स्तब्ध पोखरावासीले सम्झे रविन्द्रले लिएको आकाशेपुलको योजना

पोखरा, १६ फागुन – सांसदको कोटाबाट चालू वर्षका लागि पूर्वाधार विकास बजेटमा यसपटक रवीन्द्र अधिकारीले छनोट गरेको योजनाले पोखरेलीमाझ तरंग ल्याएको थियो । योजना थियो– सहरको व्यस्तमध्येको चौरस्ता सिर्जनाचोकमा आकाशे पुल बनाउने । त्यसका लागि उनले ५० लाख विनियोजन गरेपछि महानगरपालिकाका इन्जिनियर शोभित खडकाले डिजाइन पनि तयार पारिसकेका छन् । दुई साताअघि महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा मेयर मानबहादुर जीसीले २ करोड ४१ लाख लागत रहने पुल निर्माणका लागि छिट्टै टेन्डर आहवान गरिने बताएका थिए । डिजाइन र इस्टमेट सार्वजनिक गरे पनि महानगरले टेन्डर आहवान गरिसकेको छैन ।
कास्की–२ का सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले बुधबार बिहानै पोखरा–८ का वडाध्यक्ष रुद्र बराललाई फोन गरेका थिए । ‘मन्त्रीज्यूले पुलको कुरा के भयो, डिजाइन र निर्माणको काम थाल्ने विषयमा लागिपर्नुस्, ढिला गरेर हुँदैन भन्नुभएको थियो,’ बरालले भने, ‘बिहान ८ बजे उहाँले फोन गरेपछि म महानगर गएर इन्जिनियरलाई भेटें, तयारी प्रक्रिया बुझेर फिर्दै थिएँ, दुर्घटनाको खबर सुनें ।’ गत वर्ष पनि उनले फेवातालको जलकुम्भी सफा गर्ने यन्त्र खरिदका लागि ५० लाख छुट्याएका थिए । उनी दुईपटक संविधानसभा सदस्यसमेत रहेका थिए । प्रत्येकपटक पोखरा आउँदा महानगरको विकास योजनामा चासो राख्ने र सबैलाई सम्मान गर्दै नम्र बोल्ने उनको बानीलाई सम्झँदै पोखरेलीहरू सामाजिक सञ्जालमा समवेदना व्यक्त गरिरहेका छन् । ‘हामी नेताहरू यस्ता छौं, जो भाषण गर्न जान्दछौं, अरू कला खोज्नुपरे गाह्रो छ,’ गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ भन्छन्, ‘रवीन्द्रजी फरक हुनुहुन्थ्यो । उहाँको अध्ययनशील बानी थियो । विचार पुर्‍याएर बोल्ने, मीठो बोल्ने । कटु वचन बोल्नेलाई जवाफ नदिई हाँसेर टार्नेकला जोकोहीमा पाउन गाह्रो छ ।’
कास्कीको साबिक भरतपोखरी–९, जामुनाबोटका अधिकारीलाई गुरुङले २०३७ सालदेखि चिनेका हुन् । ‘त्योबेला म मालेको कार्यकर्ता, भूमिगत अवस्थामा थिएँ,’ उनले भने, ‘आठ कक्षामा पढ्ने रवीन्द्रलाई किशोर कार्यकर्ताका रूपमा पार्टीमा सहभागी गराइएको थियो ।’ रवीन्द्रका पिता इन्द्रप्रसाद पछि तनहुँको एउटा विद्यालयमा पढाउन गएपछि सम्बन्ध पारिवारिक भयो । ‘राजनीतिक कार्यकर्ता थरीथरीका हुन्छन्, रवीन्द्रको आनीबानी पार्टीको माथिल्लो ओहदामा पुग्ने खालको थियो,’ गुरुङ भन्छन्, ‘सबैलाई समन्वय गरेर लैजाने, विपक्षीलाई छिटो रिझाउन सक्ने खुबी सबैमा हुँदैन, उहाँमा थियो ।’
संसदको विकास समिति सभापति हुँदा अधिकारीले योजना छनोट, बजेट परिचालन र सहयोगका सबै प्रक्रियाबारे राम्रो जानकारी राखेको गुरुङ बताउँछन् । ‘उहाँलाई सबै प्रक्रिया थाहा हुन्थ्यो, त्यस्तो अध्ययन गर्ने बानी निकै कम नेतामा पाइन्छ,’ उनले भने, ‘उहाँसँगै काम गरेका नेता–कार्यकर्ता मात्रै होइन, कर्मचारी पनि सकारात्मक सोच र अरूलाई असल काम गर्न हौस्याउने बानीका कारण प्रभावित भएका थिए ।’ गण्डकीका प्रदेशसभा सदस्य राजीव पहारी पछिल्लो समय फेवाताल जोगाउने अभियानको अगुवाइ गरिरहेका छन् । ‘रवीन्द्र दाइले एउटा निश्चित मुद्दामा प्रस्ट भएर जानुपर्छ भन्नुभएको थियो,’ उनी भन्छन्, ‘पार्टीका नेताका रूपमा होइन, मजस्तै धेरै जनासँग उहाँको दाजुभाइकै जस्तो सम्बन्ध थियो । उहाँलाई नजिकबाट चिनेकाहरूले खराब भन्दैनथे ।’
सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटलाई योजना छनोटपछि पारदर्शी तवरले विवरण सार्वजनिक गर्ने बानी सुशासन चाहनेका लागि स्मरणीय रहेको उनले बताए । मन्त्री अधिकारी पछिल्लोपटक गत आइतबार पोखरा–२१ को भविष्य निर्माण माविको ६६ औं वार्षिकोत्सवमा सहभागी भएका थिए । उनले त्यहाँ पिता इन्द्रप्रसादको नाममा १ लाख ५ हजारको अक्षय कोष राखिदिएका थिए । कार्यक्रममै विद्यालयका लागि शिक्षासेवीहरूबाट अक्षयकोषमा ९ लाख ५३हजार रुपैयाँ उठेको थियो ।अधिकारीका बाल्यकालका साथी केशवप्रसाद आचार्य भन्छन्, ‘ऊ बच्चैदेखि फरक स्वभावको थियो । रिसाउँदैनथ्यो, जस्तो अप्ठ्यारोमा पनि मुसुक्क हाँसेर टार्थ्यो ।’ नरिसाउने बानीकै कारण अधिकारीले राजनीतिमा छिट्टै अग्रस्थान बनाउन सफल भएको उनी बताउँछन् । ‘संयमित हुने, विचार पुर्‍याएर बोल्ने उसको असाधारण क्षमता थियो,’ उनी भन्छन्, ‘मैले बालसखा गुमाएँ, देशले क्षमतावान नेता गुमायो ।’ अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अभियानलाई बल दिएका थिए । आफू सभासद र विकास समितिमा रहँदा विमानस्थल निर्माण सरोकार समितिको बैठक पटक–पटक बोलाएका थिए । गाउँ, टोल र वडा इकाईसमेतका कार्यक्रममा निम्त्याउँदा सहज रूपमा उपस्थित हुने बानीले उनी पोखरेलीमाझ लोकप्रिय थिए ।
तस्विर :  छोराको निधनको खबरले विक्षिप्त बनेकी मन्त्री रवीन्द्र अधिकारीकी आमा लक्षीदेवीलाई बुधबार साँझ काठमाडौं लैजान पोखरा–५ मालेपाटनस्थित घरबाट बाहिर ल्याउँदै आफन्त । कान्तिपुर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology