जनयुद्धका कमाण्डरको उद्घोष : मालिक हैन, जनताका सेवक !

जनार्दन शर्मा ‘प्रभाकर’
जनयुद्ध जनताको ऐतिहासिक पहलकदमी, परिवर्तनको ऐतिहासिक प्रक्रिया र एउटा युगान्तकारी प्रवाह थियो । ठूलो त्याग, बलिदान र नेतृत्वको दृढ विश्वासको योगमा आजको नेपाल, सार्वभौम जनताको नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल, समावेशी समानुपातिक प्रतिनिधित्वसहितको व्यवस्था भएको नेपाल, स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्प्रभुता, आवासको अधिकारजस्ता मौलिक अधिकारहरु समेत भएको नेपालको रुपमा आज हामीले पाएका छौँ ।जनयुद्ध आफैँ जनयुद्धमात्रै थिएन । जनयुद्धले विभिन्न आन्दोलनको नेतृत्व गरेको थियो । सवै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंगका जनताहरुका विविध आन्दोलनको नेतृत्व गरेको थियो । र, जनआन्दोलनलाई समेत समाहित गरेको थियो । त्यसबाट राजतन्त्रको अन्त्य गर्न सफल भएको थियो । यी सबै उपलब्धि भइसक्दा हामीले शहिद र वेपत्ताकाे याेगदानलाई भूल्न हुँदैन । आज जनयुद्धले स्थापित गरेका एजेण्डाहरुका जगमा, जनयुद्धका नायक प्रचण्डको नेतृत्वमा नै यो संविधानको प्रक्रिया अगाडि बढेको हो । यो जगजाहेर छ । आज जुन संविधान हामीले बनाएका छाँै, त्यो संविधानलाई उपयोग गर्दा पहिलो कुरा सार्वभौम र उत्पीडित वर्ग, समुदायका जनताका आवाज र आवश्यकताहरुलाई पूर्ति गर्ने कुरामा हाम्रो ध्यान केन्द्रीत गर्नु जरुरी छ । त्यो अनुसार सरकारले आफ्नो कार्यविधि, कार्यनीति, योजना र नीति बनाउने कुरा एकातिर छ भने अर्कोतिर संविधानले भनेअनुसार ऐन कानुन बनाएर तत् तत् ठाउँका अधिकारहरु तत् तत् ठाउँमा दिएर संघ र प्रदेश, अनि प्रदेश र स्थानीय तहको सुमधुर सम्बन्ध बनाएर, समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अगाडि बढ्नु र यो राष्ट्रको सार्वभौमता र अखण्डतालाई बलियो बनाउनु पर्दछ । त्यसका लागि दुई वटा कुरा छन् । पहिलो, सवैभन्दा तल्लो वर्गलाई राज्यले लगानी गर्नुपर्छ । दोस्रो, जो उत्पीडित छौ, प्रताडितहरुलाई संघीय सरकारले आफ्नो साथमा लिनुपर्छ । त्यसरी साथमा लियो भने मात्र हाम्रो राष्ट्रियतालाई बलियो बनाउन सकिन्छ ।
अहिले सरकारले समृद्धिको अभियानको नारा दिइरहेको छ । तर त्यो नारा जनतासँग जोडिएको छैन । लाखौं, करोडौं आम नेपाली जनतालाई समृद्धिको नारासँग जोडेर उनीहरुलाई परिचालन गरेर मात्रै समृद्धि हुने हो । त्यो पाटो छुटेको छ, यो गर्नुपर्छ । र यसबाट संविधानको स्प्रिट अनुसार अगाडि बढेर समाजवाद निर्माणको दिशातिर जान सकिन्छ । दोस्रो कुरा, जनयुद्धमा धेरै रगत बग्यो । धेरै वेपत्ता पारिए । त्यो कुनै व्यक्ति विशेषका विरुद्ध नभई राज्य र राज्यसत्ताका विरुद्धको विद्रोह थियो ।  राज्यसत्ताका विरुद्ध विद्रोह गरेर त्यसले स्थापित गरेको आज सरकार भएको कारणले त्यो राज्यसत्तालाई (यद्यपि राज्यसत्ता त पूर्ण रुपमा यो सरकारसँग छैन । ) जनताको समग्र स्वामित्वमा ल्याइपुर्याउने काम पनि सँगसँगै गर्नुपर्यो । त्यो ऐन नियम निर्माण गर्ने क्रममा र समृद्धिको अभियान जनतासहित क्रममा हुने कुरा हो ।
अवको ध्यान र जोड जनयुद्धमा सहिद भएकाहरुको सम्मान र विशेष ख्याल गर्न सक्नुपर्छ, आजको राज्यले । किनभने कुनै पनि युग र समाज वलिदानीबाट स्थापित हुन्छ । यो पनि त्यसरी नै भएको हो । त्यसको सम्मान गर्न नसक्नेले त्यसको उपभोग गर्ने अधिकार पनि हुँदैन । त्यसकारण हामीले सम्मान गर्नुपर्छ । तिनका परिवारहरुको आज जुन अवस्था छ, त्यसको संरक्षण र सम्मान गर्नुपर्छ । आज हजारौँ घाइते अपाङ्गहरु छन् । ती घाइते अपाङ्गहरुको सम्मान, संरक्षण र व्यवस्थापन गर्नुपर्छ । हजारौँ हजार जनमुक्ति सेनाहरु हिजो अग्रपंक्तिमा लडेका थिए । आज तिनीहरुको, परिवर्तनको लागि लड्नेहरुको सम्मान गरिनु जरुरी छ । आज कोही वर्हिगमित भनेर भौंतारिएर हिँड्नुपर्ने, जनयुद्धमा लागेवापत आज कतिपय ठाउँमा हेपिनुपर्ने अवस्थालाई अन्त्य गरेर उनीहरुको सम्मान, संरक्षण र व्यस्थापन गर्ने दायित्व राज्यको पनि हो । जनयुद्धको कारण र विभिन्न कारणले विस्थापित भएको पंक्ति पनि छ । त्यसलाई पनि सरकारले एउटा खालको व्यवस्थापन गर्नुपर्छ । प्राप्त उपलव्धिहरुप्रति हिजो एकाध कमीकमजोरीहरु भएका रहेछन् भनेपनि त्यसलाई बिर्सिएर समग्र राज्यको प्रवाहमा, समग्र समृद्धिको प्रवाहमा र समग्र राष्ट्रियतालाई सुदृढ गर्ने प्रवाहमा सबैलाई लगाउन सकिन्छ । यो दृष्टिकोण हुनुपर्यो नेतृत्वको । यो दृष्टिकोण भएन भने हँुदैन ।
त्याग र बलिदानबाट अगाडि बढेको कम्युनिष्ट आन्दोलन एकिकृत भएको छ, अहिले । झापा आन्दोलनमा एउटा खालको प्रक्रिया सुरु भएको थियो । त्यो पनि एउटा ऐतिहासिक प्रक्रिया थियो । त्यसपछि त्यस्ता तमाम आन्दोलनहरु अगाडि बढेका छन् । ती सवै आन्दोलनमा कम्युनिष्ट, क्रान्तिकारीहरुले खेलेका  भूमिकाहरुलाई संश्लेषण गरेर आज हामी एकीकृत कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ । यसको अर्थ समाजवादको बाटोमा अगाडि बढ्ने हो । संविधानले समाजवादको आधार तयार गर्ने भनेको छ । समाजवादको बाटोमा अगाडि बढ्ने संवैधानिक अधिकार हामीले ल्याइसकेपछि त्यो बाटोमा अगाडि बढ्नु पर्यो । त्यो बाटोमा अगाडि बढ्नका लागि आज हामी सरकारमा बस्नेहरुले दलालहरुका घेरो तोड्न सक्नुपर्यो र जनताको घेरामा बस्नुपर्यो । जनताको घेरामा बसियो भने बल्ल समाजवादको बाटो गइन्छ । त्यसमा पनि उत्पीडित वर्गको घेरामा बस्नुपर्यो । जो पछि परेको हो त्यसको घेरामा बस्नुपर्यो ।
आज सरकारमा बस्नेहरुको मोर्चा भनेको दलालहरुको घेरा तोड्ने हो । भ्रष्टाचारको घेरा तोड्ने हो । विगतको राज्यसत्ताले थोपरेको निरन्तरतालाई तोड्ने हो । मालिक हुने हिजोको संरचनाभित्र भित्रको प्रवृत्ति– जनतालाई ठग्ने, दास सम्झिने, काम नगर्ने, लाई तोडेर जनताको सेवा गर्ने हो । आजको सरकार शासक होइन, सेवक हो । आजका व्युरोक्रेसीका मान्छेहरु शासक होइनन्, सेवक हुन् । तर हिजोको राज्यसत्ताले थुपारेको शासकीय प्रवृत्ति आजसम्म छ । त्यसका विरुद्ध लड्नु पर्छ, त्यसलाई तोड्नुपर्छ र जनताको सेवक बन्नुपर्छ । त्यसरी अगाडि बढ्दा दलालको घेरा र भ्रष्टाचारको जालो तोडेर लाखौँ लाख जनतालाई साथमा लिएर विकास निर्माणको प्रवाहमा नेतृत्व गर्ने सक्ने हैसियत राख्नुपर्छ । अबको सरकार, मन्त्रालय भनेको मन्त्रालयमा निर्णय गर्ने होइन । मन्त्रालयमा निर्णय गरेर एउटा निर्णय भएको छ भनेर ६ महिनापछि त्यसको रिभ्यू गरेर यति प्रतिशत मात्रै काम भयो भनेर वक्तव्य जारी गर्ने होइन ।

अबका मन्त्रालय र सरकार भनेको जनताको व्यापक शक्तिका साथमा सँगसँगै अगाडि बढ्ने हो । यो कुराको तालमेल मिलेको छैन, यसलाई मिलाउनुपर्छ । त्यसो गरेर मात्रै समृद्धिको दिशामा अघि बढ्न सम्भव हुन्छ । हामीसँग स्रोत साधन छ, जनशक्ति छ । त्यही हो हाम्रो मुख्य पुँजी । पुँजी छैन भनेर भौंतारिन पर्दैन । हामीले आत्मनिर्भरताको नीति र योजना बनाएर जानुपर्दछ । आत्मनिर्भरता र नीतिको योजना नबनाउने, अन्यत्र भरपर्ने अनि कसरी काम हुन्छ ?त्यसकारण जनताको व्यापक हिस्सासहित हरेक मन्त्रालयले आफ्नो कामको नेतृत्व गरेको हुनुपर्दछ । मन्त्री फिल्डको कमाण्डर जस्तो हुनुपर्छ । कुर्सीमा बसेर, व्युरोक्रेसिका केही मान्छे अनि केही दलालहरुको घेरामा बसेर, भष्ट्राचारको जालोभित्र अल्मलिएर हँुदैन । त्यसलाई चिरेर जानुपर्छ । आजको आवश्यकता यो हो । हामीले उत्पीडित वर्गको अपेक्षा र चाहनाअनुसार नीति, योजना, कार्यक्रम र व्यवहारहरुलाई रुपान्तरित गर्ने हो । नीति निर्माण गर्दा संविधानले दिएको स्पष्ट निर्देशअनुसार, संविधानको स्प्रिट अनुसार नीतिनिर्माण गर्ने हो । त्यो नीतिनिर्माण गरेर जनतालाई अधिकार सम्पन्न गर्ने हो । आज स्थानीय, प्रदेश र संघीय तहको समन्वय र सहकार्यलाई नीतिगत रुपले तय गर्ने हो । एकले अर्कोलाई शासन गर्ने रुपमा नभएर सवै मिलेर यो राष्ट्रको समृद्ध गर्ने, सबै मिलेर यो राष्ट्रको स्वाधिनताको रक्षा गर्ने र सबै मिलेर राष्ट्रियतालाई सुदृढ गर्नेतर्फ हामी लाग्नुपर्छ । आजको राजनीतिमा जे उपलव्धि, पहलकदमी छ, यो जनयुद्धले ल्याएको हो । जनयुद्धले धेरै कुरालाई समेटेर आएको छ ।
जनयुद्धको अन्तिम अन्तिम चरणमा जतिबेला म पाल्पामा एउटा मोर्चाको नेतृत्व गरिरहेको थिएँ, त्यतिबेला तत्कालीन अवस्थामा नेता गिरिजाप्रसाद कोइरालाले मलाई सन्देश पठाउनु भएको थियो । यसलाई व्यापक रुपमा अगाडि बढाऊ, तिमीहरु अगाडि बढ, तिब्ररुपमा अगाडि बढ भनेर । त्यसकारण जनयुद्धको पछिल्लो चरणमा आइपुग्दा हामी सवै राजनीतिक पार्टीहरु एक ठाँउमा छौँ । निरङ्कुश राजतन्त्र फेरि अगाडि आइसकेपछि हामी सवै मिलेर यो ठाँउमा आइपुगेका हौँ । तर जनयुद्धको महान प्रक्रियामा कहीँ न कहिँ रुपमा हामी एकढंगले सामेल छौँ । हो, आज त्यसका केही असरहरु बाँकी छन् । कतिपय विषयहरु एउटा प्रक्रियाअन्र्तगत त्यतिवेलाका घाउहरुलाई मल्हम लगाउने भनेर मेलमिलापको मुल आधार बनाएर अघि बढ्नु आजको आवश्यकता हो । त्यतिवेला भएका जघन्य प्रकृतिका, आगो लगाएर ध्वस्त बनाएका, कतै हत्या गरिएका जस्ता घटनाहरु छन् । त्यसलाई पनि छलफल गरेर निकास दिएर न्याय दिने र मुलतः मेलमिलापको प्रक्रियाबाट अगाडि बढ्ने भनेका छाँै । त्यो शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने पनि हाम्रो कार्यभार छ ।
राष्ट्रको समृद्धि भनेर नारा दिएर मात्रै हुँदैन, त्यसले उत्पन्न गरेका समस्याहरुको समाधान गर्नुपर्छ । जबसम्म सहिद परिवारहरुको व्यवस्थापन, सम्मानमा ध्यान दिइँदैन, घाइते अपाङ्गहरुको अहिलेको अवस्थालाई व्यवस्थापन गरिँदैन, समृद्धि हुँदैन । राष्ट्रिय मुक्तिका लागि भए गरिएका आन्दोलन, जनसंघर्ष र जनयुद्धमा लागेर पीडित भएका तमाम शक्ति, समुह र युवाहरुका समस्यालाई सम्बोधन नगरेसम्म समृद्धि प्राप्त हँुदैन । जनयुद्धलाई कसैले पुर्वाग्रह भएर हेर्छ भने, त्यो त हिजोको राज्यसत्ताको आँखा हो । आज हामी त्यसरी हेर्न सक्दैनौँ । हिजोको राज्यसत्ताले जनयुद्धलाई समाप्त पार्ने भनेको थियो । तर हामी अर्को नयाँ युगमा आइसक्यौँ । नयाँ युगमा आइसकेपछि समयको प्रवाहलाई बुझेर, समयको पदचापलाई बुझेर हामीले आफूलाई पनि त्यहीअनुसार बदल्दै अगाडि जाने हो ।
कम्युनिष्ट पार्टी भनेको उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । त्यो भनेको हाम्रो देशमा अहिले दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने हो । त्यसको लागि त जनतानै चाहियो, जनतालाई प्रयोग गर्नुपर्यो । त्यसमा राष्ट्रिय अन्र्तराष्ट्रियबाट सहयोग लिनुपर्छ तर मुख्यतः हामीले आम जनताको भरपर्ने कुरा गर्नुपर्छ । त्यसकारण त्यो वर्गको प्रतिनिधित्व गर्ने भएकाले त्यो वर्गप्रति प्रतिबद्ध हुनुपर्यो । त्यो वर्गप्रति प्रतिवद्ध नभई अरु कुनै वर्गको प्रतिनिधित्व गरे हामी अगाडि बढ्न सक्दैनौँ । वर्गको नेतृत्व गर्ने भनेको वर्गसंघर्ष पनि हो अर्थात् निरन्तर वर्ग संघर्ष । सरकारले भनिरहेको छ, समृद्धिको बाटो । समृद्धि पनि वर्ग संघर्ष नै हो । समृद्धि भनेको कसलाई समृद्धि ? धनीलाई समृद्धि त होइन होला । सवैभन्दा पछाडि परेका जनता, गरिवलाई समृद्धि भनेको हो ।
गरिवको समृद्धिको कुरा गर्दा कतिपयलाई मन नपर्ला, त्यहाँ संघर्ष हुन्छ । हामी अहिले कानुन निर्माणमा संघर्ष गरिरहेका छाँै । किनभने संविधानको अधिकार तल पुर्याउनुपर्छ, दिनुपर्छ । यो गर्दा कतिपयलाई मन नपर्ला, त्यहाँ संघर्ष हुन्छ । भ्रष्टाचारको विरुद्धमा लाग्नेहरु र भ्रष्टाचारमा रमाउनेहरुका बीचमा संघर्ष हुन्छ । व्यक्तिगत स्वार्थमा अहिले लाग्ने भनेको कम्युनिष्ट पार्टीबाट विचलन हुनु हो । आफ्नो निहित स्वार्थमा लाग्ने सोच प्रवृत्ति भनेकोे भनेको कम्युनिष्ट पार्टीविरोधी प्रवृत्ति हो । त्यसकारण संघर्ष आफैँसँग हुन्छ । संघर्ष आफ्नो संगठनभित्र हुन्छ । संघर्ष जनताको बीचमा हुन्छ । संघर्ष संसदमा हुन्छ । संघर्ष सरकारमा हुन्छ । सवैतिर संघर्ष हुन्छ । त्यसकारण फेरि नयाँ ढंगको संघर्षकै क्रममा हामी छौँ । कम्युनिष्ट पार्टीको सदस्यको हैसियतले भन्छु, हामी नयाँ संघर्षको रुपमा छाँै । जनयुद्ध एउटा महान ऐतिहासिक पहलकदमीको संघर्ष थियो भने आजपनि हामी नयाँ ढंगले निरन्तरतामा छौँ । आजको दिनमा महान सहिदहरुलाई स्मरण गर्न चाहन्छु । हाम्रा जनयुद्धका नायक कमाण्डर, नेताहरुलाई स्मरण गर्न चाहन्छु । जनमुक्ति सेनामा सामेल भएर यो परिवर्तनमा लाग्ने सवै योद्धाहरुलाई सम्मान गर्छु । घाइतेहरुलाई सम्मान गर्दै स्मरण गर्न चाहन्छु । महान सहिदहरुप्रति श्रद्धाञ्जलीसहित सम्मान गर्दै उहाँहरुको परिवारलाई सम्मान गर्न चाहन्छु ।
हामीले हिजो उठाएको झन्डालाई नयाँ ठाँउमा ठुलो शक्ति बनाएर अगाडि बढेका छौँ । यो शक्तिलाई समाजवाद स्थापना गर्ने संघषर्घको बाटोबाट समाजवादको आधार तयार गर्दै अगाडि जानको लागि आफ्नोेतर्फबाट निरन्तर लाग्ने प्रतिवद्धता गर्छु । हामी सबै त्यसरी लागौँ । निरास नहोऔँ । अहिले केही समस्याहरु छन् । हामीले केही गर्न सकेका छैनौँ । मैले व्यक्तिगत रुपमा प्रयत्न गर्दा गर्दै पनि यो सम्भव हुने रहेनछ । तर अब यो सरकार र समग्र पार्टीको तर्फबाट जनयुद्धका ती समस्याहरुलाई सम्बोधन गर्ने अर्थात्– सम्मान गर्ने ठाँउमा सम्मान, व्यवस्थापन गर्ने ठाँउमा व्यवस्थापन, मल्हम लगाउने ठाउँमा मल्हम लगाएर अगाडि जानुपर्ने अवस्था छ । कतिपयलाई मेरा कुरा अग्राह्य, अपाच्य र सरकारविरोधी लाग्न सक्छ । तर मैले अहिले भनिरहेका कुरा सरकारलाई बलियो बनाउने कुरा हुन् । अनावश्यक राजनीतिक द्वन्द्वतिर नफसोस्, संघ र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय तहको द्वन्द्वमा देश नफसोस । उत्पादनको संघर्ष र समृद्धिको संघर्षमा मात्रै केन्द्रीत होस भन्ने मेरो मनसाय हो । यो सरकारलाई बलियो बनाउने, जनताको बनाउने, त्यो वर्गप्रति उत्तरदायि बनाउने र साँच्चिकै सफल समृद्ध राष्ट्र निर्माण गर्ने, सफल प्रधानमन्त्री बनाउने, मन्त्रीहरुलाई सफल बनाउने मेरो उद्देश्य हो । त्यसकारण गल्तीहरुलाई ढाकछोप गरेर होइन, उजागर गरेर, सच्चाएर, आफूलाई परिवर्तन गरेर मात्रै सही दिशामा अघि बढ्न सकिन्छ भन्ने मेरो दृढ मान्यता छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology