बागलुङे श्रष्टा मीनराज बसन्तको दोस्रो उपन्यास ‘पिपिरी’ सार्वजनिक

बागलुङ,  १९ फागुन – बागलुङे श्रष्टा एवं उपन्यासकार मीनराज बसन्तको दोस्रो उपन्यास ‘‘पिपिरी’ सार्वजनिक भएको छ।  काठमाडौँको थापागाउँस्थित कुञ्ज थियटरमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरु हाँगयुग अज्ञात, सगुना शाह, अमर न्यौपाने र लेखक मीनराज बसन्तले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा बोल्दै कवि हाँगयुग अज्ञातले एकै बसाइमा परेर सकिने ‘पिपिरी’मार्फत मीनराजले आफ्नो छुट्टै छवि निर्माण खोजेको बताए। कथा पढ्दै गर्दा हरेक पाठकले कथालाई आफ्नो अनुकुलतामा बुझ्ने भएकोले, कथाले यही कुरा बुझ्नुपर्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ थियो। उपन्यासले आफ्नो मनलाई छोएजस्तै अन्य पाठकको मनलाई पनि छुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
कार्यक्रममा वक्ता सगुना शाहले उपन्यास पढ्नुअघि आफूलाई ‘पिपिरी’को अर्थ थाहा नभएको बताइन्। उनले भनिन्, ‘पुस्तक पढ्न शुरु गर्दा पिपिरी मीठो धुन मात्र होला भन्ने सेचेकी थिएँ तर पिपिरी एक बालक र समाजको चित्रण छ।’ उपन्यासकारले पात्रको नामलाई एकदमै कम प्रयोग गरेर नयाँ शैली भित्राउन खोजेको उनको दावी थियो। अहिलेको नेपाली समाजमा निराशा चिर्नको लागि आख्यान लेख्ने संस्कृति बढ्दै गएको र यसकार्यमा युवा पुस्ता बढी सक्रिय रहेको उनको भनाइ थियो।
अर्का वक्ता आख्यानकार अमर न्यौपानेले उपन्यासभित्र दुईवटा कथाहरु रहेको र पुस्तक घटना र अनुभवको असाध्यै मीठो सँगालो भएको बताए। उनले पुस्तकभित्र कयौँपटक आफूले आफैँलाई प्रतिबिम्बित गर्न सकेको कुरा बताउँदै ‘पिपिरी’ एक आख्यानात्मक डायरी भएको बताए। पछिल्लो समय नेपाली साहित्यमा आञ्चलिक, प्रादेशिक, स्थानीय लवजको प्रयोग भिन्न र मीठो ढंगबाट हुन थालेको बताउँदै उपन्यासकार बसन्तले पनि यसमा स्थानिय लवज र गाउँले उक्तिहरुलाई बढी प्रयोग गरेको बताए। उपन्यासकार मीनराज बसन्तले आफूले एउटा बालकको आँखाबाट समाजको चित्रण गर्ने काम गरेको बताए।उपन्यासको प्रकाशन फिनिक्स बुक्सले गरेको हो भने यसको मूल्य ४५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology