आमाको पत्र

राजेन्द्रको फोन आयो बिहानै। आमाको देहान्त भएको खबर। हतार हतार आमाको अनुहार हेर्न उहाँबसेको रुममा पुगेको थिएँ। उहाँ स्वर्गवास हुनुभएछ। काजक्रिया सकेर दुई महिनापछि म आमा देहान्त भएको रुममा एकपटक हेर्न पुगेको थिएँ। संस्थाको पिउनले आमाको सानो झोला भनेर देखाईन् झोला खोतलेर हेरेपछि एउटा सेतो कागजमा आमाले लेखेका अक्षरहरु रहेछन्। त्यो पत्रलाई खोलेर पढ्दै गएँ।
प्रिय छोरा,

त्यो साँझ मलाई बहुत खुशी लाग्यो। धेरैधेरै खुशी। मेरो जीवनको अनमोल र स्मणीय समय। मैले सोचेको पनि थिएन यस्तो क्षण पनि मेरो जीवनमा आउन सक्छ भनेर। तिमीले मलाई त्यो समय दियौं आइलभ यू। मैले कहिल्यै नसोचेको साँझ। अब मृत्यु पनि अफसोस हुँदैन होला।

११ फेब्रुअरी २०१६ यही साँझ थियो नी तिमीले आश्चर्यमा पारेको मलाई। तिम्रो निमन्त्रणा। सायद मेरो यादगर्ने बानी कमजोर भए पनि त्यो साँझ विर्सिन्न होला म, छोरा।

तिमीले फोनमा दिएको निमन्त्रणा। छोरा तिम्रो फोन मेरो सानो टेम्पुरे मोवाइलमा आउँदा मैले सोचेँ के अनिष्ट भयो कि? संशकित र आशंकित भएँ। तिमीले भन्यौ के भोलि मेरो साथ डिनरमा जान्छौ? म सोचमग्न भएँ। फेरि तिमीले अर्को पनि भन्यौ

‘हामी दुई जना मात्र हुन्छौ’

मैले ‘हुन्छ’ भन्नु त थियो तर मैले सोच्नको लागि लामो समय लिनुपरेको थियो।

अर्को दिन अर्थात १२ फेब्रुअरी २०१६।

म बिहानैदेखि खुशी थिएँ। यसै कारणले राती राम्रोसँग सुत्न पनि सकिन। मेरो परिवर्तन देखेर उतापटिृ सुत्ने अर्को दिदी पनि छक्कै पर्नुभो। सायद दिदीले सोच्दिहुन यो त पागल भैछ। म आजको साँझको बारेमा कसैलाई पनि बताउन चाहन्थिन्। मैले दिदीलाई भनिदिएँ। मलाई थाहा छैन ती दिदीले के सोचीहोलीन तर म आफ्नै ध्याउन्नमा थिएँ।

मेरा छोरा, मैले आफ्नो सारी निकालेँ जुन सारी तिम्रो बाबासँग हिड्दा म लगाउने गर्थेँ। जुन सारी अन्तिमपटक पितासँग हिड्दा मैले लगाएँको थिएँ लगभग १० वर्ष अगाडि। तिम्रो पिताको याद आउने वित्तिकै म रोइसकेको थिएँ। फेरि मैले सोचेँ साँझ त उनैसँग जाने त होनी। साँच्चै मेरो छोरा तिमीले मलाई उनको ‘साथ’ दियौं। आखिर तिमी पनि उनकै ‘प्रतिरुप’ हौं।

मैले बुझेको छु, तिमीसँग धेरै समय हुन्न मसँग बिताउने। तिमी काममा बहुत ब्यस्त हुन्छौं परिवारको जिम्मेवारी, अफिसको जिम्मेवारी हजारौं टन्टो। तर पनि तिमीले मलाई समय दिन नसक्ने ठानेर हो वा मेरो अकेलापनको माया लागेर हो पशुपतिको वृद्धाश्रममा ल्याएर छाडिदियौं। त्यो दिनदेखि म यही छु। आठ दश वर्ष जति भयो होला यहीँ आफ्नो एक्लोपनलाई विश्राम गर्ने ठाउँ मानेर बसेकी थिएँ। मेरा जस्ता सयौंका कहानीहरू सुनेर बसेकी थिएँ। दिन दिनै मान्छे जलेको आर्तनाद र विहान र बेलुकीपख पशुपतिको भजन सुनेर मनलाई बहलाएको थिएँ। प्रिय छोरा त्यो तिम्रो निमन्त्रणाले म खलबलिएँ।

यदि तिमीले तिम्रा परिवारसहित आएको भए त्यो साँझ सायद साधारण साँझ हुन्थ्यो होला। यो पत्र लेख्दैगर्दा, त्यो दिनको बिहानको याद आइरहेको छ। मलाई त्यो दिन गुजार्न कम्ता गाह्रो भएको थियो कुरै नगर।

कतिबेला साँझ पर्ला भनेर समय तड्पीरहेँ। मलाई यस्तो लागिरहेको थियो कि कमसेकम म ४० वर्ष सानो भएको अनुभव। चुलबुलेपन, बेचैनी, घबराहट, रोमान्स सबैचिज आइरहेको थियो शरीरभित्र उमंगको। बाबु, त्यो दिन म साँझ हुनुभन्दा अगाडि नै तयारी भइदिएँ। मलाई थाहा थियो तिमीले फोन गर्दैनौं यसै पनि थोरै फोन गर्ने मान्छे तिमी, मलाई सिधैं लिन आउँछौं भन्ने।

अनि जब तिमी आयौं तिमीलाई देखेर म घबराएँ। मेरो आठसाल पछि अनुहारमा अलिकति चमक र लाज थपिएको थियो। सायद तिमी पनि हडबडाएजस्तो यसकारण तिमीले मेरो ‘लुक’ लाई वास्तै गरेनौं।

सायद यो पनि कारण हुनसक्ला छोराले आमाको सुन्दरताको के तारिफ गर्नु? फेरि पनि हामी दुबैको अवस्था एउटै थियो। तिम्रो शंसकितले मैले सोचे के हुने हो आजको हाम्रो साँझ ?

समय नियन्त्रण गर्दै तिमीले मेरो हालखबर सोध्यौ। खासगरी आजको दिनभरिको। मैले भनेँ आजको दिन बाबु म तिम्रै पर्खाइमा रहेँ। तिमीले पनि त्यही भन्यौ, आजदिनभर अफिसमा काम पनि थिएन, केवल साँझको बारेमा सोचिरहेँ। तिमी आउनुभन्दा अघि मैले दिदीलाई सबैकुरा बताएको थिएँ, उनले मेरो फुरफुरदेखेर मलाई भन्नुभयो ‘बुढी त आज छोरासँग डेट जाँदैछे’?

‘हो म डेट जाँदैछु’। यो कुरा मैले सारा दुनियाँलाई भन्न चाहान्थेँ। जिन्दगीको सबैभन्दा खुशीको पल थियो तिमीसँगै डिनर खानु। मेरो जीवनको यो हिस्सा फर्केर आएको थियो आठ, दशवर्षपछि।

अब फेरि कहिल्यै आउँथ्यो वा आउँथेन यस्तो साँझ।  त्यसैले यो साँझको मैले भरपूर उपयोग गर्न चाहन्थेँ। शरीरमा उडान भर्न चाहन्थे छोरा।

तिम्रो गाडीमा चढ्दा यस्तो लाग्यो कि कुनैबेला तिम्रो बाबाको बाइकमा चढेजस्तो भो। तिमीले गाडीको ढोका खोल्यौं मैले सानका साथ गाडीभित्र पसेँ फिल्मी हिरोइन जस्तै। धेरैकुरा पुराना याद आए। तिम्रा बाबाका। बाइकको पछाडि बस्दा चरप्प समात मेरो कम्मरमा नत्र लड्लिस् भन्नुहुन्थ्यो। तेरो बाबाको ढाडमा टाउको राखेपछि म ढुक्क हुन्थे। जति रक्सी खाए पनि बाइक चलाएपछि ढुक्क चलाउने बानी थियो।

छोरा, तिमीले कुन रेष्टुरेन्टमा खाना मनपर्छ कुनमा जाने सोधेका थियौ तिनकुने कटेपछि। बाबाले लैजाने रेष्टुरेन्ट दिमागभरी घुमिरह्यो तर पनि च्वाइस तिमीलाई नै छाडिदिएँ किनकी निमन्त्रणा तिम्रो थियो। मैले सोचेको थिएँ तिमीले पहिल्यै नै ठाउँ फिक्स गरेका हौ कि भन्ने।

बानेश्वरको नांग्लों फास्टफूट।

साँच्चै तिम्रो च्वाइस सही थियो। हामी माथि छतभित्रको एउटा कुनामा थियौं। मलाई बसाल्न तिमीले कुर्चि तान्यौं र नजिकै सरेर मेरो आडमा बस्यौं। सुस्तरी मलाई छोयौं मेरो कुममा र सुस्तरी मुसारेयौ। मेरो आंग सिरिंग भयो। बाबासँग पहिलो डेट जाँदा यस्तै गरेको याद आयो। मेरा आँखाहरु भरिए। मैले नजिकै रहेको मेन्यू ताने र टाउको निहुराएर पढ्न थाले। किनकि मैले तिमीलाई भरमग्दुर देख्न नपाएको आठसाल भएको थियो मेरो छोरा।

पछि मेन्यु बुक हामीले दुवैले पढ्यौं। अनि तिमीले भन्यौं ‘आमा हजुरले नै अर्डर गर्नू’।

जब तिमी सानो थियौ हामी रेष्टुरेन्ट जान्थ्यौ तिम्रो बाबाले अर्डर गर भनेर मलाई नै भन्नुहुन्थ्यो। तिम्रो बाबाले म भएपछि मेन्यू हेर्नु हुन्थेन फालिदिनुहुन्थ्यो टेवलबाट मतिर। म घरमा पनि तिमीहरुको च्वाइस खाना बनाऊँ? यहाँ पनि तिमीहरुकै च्वाइस खाना अर्डर गरूँ? यादको काँटीले कोप्यो छोरा मलाई।

एउटा सानो जिद्दि छोराले झैं तिमीले एउटा बियर पिउने अनुमति माग्यौं त्यसदिन। त्यो डिनरको दिन हामीबिच जति कुराकानी भए सायद जीवनमा कहिल्यै भएका थिएनन्।

तिमीले सायद कहिल्यैपनि मसँग यतिधेरै कुरा गरेका थिएनौं। तिम्रो काम तिम्रो व्यस्तता सबैकुरा भए। तिमी बैंकमा आफ्नो टार्गेट पुरा गर्ने चक्करको व्यस्तता। फेरि तिम्रो श्रीमती, छोराछोरी, श्रीमतीको भाई, बुहारी र ससुरालीतिरका। तिमीले भनेका थियो समय निकालेर सासु ससुरासँग समय विताउन चाहेको कुरा। व्यस्तताको कारण परिवारमा आएको रुखोपनमा अब हराभरा गर्न चाहेको कुरा।

छोरा, भगवानले तिम्रो इच्छा पुरा गरून्। आखिर बल्ल तिमीलाई सम्बन्धको ख्याल हुन लागेछ। आफ्नो परिवारभन्दा ठूलो केही छैन। परिवारसँगको सम्बन्ध सबैभन्दा सुखद पल हो। ईश्वर पनि परिवारपछि आउँछ।

तिमीले फेसबुकको कुरा गर्यौ। फेसबुकको च्याटिङबाट दुनियाँसँग साथी बन्छन तर परिवारसँग उदासी रहन्छन्। हामीबिच ठूलो कुरा के भो भने छोरा न तिमीले कुनै गुनासो गरेऊ मसँग न मैले कुनै गुनासो गरेँ तिमीसँग? जसका कारण आज यो पत्र हुनपुग्यो। नत्रभने यो पत्र हुन्थेन।

त्यो साँझ मैले धेरैकुरा सोध्न आवश्यक ठानिनँ, किनकि तिमी स्वयं भन्दै गयौ। फेरि तिमीले भन्यौं त्यो १२ फेब्रुअरीको साँझको अर्गनाइजेर फाइनान्सर आइडोलोजिकल तिम्री अर्धागिंनी दीपा हो भन्ने?

मैले सपनामा पनि सोचेको थिइनँ, तिम्रो पत्निको पनि यो साँझमा कुनै रोल होला। तिमीले भन्यौँ मलाई तिम्री श्रीमतीले तिमीलाई भनिछ कोही दोश्रो महिलाले पनि तिमीलाई धेरै माया गर्छे, तिमी त्यो महिलासँग पनि समय विताउँ ताकि तिमीमा माया बढोस् भन्ने। तिमी श्रीमतीलाई पागल भैछ भन्ने ठानेछौं। जब तिम्री श्रीमतीले मेरो नाम भनिछ। अर्थात तिम्रो आमाको नाम। तब तिमी आश्चर्यचकित भएछौ। तिमीले पिएपछि सबैकुरा भन्यौं।

छोड, कारण जेसुकै होस, जस्तोसुकै होस आखिर परिणाम बहुत सुखद थियो।

बिद्धाश्रम फर्कने समय तिमीबाट बिदा हुने समय मैले केही भन्न पाइनँ। तिम्रो आँखाबाट आँशुले धेरै कुरा भन्यो। तिम्रो निधारमा मैले चुमेर विदाई गरेँ। तिमीले मेरो खुटृा छोयौं। तिम्रो हातले मेरो हातका हत्केलालाई खेलाएर भन्यौँ ‘आमा आज तपाईको साथ डिनर खाएर धेरै खुशी भएँ, जति मैले सोचेकै थिइनँ, त्यो भन्दा धेरै भन्दाभन्दै तिम्रो फोन आयो तिमी हिँडेऊ’

मैले पनि यही कुरा भन्न चाहन्थे छोरा।

त्यो रात म पटक्कै सुतिनँ। रातभरी खुशीले रोइँरहेँ।

बिहानबिहान रुममेट दिदीले बोलाउनु भो। हाम्रो ‘डेट’ को बारेमा जान्नका लागि। मैले उनलाई सबैकुरा भनेँ उनी पनि भावुक भइन। उनले भनिन् ‘सायद मेरो छोराले पनि यस्तै डिनरमा लगिदिए…’

‘सायद’ शब्द कति आशावादी भएर बस्छ। आशाको सहाराले हामीलाई बाँच्न सिकाउँछ। तर त्यो दिनको साँझ मेरो लागि ‘सायद’ थिएन। त्यो केवल रुममेट दिदीको लागि थियो।

त्यो साँझ जेजस्ता कुरा भए, सबै बताउन चाहन्नँ। जिन्दगीका हरपल मैले कसरी र कुन हालतमा तिमीलाई हुर्काएँ। त्यो भन्न पनि चाहन्न। तिम्रो बाबा यस धर्तिमा हुनुहुन्न। यही आर्यघाट हो बाबालाई तिमीहरुले जलाएका। मैले यहीँ मर्ने बिचार गरिसकेँ। मलाई थाहा छैन तिमीहरुले मलाई साथै राख्न चाहान्छौ कि चाहन्नौ। तर म तिमीहरुको साथ रहन चाहन्नँ। किनकि मेरा नियम कानुनहरु कडा हुन्छन् तिमीहरुलाई मन पर्दैन। मेरो आफ्नोपन छ। आफ्नो नियम छ। म यहीँ मर्न चाहान्छु।

तिमीहरु सबै मेरा परिवार हौं। परिवारका लागि भगवानसँग प्रत्येक दिन प्रार्थना गर्दछौं दियोमा तेल थप्छु। बाबालाई सम्झन्छु।

एउटा कुरा भन्न चाहन्छु छोरा। त्यो साँझ हाम्रो जीवनमा जुनसुकै कारणले आए पनि जसको कारणले आए पनि उसलाई धन्यवाद दिन चाहान्छु। फेरि दोहोराउन चाहान्छु। बारबार दोहोर्‍याउन चाहान्छु। कुनै पल कसैलाई कसरी खुशी दिन सकिन्छ मलाई त्यो दिन महशुस भयो। जब तिमीले यो पत्र पढौला तिमीलाई पनि त्यो साँझ याद आउला जसरी मैले लेखिरहेको छु। सायद तिम्री श्रीमतीसँग पनि यसरी नै साँझ गुजारूँ? तिम्रा सन्तानहरुसँग पनि यसरी नै साँझ गुजारुँ? के यस्तो हुन सक्ला र मर्नुभन्दा पहिला?

के यस्तो हुन सक्ला र ?

‘सायद’ यस्तो भैदिए….।

साँच्चै ‘सायद’ शब्द जति आशावादी छ त्यो पुरा भएको देख्न चाहान्छु। थाहा छैन। यो पत्र तिमीलाई मैले किन लेखेँ। जे होस् मलाई आनन्द आइरहेको छ। मज्जा आइरहेको छ। तिमीलाई यो पत्र लेख्दा।

आर्शिवाद।

तिम्रो आमा।

आमाको पत्रलाई पट्याएँ। र पर्सभित्र राखेँ। मन थाम्न सकिनँ। हर्टअट्याक जस्तो भो। दुई महिनाभन्दा धेरै भइसकेको थियो त्यो साँझ। बडो पीडादायी अनुभव भो। यत्रो वर्ष मैले आमाको लागि समय दिन सकिनँ। अब चाहेर पनि समय दिन नसक्ने अवस्थामा छु। फेरि पत्रलाई दोहोराएर पढेँ। आमाको सबैभन्दा अनमोल चिज मलाई सित्तैमा पाएको थिएँ। त्यो पत्रमा आमाको तस्बिर देखिरहेँ। आमाको स्नेह हातहरु देखेँ। सानोमा नांगैं बनाएर नुहाएको याद आयो। मलाई उठाएर मेरो खुट्टामा साबुन लगाएर मिचेको याद आयो। रोइँरहेँ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology