रवीन्द्रको निधनले पोखरा स्तब्ध

पोखरा, १५ फागुन – दिन जति धमिलो छ, त्यति नै धमिला छन्,पोखरेलीका मन। आफ्ना प्रिय नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरले मर्माहत भएका पोखरेलीहरुको कामना भगवानको कानसम्म पुग्नै सकेन।  अन्ततः उनी सबैलाई रुवाउँदै बिदा भएका छन्। उनको निधनले पोखरावासी शोकाकुल र स्तब्ध बनेका छन् भने सिंगो देश नै शोकमा छ।  ‘हामीले एक होनाहार, उम्दा र इमान्दार नेता गुमाएका छौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले भने, ‘यसले पार्टी, सरकार र गण्डकी प्रदेशलाई ठूलो क्षति पु¥याएको छ।’ शोकको यो घडीमा परिवारजनलाई समवेदना दिनबाहेक आफूसँग कुनै शब्द नभएको बताउँदै उनले हवाई सुरक्षाबारे भने अब सोच्नुपर्ने बताए। उनको निधनको खबर माता लक्ष्मीदेवी अधिकारी र पिता ईन्द्रप्रसाद अधिकारी पोखरामै सुने। उनीहरु जेठा छोराको निधनको शोकमा छन्। उच्च रक्तचापका रोगी दुबै जनालाई डाक्टरसँगै काठमाडौँ पठाइएको छ।
वि.सं. २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरीको जामुनाबोटमा जन्मेका अधिकारी सानै उमेरदेखि वामपन्थी राजनीतिमा होमिएका थिए। उनकी अर्धाङ्गिनी विद्या भट्टराई प्राध्यापन पेशामा रहेकी छन्। उनी प्रेमी तथा पतिको निधनको खबरले मन्त्री क्वार्टरमै बेहोस बन्न पुगिन्। रवीन्द्रका  बिराज र स्वराज गरी दुई छोरा छन्। २०४४ सालमा पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको अध्यक्ष बनेपछि राजनीतिमा उनले कहिल्यै पछि फर्कनु परेन। २०४९ सालमा सोही क्याम्पसको स्ववियु सभापति,२०५३ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदै २०५६ सालमा उनी अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बने। पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदा होस् कि अनेरास्ववियुको अध्यक्ष हुँदा नै किन नहोस्, रवीन्द्र अधिकारी कास्कीमा सधैँ लोकप्रिय रहे। सार्वजनिक सवारीमा ३३ प्रतिशत विद्यार्थी सहुलियत कायम गराउने आन्दोलन एवं प्रविण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसबिरुद्ध हस्ताक्षर संकलन गरी दरबार बुझाउने रवीन्द्र आँटका पर्याय थिए। तत्कालीन मालेलाई जीवन्त बनाउन उनको ठूलो भूमिका रहेको थियो। २०५४ सालमा भएको एमाले विभाजनमा तत्कालीन माले महासचिव वामदेव गौतमलाई दह्रो साथ दिएका रवीन्द्रले २०६४ र २०७० को संविधानसभा निर्वाचनसँगै पछिल्लो संसदीय निर्वाचनमा पनि भारी मतान्तरले विजयी बनेका थिए। ‘संविधानसभाः लोकतन्त्र र पुनर्संरचना’, ‘समृद्ध नेपाल’जस्ता पुस्तकका लेखक समेत रहेका अधिकारी पछिल्लो केपी ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका थिए। पोखराका प्रिय नेताको निधनसँगै नेकपा कास्कीको पार्टी कार्यालयमा शुभेच्छुकहरुको भीड लागेको छ। उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पोखरा ल्याउन पार्टीले माग गरेको छ। तर, अन्तिम निर्णय भने भएको छैन।
रवीन्द्रजस्तै कास्कीकै चन्द्रप्रसाद र हर्क गुरुङलाई पनि खाएको थियो, हेलिकोप्टर दुर्घटनाले
संयोग नै मान्नुपर्छ, २०६३ साल असोज ७ गतेका दिन कञ्चनजंगा संरक्षणक्षेत्रलाई स्थानीय समुदायमा हस्तान्तरण गरेर फर्कदैँ गरेका कास्कीका संरक्षणवीद डा. चन्द्रप्रसाद गुरुङ र लमजुङका हर्क गुरुङको पनि ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा २४ जनामध्ये विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, भूगोल तथा योजनाविद डा. हर्कबहादुर गुरुङ गण्डकी प्रदेशका थिए। चन्द्रप्रसाद कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेसका बासिन्दा हुन् भने हर्कको जन्म लमजुङमा भएको थियो। कास्कीको सिक्लेसमा जन्मिएका डा. गुरुङको स्थानीय समुदायमा आधारित जैविक विविधता संरक्षणमा विशेष योगदान रहेको थियो। अन्नपूर्ण संरक्षण क्षेत्रको विकास तथा प्रवद्र्घनमा उनको योगदानकै कारण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आफ्नो पहिचान स्थापित गराएको मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रको पर्यटन मोडेल संसारकै लागि नमूना मानिन्छ। त्यसैगरी कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना सफल बनाउन यिनै गुरुङको योगदान अतुलनीय रह्यो। लमजुङमा जन्मेका एक बहुआयामिक व्यक्तित्व डा. हर्कबहादुर गुरुङ संरक्षणका लागि विश्वभर चीरपरिचित थिए। उनी एक सफल भूगोलविद्, योजनाविद्, मानवशास्त्री, लेखक, राजनीतिज्ञ, कलाकार र संरक्षणकर्मी थिए। डा. हर्क गुरुङको हरेक क्षेत्रमा विशिष्ट योगदान छ।
सो दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई र उनकी श्रीमती मिना राई, वन सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल, वन विभागका महानिर्देशक शरद राई, फिनल्यान्ड राजदूतावासका पौली मुस्टोनेन, युएसएडकी मार्गरेट एलेक्जेन्डर, युएसएडका डा. बिजनन आचार्य, विश्व वन्यजन्तु कोष युकेका डा. जिल बोलिङ स्चल्याफर, विश्व वन्यजन्तु कोष युकेकी जेनिफर हेडली, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङमा शेर्पा, विश्व वन्यजन्तु कोष अमेरिकाका माथेउ प्रिस, संरक्षणविद् डा. तीर्थमान मास्के, विश्व वन्यजन्तु कोष नेपालकी यसी लामा, उद्योग वाणिज्य सङ्घका तत्कालीन केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पहिलो अध्यक्ष दावाछिरिङ शेर्पा, नेपाल टेलिभिजनका संवाददाता हेमराज भण्डारी र क्यामेरा पर्सन सुनिलकुमार सिंह, क्यापटेनहरु किल्म किम र मिङ्मा शेर्पा, उडान इन्जिनियर भेलेरी सेफ्रोनो र क्याविन एटेन्डेन्ट गुरुवर टन्डुलको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology