक्रपथ निर्माणमा लगाएका छन् । सबै नगरपालिकाले चक्रपथ निर्माण र भएका ग्रामीण सडक जोडेर चक्रपथको स्वरुप दिने काममा लागेका हुन् । पूर्वाधारको बिकासपछि मात्र अन्य बिकास गर्ने भन्दै उनीहरुले सडक निर्माणमै लगाएको बताए । बागलुङ नगरपालिकाको तत्कालिन नगरक्षेत्रमा रहेको चक्रपथ बिस्तार गरेर सबै वडामा लैजाने योजना शुरु भएको छ । त्यसका लागि भैरहेका सडकमा थप लगानी गरेपछि चक्रपथको स्वरुप आउने नगर उपप्रमुख सुरेन्द्र खड्काले बताए । स्थानीय तहपछि थपिएका तित्याङ, सिगाना, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुपाटा र नारायणस्थान पनि जोडिने गरी चक्रपथ बनाउने योजना रहेको हो । बागलुङ बाहेकका गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका पछि बनेका तह हुन् । उनीहरुले पनि सबै वडा समेटेर चक्रपथकै स्वरुप दिने तयारी गरेका छन् । ‘वडा तहमा गएका सडकहरुको स्तरोन्नती गर्दै लिंक गर्ने योजना छ’ गलकोट नगरप्रमुख भरत शर्मा गैह्रेले भने, ‘केही बर्षभित्रै चक्रपथको स्वरुपमा बस तथा जिप चल्ने बनाउने भनेका छौं ।’ अहिले पनि सबै टोलमा सडक संजाल लगेर गाउँलेलाई सहज यात्राको व्यवस्था मिलाइने उनले बताए । जैमिनी नगरपालिकाले पनि खोलीएका सडक र थप ट्रयाक खोलेर चक्रपथको रुप दिन लागेको हो ।

ग्रामीण सडकहरुलाई व्यवस्थित बनाउने र केही नयाँ मार्गले जोड्दा चक्रपथको रुप बन्ने प्रमुख ईन्द्रराज पौडेलले बताए । सडक बनाउँदा सबै बिद्यालय र सबै स्वास्थ्य संस्थामा अनिवार्य सडक पुग्नेगरी डिजाईन गरिएको हो । ‘बिरामीले गाडी चढेर उपचार गर्न जान पाउनुपर्छ, त्यसका लागि पहिलो प्राथमिकता राखेका हौं’ पौडेलले भने, ‘बिद्यालयमा पुग्न सहज बनाउन सडकको ट्रयाक खोल्ने नीति लिएका हौं ।’ भौगोलिक कठिनाईले यहाँका धेरै गाउँमा पैदलै जानुपथ्र्यो । ढोरपाटन नगरपालिकाले पनि सडकको ट्रयाक सबै वडाका मुख्य बस्तीमा पु¥याएपछि आगामी बर्षदेखि स्तरोन्नतीको काम थाल्ने योजना बनाएको हो । बुर्तिवाङदेखि ढोरपाटन सम्मको सडक गौरवको आयोजनामा परेपनि निर्माणमा ढिलाई भएपछि आयोजनामा दबाव दिएका नेपालीले अन्य ग्रामीण सडक निर्माणमा भने कमी हुन नदिने बताए । ‘ढोरपाटन सालझण्डी सडकको बागलुङ खण्डमा लगानी गरेर सडक स्तरीय बनाउन दबाव दिएका छौं’ नगर प्रमुख देवकुमार नेपालीले भने, ‘हामीले लगानी गरेर बनाउने कुनैपनि ट्रयाकमा काम बाँकी राख्दैनौं ।’ आर्थिक रुपमा बिपन्नहरुको बसोबास भएकोले नगरका अधिकांस वडामा नगरकै अगुवाईमा सडक बनाउन लागेको उनले बताए । नगरपालिकाको अधिकारीचौर, बोबाङ र खुंगाका ग्रामीण बस्तीमा सडक लैजाने योजना चालुबर्ष संचालन भैरहेका हुन् । तीमध्ये बाहुनगाउँमा केही समयअघि ट्रयाक खुलिसकेको छ । जैमिनीको पूर्वि खण्डमा कालीगण्डकी कोरिडोरले चिरेपछि भूगोल केही सहज भएको छ । जैदी, छिस्ती र अर्जेवाका पूर्वी खण्डमा सहजै यात्रा गर्न सकिने भएपछि अन्य सडक कोरिडोरमै जोडिने गरी निर्माण थालिएको हो । ‘

राष्ट्रिय गौरवको आयोजना भएकोले फराकिलो र सहज यात्रा गर्न सकिने खालको हुनेछ भनेर अरु सडक कोरिडोर लक्षित गरेका हौं’ वडा नं. ८ का अध्यक्ष बिजय अधिकारीले भने, ‘जनप्रतिनिधि आएको अनुभूति यातायातबाटै दिन खोजेका छौं ।’ ग्रामीण बस्तीबाट शहर पस्न सडककै सास्ती परेकोले सबैको माग सडकमात्रै भएको उनले बताए । कोरिडोरको बागलुङ खण्ड चालु बर्ष चौडा र स्तरोन्नतीको जिम्मा सेनाले लिइसकेको छ । ढोरपाटन नगरपालिकाले पनि सालझण्डी ढोरपाटन खण्डलाई आधार बनाएरै सडकको ट्रयाक खोली रहेको हो । बाहुनगाउँ, नाथुरी, रिनाम, खुंगा लगायत गाउँ पुग्न मुख्य सडककै आड लिएर निर्माण भैरहेको हो । ढोरपाटन उपत्यकामा संचालन गर्न सकिने धेरै परियोजनाका लागि समेत यो सडक तत्काल सक्न नगरपालिकाले आयोजनालाई दबाव दिएको छ । ‘हरेक बर्ष दक्षिणमा जिरो बनाएर बजेट खर्चेर हामी अन्यायमा परेका छौं’ नेपालीले भने, ‘अबको बजेट ढोरपाटनलाई जिरो बनाएर काम गर्न दबाव दिएका छौं ।’ यो सडक पुरा भएपछि उत्तरगंगा जलविद्युत आयोजना सहितका काम छिटो शुरु हुने उनले बताए । नगरपालिकाहरुको सडक योजनाका कारण अन्य पुर्वाधार निर्माणका काममा कम बजेट जाने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology