कविता सुनाएर जीवन धान्ने ‘हिट’ कवि सुदेश

कविता मन पराउने अघिल्लो होस् या पछिल्लो पुस्ता, सुदेश सत्यालको नाम र कविता नसुन्ने सायदै होलान्। कविता वाचनका लागि हालसम्म उनी ५० भन्दा धेरै जिल्ला पुगिसकेका छन्। सुदेश कविता सुनाउन आउँदैछन् भन्ने चाल पाउनासाथ कार्यक्रमस्थल भरिभराउ हुन्छ। टाढा–टाढाबाट उनका कविता सुन्न मानिसहरु आउँछन्।
सुदेश कविता सुनाएवापत पैसा पनि पाउँछन्। कहिलेकाहीँ उनको नाममा ‘कन्सर्ट’ समेत हुन्छ, जहाँ पैसा तिरेर कविता सुन्न आउँछन्, दर्शक। अर्थात्, उनका कविताका स्रोता भन्दा दर्शक बढी हुन्छन्। कुनै समय नेपालमा छन्द कविता खुब लेखिन्थ्यो। तर, पछि ओझेल पर्दै गयो। विस्तारै लोप हुने संघारमा थियो। त्यस्तो बेला छन्द कविका रुपमा सुदेश जन्मिए। र, अहिले छन्द कविताको पुर्नजागरण सुरु भइसकेको छ।
सुदेशको कविता सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा हिट भएपछि उनीबारे चासो र उनको चर्चा बढेको हो। उनका कविताहरु ‘हिट’ हुनुको कारण प्रस्तुती शैली पनि हो। उनी बडो गज्जबले हात हल्लाउँदै कवितामार्फत् माहोल तताउन सक्छन्। सुदेशले कविता सुनाइरहँदा हुटिङ नगर्ने र उनका कविता सुनेपछि ताली नपिट्ने सायदै होलान्। ‘वान्स मोर’ को आवाज त कति आउँछ कति ?
ठूला सहर–बजारमा मात्र होइन, कर्णालीका विकट मानिने जुम्ला, मुगु, हुम्लाजस्ता स्थानमा समेत सुदेश ‘हिट’ छन्। ‘दुर्गममा जाँदा धेरैले मेरो कविता सुनेको र आफूलाई मनपर्ने बताउनुहुन्छ’ सुदेश भन्छन्, ‘दुरदराजमा आफूलाई चिन्ने र आफ्ना कविता सुन्ने मानिस रहेको कुराले खुसी दिन्छ।’
कविताप्रतिको प्रेम
सुदेशको कविताप्रतिको प्रेम सानैदेखिको हो। उनको रुची छन्दमा थियो। त्यसैले, छन्दमै कविताहर लेख्थे। तनहुँको संस्कृत गुरुकुलमा उनले कक्षा ६ देखि संस्कृत शिक्षा पढे। उनका गुरु डा. रामानन्द स्वामीले सुदेशका कविता रुचाउँथे। तिनै गुरुको प्रभावले सुदेशमा कविताप्रतिको मोह बढ्दै गयो।
गुरुकुल भर्ना भएको तीन वर्षसम्म अरुले लेखेका कविता सुनाएर थुप्रै पुरस्कार थापे। आफै पनि कविता लख्थे तर, ती कविता सुनाउन सक्दैनथे। सुदेश भन्छन्, ‘छन्दमा कविता लेख्नु गाह्रो काम हो। त्यसैले, मैले लेखेका कविता सुनाउनका लागि अलि लायक छैनन् कि भन्ने लागेर सुनाइन।’ सडक बालबालिकाको बारेमा सुदेशले १३ वर्षको उमेरमै एउटा कविता लेखेका थिए:
फुटेका छन् छाला चरचर गरी 
चिर्दछ तन फुटेका छालाले
उकुसमुकुस भो अति झन्
दिए केही खान्थेँ भनिकन म
माग्थेँ अलिकत सबै पापी रैछन्
किन बिरह बुझ्थे बिनसिती
तर उनले त्यतिबेला यो कविता वाचन गरेनन्। २०६४ सालपछि बल्ल आफैले लेखेका कविता वाचन गर्न थाले। एक कार्यक्रममा वाचन भएको उनको पहिलो कविताले नै पुरस्कार पाएपछि उनमा कविताप्रतिको भोक अझ बढेर गयो। उनका कविता सुन्नेहरुले उनलाई २० देखि सय रुपैयाँसम्म पुरस्कारस्वरुप दिए। यसरी उनले ३ हजार रुपैयाँ जम्मा गरे। कविता वाचन गरेर एकतर्फ ताली अर्कोतर्फ पुरस्कार! सुदेश अचम्म परे। सुदेशको कविताको क्रेज विस्तारै चितवनमा बढ्दै थियो। २०६७ सालमा उनी कक्षा १२ मा पढ्थे। उनले चितवन महोत्सवको कविता प्रतियोगितामा भाग लिए। प्रथम भए। त्यसपछि पछाडि फर्किएर हेर्नु परेको छैन। २०७० सालमा स्नातक पढ्न सुदेश राजधानी छिरे। काठमाडौँ उनका लागि नौलो सहर भएपनि यहाँका धेरैजसो स्रस्टासँग पहिल्यैदेखि परिचय भइसकेको थियो। त्यही कारण उनलाई विरानो सहरमा कविता सुनाउँदै हिँड्न त्यति गाह्रो गाह्रो भएन।
कवितामार्फत् जीवन–निर्वाह
सुदेश कविता वाचन गरेरै आफ्नो जीवन निर्वाह गरिरहेका छन्। झन्डै तीन वर्षदेखि उनले आफ्नो पढाई र अन्य खर्चका लागि कसैलाई गुहार गर्नुपरेको छैन। एकातिर आत्मसन्तुष्टी, अर्काेतिर पैसा। त्यसैले, सुदेशलाई कवितामा ध्यान दिएर जीवनमा कुनै गल्ती गरेजस्तो लाग्दैन। ‘आफ्नै बलबुताले विगतका केही वर्षदेखि कविता लेखेर र वाचन गरेरै बाँचिरहेको छु’ उनी भन्छन्, ‘भोलिका दिनमा पनि यसरी चल्छ या चल्दैन, त्यो त म भन्न सक्दिनँ। तर, के कुरा चाहिँ सत्य हो भने मैले जीवनभर कविता लेख्न भने छाड्ने छैन।’ अर्थात्, यसैगरी कविताले जीवन धान्ने अवस्था रहिरह्यो भने उनले कवितालाई नै व्यवसायिक पाटो बनाउने छन्। यदि भएन भने यसको विकल्प रोज्नुपर्ने हुन्छ। सुदेशलाई परिवारबाट राम्रो साथ र समर्थन छ। त्यसैले पनि आज उनी यहाँसम्म आएका छन्। भन्छन्, ‘छोराछोरीको रुची र चाहनाअनुरुप परिवारले पनि साथ दियो भने राम्रो गर्ने प्रेरणा मिल्दो रहेछ।’ सुदेशको कविता ‘फर्केर आऊ घर’ झन्डै एक करोड मानिसबीच पुगिसकेको छ। १६ वर्षको उमेरमा सो कविता लेखेका सुदेशलाई यही कविताले चर्चामा ल्याएको हो।
के जान्छौ र विदेशमा यही उद्योग र धन्दा गर
आमाको अनुहार चाउरी सक्यो फर्केर आउ घर
कार्यक्रमहरुमा जाँदा वाचन गर्न सबैभन्दा बढी माग हुने कविता यही हो। सुदेशका लागि जीवनकै ‘टर्निङ पोइन्ट’ हो यो कविता। उनले ‘अन्तरिक्षको धर्ती’ नामक कविता संग्रह पनि निकालेका छन्, जसमा ५६ वटा कविता छन्। उनले सुरुवाती चरणमा लेखेका कविता यसमा समावेश गरिएका छन्। कार्यक्रममा जाँदा सुदेशले केही संग्रहका र धेरै त्यसभन्दा बाहिरका कविता सुनाउँछन्। हालसम्म उनले दुई दर्जन बढी कविता सुनाइसकेका छन्।
३–४ वर्षका बच्चालाई कविता कन्ठ
आफ्ना कविताहरु जनमनमा पुगेको थाहा पाउँदा सुदेशलाई खुसी लाग्छ। विभिन्न जिल्ला पुग्दा उनी कविता सुन्न आउने स्रोता कस्ता छन् भन्ने कुरामा विशेष ध्यान दिन्छन्। कविताका पाठक आएका छन् या स्रोता? यो कुरा उनी नियाल्छन्।जब ३–४ वर्षको बच्चाले उनका कविता सुरुदेखि अन्तिमसम्म कन्ठै भनिदिन्छन्, त्यतिबेला उनलाई सबैभन्दा रमाइलो लाग्छ। उनीहरुले सुदेशलाई देख्नासाथ चिन्छन् पनि। उनलाई लाग्छ, जीवनको यो पनि ठूलै कमाई हो। सुदेशले कविता सुनाएर के–कति पैसा कमाए, त्यसको हिसाब राखेका होलान् या नहोलान्। तर, कति दर्शक कमाए भन्ने उनीसँग हरहिसाब छ। ‘साना–साना बच्चाहरु पनि मेरो कविता सुन्न कार्यक्रममा आउनुहुन्छ’ सुदेश भन्छन्, ‘पछि अभिभावकले पनि मेरा कविता सुन्ने गरेको र कतिपयलाई त कविता नै कन्ठ भएको बताउँदा निकै खुसी लाग्छ, जीवनमा योभन्दा ठूलो कमाई के नै होला र?’ उनी कार्यक्रमहरुमा जाँदा कवितामा जति पोखिन्छन्, व्यक्तिगत जीवनमा त्यति नै अन्तरमुखी स्वभावका छन्। एकान्त र एकाग्रहता मन पराउँछन्। सोही परिवेशमा कविता कोर्न उनलाई मज्जा आउँछ।  ‘म यस्तै छु’ सुदेश भन्छन्, ‘सीमित साथीभाइको सर्कलमा बस्न रुचाउँछु। मनका कुरा हत्तपत्त अरुसँग खोल्दिन।’
वाचन गर्छन् कि गाउँछन् ?
सुदेशलाई मञ्चमा उभिँदा आफै ऊर्जा आउँछ। दर्शकमाझ आफ्नो प्रस्तुतको भिडियो हेर्दा उनी आफैलाई अचम्म लाग्छ। भन्छन्, ‘मञ्चमा उक्लिएपछि ममो कहाँबाट यस्तो उर्जा आउँछ भन्ने नै थाहा छैन।’ सुदेशका अनुसार गद्य कविताभन्दा छन्द कविता फरक छ। यो नै छन्दको विशेषता हो। छन्द कविता लेख्नका लागि भाषा, शैली र व्याकरणको राम्रो ज्ञान हुनु आवश्यक छ। ज्ञान भएर मात्र हुँदैन, साधना र तपस्या उत्तिकै चाहिन्छ। किनकी, छन्द कवितामा भावले पनि ठूलो अर्थ राख्छ। अझ सुदेश त कविता वाचन गर्दै हिँड्ने भएकाले बिम्ब पनि सशक्त हुनुपर्छ। वाचन गर्दा सुन्नेलाई आनन्द आउनुको साथसाथै त्यसले कुनै अर्थ पनि बोकेको हुनुपर्छ। त्यसैले, छन्द कविता लेख्न त्यति सजिलो छैन। वाचन भनेको दोस्रो पक्ष हो।  सुदेशका लागि आत्मसन्तुष्टी पनि हो कविता। लेखिसकेपछि सबैभन्दा पहिला उनी आफू सन्तुष्ट हुनुप¥यो। त्यसपछि आफूनिकट केहीलाई सुनाउँछन्। त्यो किन भने पाठक तथा स्रोतालाई मन पर्छ या पर्दैन भन्ने पनि ख्याल गर्नु छ उनलाई। कविता सुन्ने व्यक्तिलाई त्यसले छोयो या छोएन भन्ने उनले मूल्यांकन गरिरहेका हुन्छन्। त्यसपछि बल्ल वाचन गर्छन्।
सुदेश भन्छन्, ‘कविता सुनाउनका लागि ‘वाह–वाही’ पाउनका लागि मात्र वाचन गर्ने होइन, त्यसले दर्शकमा केही प्रभाव पनि पार्नुपर्छ भन्ने लाग्छ।’ सुदेशले वाचन गरिरहँदा कविता सुन्नेहरु झुक्किन सक्छन्– गीत गाएको हो या कविता सुनाएको हो भनेर। किनकी, उनले कविता सुनाउँछन् या गाउँछन् भन्ने अनुमान लगाउन आम स्रोतालाई गाह्रो पर्छ। तर, के बुझ्न जरुरी छ भने, छन्द कविता एउटा संगीत पनि हो। गीतको जस्तै यसको पनि लय हुन्छ। त्यसैले, छन्द कविता वाचन गर्दा गीत नै गाएको जस्तो मानिनु स्वभाविक हो। अझ सुदेशको अरुभन्दा छन्द कविता वाचन गर्ने शैली केही फरक छ। ‘म छन्दमा आफै आफू सुहाउँदो लय मिसाउँछु’ उनी भन्छन्, ‘त्यसैले, गीत गाएकोजस्तो महसुस पनि हुन सक्छ। तर, छन्द बुझेको र त्यसको ज्ञान भएको मानिसले भने यो कुरा बुझ्न सक्छ।’
डर
राष्ट्रकवि माधवप्रसाद घिमिरेले सुदेशका कविता सुनेपछि भनेका छन्, ‘भन्नेहरु पद्यको युग गयो भन्छन्। तर, यी कविले छन्दको नयाँ युग लिएर आएका छन्। म सुदेश सत्यालका कविता सुनेर गद्गद् भएको छु।’ आफूभन्दा अग्रज व्यक्तिबाट आउने यस्ता प्रतिक्रियाले सुदेशलाई कहिलेकाहीँ डर पनि लाग्छ– ‘यो चर्चा, यो मान–सम्मान, आफूप्रति अग्रजले देखाएको आशा–भरोसालाई आफूले कत्तिको न्याय गर्न सक्छु?’ भनेर। यस्ता कुराले उनलाई सचेत गराउँछ। आफ्नो कर्तव्यप्रति गम्भीर पनि बन्छन्। अन्तरमुखी स्वभावका यी कवि गम्भीर बनिदिँदा जन्मन्छ फेरि अर्को कविता। जुन कविता सुनेर स्रोताको दिल खुसीले गदगद हुन्छ। सुदेशले छन्द कविताको भविष्य उज्वल देखेका छन्। छन्दप्रतिको आकर्षण र जागरण बढ्दै गरेको महसुस गरेका छन्। उनीसँग यस विषयमा जिज्ञासा र मोह राख्ने नयाँ पुस्ताका थुप्रै मानिसहरु छन्। छन्द कवितामा परम्परागत विषय बढी हुन्छन्। छन्द कविले बिम्ब र प्रतिकमा नयाँपन ल्याउन सक्दैनन् भन्ने कुरालाई तोड्ने सुदेशको प्रयास छ। ‘छन्दमा परम्परागत विषय बढी भएका, हिजो प्रयोग भइसकेका बिम्ब आज पनि प्रयोग भएका छन्’ सुदेश भन्छन्, ‘तर, यस्ता बिम्ब, प्रतिक र शिल्पलाई प्रयोग नगरी केही नयाँ गर्ने मेरो काम हुनेछ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology