रहेनन् कम्युनिस्टका ‘माड्साब’

  • चर्चित पुस्तक ‘द्वन्द्वात्मक भौतिकवाद’ का लेखक उनी सुरुदेखि कम्युनिस्ट पार्टीमा रहेर संगठन बनाउँदै हिँडेका थिए।
  • पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन भएको छ। श्रेष्ठको शनिबार दिउँसो काठमाडौंको शंखमुलस्थित निवासमा निधन भएको हो। ८७ वर्षीय श्रेष्ठ केही समयदेखि नर्भिक अस्पतालमा उपचाररत थिए। श्रेष्ठसँग नजिक रहेर काम गरेका पत्रकार बलराम थापाका अनुसार कृष्णदास संगठक भन्दा मार्क्सवादी चिन्तक बढी थिए। कम्युनिस्ट आन्दोलनको चर्चित पुस्तक ‘द्वन्द्वात्मक भौतिकवाद’ का लेखक उनी सुरुदेखि कम्युनिस्ट पार्टीमा रहेर संगठन बनाउँदै हिँडेका थिए। काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा उनी कम्युनिस्टको जग हाल्‍ने नेता भएको थापा बताउँछन्।
    १९८८ मा काठमाडौंको नरदेवीटोलमा निम्नमध्यम परिवारमा जन्मिएका कृष्णदासको बिहे वीरगञ्जकी महालक्ष्मी श्रेष्ठसँग भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले उनीहरूको बिहे गराइदिएका थिए।  उनका एक छोरा सुनिलदास श्रेष्ठ छन्। कृष्णदासका कम्युनिस्ट आन्दोलन र संस्कृतिबारे दुई दर्जन पुस्तक छन्। यस्तै दुई दर्जनजति अनवाद गरिएका पुस्तक छन्। उनी अंग्रेजी भाषाका राम्रा अध्यता पनि हुन्। पछिल्ला दिनमा उनी कम्युनिस्ट आन्दोलनबारे शब्दकोष लेखिरहेका थिए। करिब १० दिन अघि उपचारका क्रममा नर्भिक अस्पतालको बेडमा रहँदा पनि कृष्णदास कम्युनस्ट आन्दोलनबारेमै चिन्तित देखिएको पत्रकार थापा सम्झन्छन्।
    ‘जति नेता भेट्न आए सबैले पारिवारिक कुरा गरे, जुन नगरेको भए हुन्थ्यो भन्नुहुन्थ्यो’, कृष्णदाससँगको अन्तिम भेटबारे थापा भन्छन्, ‘मलाई कम्युनिस्ट आन्दोलनकै बारेमा कुरा गर्न मन छ।‘ कम्युनिस्ट आनदोलनको इतिहास लेख्ने धोको उनी सुनाउँथे। ‘अहिलेसम्म लेखेकाहरूले पनि सही लेखेनन्’, भेटमा उनले भनेको सम्झँदै थापाले अन्नपूर्णसँग भने। उनको नाममा कृष्णदास फाउन्डेसन यसअघि नै सञ्चालनमा छ। उनी काठमाडौंमा कम्युनिस्ट साहित्य र सन्दर्भ सामग्रीहरूको एक पुस्तकालय पनि स्थापना गर्न चाहन्थे।   राणा शासनविरुद्ध आन्दोलन छेडेको नेपाल प्रजापरिषद्बाट राजनीतिक यात्रा सुरु गरेका उनले २०१० मा नेकपाको सदस्यता लिएका थिए। २०१३ देखि २०१७ सालसम्म उनी काठमाडौं जिल्ला सचिव थिए।
    तत्कालीन उत्तरगण्डक प्रान्तीय समिति अन्तर्गत बाग्मती अञ्चल समिति सचिवालय सदस्य थिए। नेकपाको पहिलो महाधिवेशनमा भाग लिन नपाएका उनी दोस्रो महाधिवेशन र दरभंगा प्लेनममा प्रतिनिधिको रुपमा सहभागी थिए। तेस्रो महाधिवेशनपछि नेकपामा आएको दुई लाइन संघर्षमा उनी मार्क्सवाद, लेनिनवाद तथा माओ विचराधाराका पक्षमा देखिए। २०३६ सलामा उनले नेकपा माले गठन गरी अध्यक्ष बने। संसदीय व्यवस्था पुनर्स्थापनापछि नेकपा मालेमा बनाएर अध्यक्ष भए। पछिल्लोपटक मोहन वैद्य किरणको पार्टीमा रहेका उनी वैचारिक मतभेदपछि स्वतन्त्र रहेका थिए। तर सबै कम्युनिस्ट धारासँग उनी बहस र अन्तर्क्रिया गर्न रुचाउँथे।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology