फेरि भेटौंला !

नेपालबाट फर्केको एक महिनानाघे पनि मन उतै डुलिरहेको छ । नेपाल छँदा के गर्ने ? कहाँ कहाँ जाने ? ककसलाई भेट्ने ? के के किन्नेजस्ता कुरा पहिल्यैदेखि दिमागमा खेल्दा रहेछन् । त्यसैअनुरुप सानोतिनो योजना दिमागमै भए पनि बन्दो रहेछ । वर्षाैंपछि स्वदेश फर्कन पाउँदाको उत्साह, चाडबाडको उमंग र साथीभाइसँग गरिने हाँसखेलको हुटहुटी कसैलाई नहुने कुरै भएन । करिब एक महिनाको अवधिमा परिवारजन, आफन्त, साथीभाइ, पूर्वसहकर्मीलगायतसँग भेट्ने मन अवश्य हुन्छ । सकेसम्म धेरैलाई भेट्न पाए मन खुसी हुन्छ । आफ्ना कुरा धेरैलाई सुनाउन पाए उनीहरु रमाउँछन् । अनि अरुका हालखबर सुनेर चारपाँच वर्षयताको न्यास्रो मेटाउने चाहना हुनु स्वाभाविकै हो ।
मध्यदसैंको दिन नेपाल ओर्लेपछि मन पूरै बालापनको रोमाञ्चमा फर्किने नै भयो । त्यो बालापनको दसैं तिहार कसको पो मन मस्तिष्कबाट हराउन सक्छ र ? जो जहाँ र जस्तो भए पनि बालालपन त सबैको उसैगरी हरक्षण नशानशामा रगतसँग बगिरहेकै हुन्छ । आफ्नो बाल्यकाल र त्यो बेलाका दौँतरी हरेकका लागि स्मरणीय लाग्छन् नै । त्यही बालापनमा भुलाउने घर, आँगन, खेतबारी, पाखो, पँधेरोमा केहीदिन पूर्वस्मृतिहरु केलाउँदै बिताउनै पर्यो । त्यति नगरे आफू जन्मे, हुर्के र खेलेको ठाउँको त्यही स्वाद यो मुटुमा फेरि कसरी सँगाल्नु ?  त्यसपछि बल्ल आफन्त, साथीभाई र अरु अरुका याद आउने हुन् सायद । झन्डै आधा महिनापछि आँगन छोडेर सहर छिरेपछि बल्ल साथीभाइ र आफन्त भेटघाटको चाँजो मिल्दै गयो । मानव चोला स्थिर कहिलै रहन सक्तैन । समयको गतिसँगै तीमध्ये कोही कता, कोही कता हुने नै भए । अझ कोही त कतै खोज्न र भेट्न नमिल्ने अनन्त यात्रामा निस्किसकेका थिए ।
फोन, म्यासेन्जरलगायत माध्यम प्रयोग गरेर सम्भव भएसम्मका आफन्त र साथीभाइको खोजी सुरु भयो । त्यसमध्ये पनि कोही सम्पर्कमा आए, कोही आएनन् । अत्यन्त व्यस्त तालिका भए पनि पुराना याद सँगाल्दै सबैसम्म पुग्ने प्रयास नहुने हैन । तर, सबैले उसैगरी कुरा चैं बुझिदिन गाह्रो पर्ने रहेछ । सबैका लागि भेट्ने त एकैदिन वा एकैछिन मात्रै न हो । आफ्नो हरदिन वा भनौ हरक्षणको हिँडाइ, भेटघाट अनि बसाइको तालिका त आफ्नैमात्रै हो नि । अरुले त एकदिन पनि बस्दैनस् ? सजिलै भनिदिन सक्छन् । कसैले अझ एक दुई घन्टा त बस् पनि भनिरहन्छन् । त्यस्तै घन्टाघन्टा गरेर कैयौं दिनहरु फुत्तै कटिरहेका छन् । अब फर्कने दिन पनि धेरै टाढा छैन ।
ओहो, किनमेल पूरै बाँकी छ । बच्चाहरुलाई चिडियाखाना वा फनपार्क पनि लैजान पाएको छैन । उनीहरु हाम्रा स्वार्थ अनुकूलका भेटघाटमा जानी नजानी, मनले मानी नमानी कुदिरहेका छन् । तिनलाई यस्तो लागिरहेको होला उनीहरुका कुनै इच्छा छैनन् यहाँ । न भनेको बेला खेल्ने अवस्था छ । न निन्द्राले झ्याप्प हुँदा सुत्ने ओछ्यानै छ । गाडीमै यसोउसो चलेर बालक्रिया पूरा गर्नुपरेको छ । गाडीमै बांगोटिंगो पल्टिएर अधकल्चो निद्रा मार्नु परेको छ । तरै पनि जहाँ पुग्यो त्यहीँ रमाउन भने छोडेका छैनन् । गाई देख्यो त्यसै दंग । भैंसी देख्यो उसका आँखा हेरेर सझंग । कुकुर र बिराला देखेर उसै मख्ख । अनि बाख्रा देखेर तिनका पाठाझैँ सँगसँगै उफ्रिरहेकै हुन्छन् ।
फेरि अर्काे ठाउँको यात्रा सुरु । प्रायः सबैतिर उही । उही पुरानो ट्याक्सी । घामले तातेको टिनको डब्बाजस्तो । झ्याल नखोली धरै छैन । झ्याल खोले कुइरीमण्डल धुलोधुवाँ नखाने कुरै छैन । उकुुसमुकुस जति भए पनि बच्चाले छीछी.. दूरदूर..कहिलै गरेनन् । कुनै गुनासो गरेर दिक्दारी पनि पोखेनन् । सबैभन्दा ठूलो कुरा कष्टकर लाग्ने कैयौं यस्ता यात्रा भए तर तिनले कुनै क्षण खोकेनन् । सिँगान बगाएनन् । किनभने लुगा धुलाम्मे भए पनि वा कपाल सेतै पाउडर छरेजस्ता भए पनि तिनले मुखमा मास्क लगाउन कुनै क्षण बिराएनन् ।
आफन्तको सबै लर्काेसम्म पुग्ने सामथ्र्य र समय दुवै हामीसँग हुने कुरै थिएन । जति सकियो त्यति पुगियो भनेर मन बुझाउन बाहेक बाँकी विकल्प भएन । साथीसँगीको सर्कलमा पनि कुरा त्यही हो । समय कसैको मिल्छ, कसैको मिल्दैन । एकदिन कसैका लागि छुट्याएको समय उसलाई आज मिलेन भनेर फेरि अर्काे दिन त मिलाउनै सकिँदैन । केहीको हदमा यो पुरापुर लागु भो । तिहारको रमाइलोले बजार पुरै भिडभाड हुन थाल्यो । कहिँ कतै भनेको समयमा पुग्न महाभारतै हुँदै गयो । अहो ! यो काठमाडौंमा मान्छे कति ? सवारी कति ? किनमेलको लर्काे कति ? जताततै मान्छे मान्छे । मान्छेका हातमा झोलैझोला । गाडी नै गाडी । सडक पेटीतिर पनि पसलै पसल । न हिँड्न सजिलो, न गुड्न सजिलो । अवस्था कस्तो भइदियो भने घरबाट निस्कनु नै बेकार जस्तो !
कस्तो सवारी जाम भने कुरै नगरौं ! मान्छेहरु त्यसैत्यसै आजित देखिन्थे । अगाडि बढ्नु कि फर्कनुको अवस्थामा धेरैपटक परियो । न अघि बढ्ने अवस्था न फर्कनै मिल्ने ठाउँ । पूरै एकदिन हिँडे पनि कतै पुगिन्नजस्तो पूरै ठप्प । गाडी नै चढे पनि जहाँको त्यहीँ अड्किएजस्तो पूरै ठप्प थियो । यस्तो अस्तव्यस्त ट्राफिकले दिक्दार नहुने कुरै भएन । सबै निधारको पसिना पुछ्दै आआफ्नो गच्छेअनुसार कोही सकैलाई लक्षित गर्दै सत्तोसराप गरिरहेका हुन्थे । उनीहरुमा यो बेथिति र अव्यवस्थाप्रति आक्रोश थियो । समयअनुकूल प्रणाली र थिति नबसाल्ने नीति निर्माताप्रति चरम गुनासो पनि थियो । किनमेल गर्न बजार निस्कन पनि हार मान्नुपर्ने अवस्था पो भयो अब त । के किन्ने, कहाँ किन्ने भनेर नियन्त्रण गर्नुपर्योे आफैँले । सकेसम्म कम किन्ने र सकेसम्म नजिकैको बजारमा किन्ने अवस्था बन्यो । आखिर यो किनमेल भन्ने कहिलै सकिने र पुग्ने कुरा पनि होइन । यसमा धेरै समय लगाउन उचित पनि लागेन । उचित लागे पनि अब त समय छैन भन्ने निचोडमा पुग्नै पर्यो ।
तिहारको भाइटीका पाँच वर्षपछिको विशेष हुने नै भयो । दिदीबहिनीको हातबाट सप्तरंगी टीका र मखमली माला लगाएपछि अरु के चाहियो ? त्यसमाथि सेलरोटीसहितका मिठाइको थाली । भाइमसलाका भिन्नभिन्न प्याकेट । अनि विदेशको हिउँ पर्ने जाडोमा लाउन उलनको न्यानो स्वेटर पाएपछि नेपाल बसाइको पूरै एक महिना सार्थक र पूर्ण भइहाल्यो । मुखमा मिठाइ राखे पनि बिदावारीको क्षणले मन भनें अमिलो बन्दै थियो । निधारको सप्तरंगी टीका र मखमली मालासहित साँझ विमानस्थल पुग्दा एक महिना पनि एकैदिन मात्र जस्तो भो । एक महिनामा के के गरेँ भनेर सम्झन खोजे पनि एक दिनमात्रै याद  आउन थाल्यो । क्यालेन्डरमा एक महिना देखिए पनि साँच्चै नेपाल बसाइ त एक दिनजस्तै छोटो लाग्दो रहेछ ।
जाउँला भनेको कति ठाउँमा जान सकिएन । भेटौंला भनेका कति साथीसँग भेट्न पाइएन । पर्खेर बसेका कति आफन्तसँग देखभेट नै भएन । आफूले काम गरेको अफिस फेरि देख्नै पाइएन । ती अग्रज, सहकर्मी र सम्पादकसँग पहिलै झैं भलाकुसारी गरी एक कप चिया पिउने मन अधुरै रह्यो । त्यो मन अधुरो मात्र भएको हो टरेको हैन । अझै मन त्यही हालतमा छ । ती एक एक अग्रज जसले करियर बनाउन एक हात समाएर अघि बढाउन सहयोग गरे । ती एक एक सहकर्मी जसले काम गर्दा हरक्षण साथ दिए । अनि ती सम्पादक जसले मेरो १२ वर्षे पत्रकारिता यात्राभर माया र भरोसा राखिराखे । उनीहरुका ती साथ, सहयोग र मार्गदर्शन कहिलै भुल्न सकिने छैनन् । यसपटक भ्याइएन त, के भो ? अर्काेपटक छँदैछ नि । (बोस्टन, अमेरिका ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology