ताप्लेजुङ दुर्घटनाका मृतक सवैमा हार्दिक श्रद्धाञ्जली

सबै दुर्घटना दुःखद हुन्छन् । तर कुनै–कुनै दुर्घटना ठूलो आयतन बोकेर आउँछन् । तिनले ठूलै शोक दिलाउँछन् । मुलुकले त्यही अनुभूत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी आङछिरिङ शेर्पासहित चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सातैजनाको निधन भयो । मन्त्री अधिकारी युवा नेताहरूमा लोकप्रिय मानिन्थे । व्यवसायमा शेर्पाको फट्को पनि अनुकरणीय थियो । साथमा उच्चपदस्थ अधिकारीदेखि राजनीतिक सल्लाहकार र सुरक्षाकर्मीसमेत परेका छन् । यसबाट देशलाई अपूरणीय क्षति पुगेको छ । मृतक सवैमा हार्दिक श्रद्धाञ्जली ।
नेपालमा बर्सेनि आधा दर्जनभन्दा बढी हेलिकप्टर र जहाज दुर्घटना हुने गरेको तथ्यांक छ । नीतिगत रूपमा मात्र होइन, व्यावहारिक रूपमा पनि उडान सुरक्षालाई प्रभावकारी नबनाइँदा दुर्घटना बढ्दै गएको छ । नागरिक उड्ययनमन्त्री आफैं उड्यन असुरक्षामा पर्नु दुःखद हो । हरेक दुर्घटनामा भनिने–लेखिने सुरक्षाका यी विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । भौतिक, प्राविधिक, जनशक्तिगत सबै क्षेत्रमा आवश्यक परे लगानी बढाई सुरक्षाको प्रत्याभूति दिलाउनैपर्छ । नेपाली आकाश आफैंमा असुरक्षित छ । भौगोलिक बनावट र परिवर्तन भइरहने मौसमको चुनौती त उड्डयन क्षेत्रमा छँदैछ, प्राविधिक असुरक्षा उत्तिकै जिम्मेवार छ । जेजसरी हुन्छ, यस्ता दुर्घटना टार्न राज्यबाट पहल हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology