विद्याको सम्झनामा रवीन्द्र : आफू दुखेर अरु हँसाउने मान्छे

पोखरा, २० फागुन – जीवनको आधा आकाश खस्यो, धारती फाट्यो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरपछि विद्या भट्टराईका आँखा अझै ओभाएका छैनन् । वक्य फुटेन । भक्कानो छुट्छ ।
गीतामा एउटा भनाइ छ, ‘वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ?’ जान त विद्याको जीवनबाट धेरै थोक गयो । पति रवीन्द्रसँगै सपना र योजनाहरु गए । उनैसँग गए जीवनका अन्तरंग र मिठो स्पर्श । सिउँदोमा हालेको एक चिम्टी सिन्दुरको रङ । रवीन्द्रको मृत्युसँगै गयो उनले गर्छु भनेका बाचाबन्धन ।
निधन विद्याको पतिको मात्रै भएको थिएन, दुई छोरा स्वराज र विराजको पिताको पनि भएको हो । तिनै छोरा, परिवार र रवीन्द्रले देखेका सपना र लक्ष्य प्राप्तिका लागि विद्याले आशाको दियो देखेकी छन् । सोमबार ७ दिने काजकिरिया सकिँदैछ ।त्यसको अघिल्लो दिन मालेपाटनस्थित घरमा पुग्दा समवेदना प्रकट गर्न आउनेहरुको भीड थियो । पीडाका बीच उनी पनि आउनेहरुसँग फाटफुट सम्वाद गर्न थालेकी थिइन् । रवीन्द्रसँग बिहे गरेको २१ वर्ष पुगिसकेको थियो । यो बीचमा रवीन्द्रको राजनीतिक भविष्य र परिकारका लागि विद्याले त्याग गरिन् । भर्भराउँदो विद्यार्थी आन्दोलनलाई बिट मारेर रवीन्द्रको सहयोगी बनिन् । रवीन्द्रलाई राजनीतिक बाटोमा अगाडि बढाउनकै लागि पनि उनले अर्को पेशा रोजिन्, अध्यापन । राजनीतिलाई पछाडि राखेर अध्यापन गर्दै परिवार र रवीन्द्रको राजनीति भविष्यका लागि सहयोगी बनिन् ।
आफ्नो लक्ष्य, योजना र धारणालाईसमर्पित गरेर अगाडि बढेकी विद्यालाई रवीन्द्रको निधनले बज्रपात पा¥यो । तर, अब भने शोकलाई शक्तिमा बदलेर परिवार, रवीन्द्रको चाहना र सपना पूरा गर्ने साहस जुटाउनु छ । विक्षित्त मनलाई थमथम्याउँदै पैदा गर्नुछ जाँगर । आइतबार अनलाइनखबरसँग रवीन्द्र अधिकारीसँगका जीवनका केही अन्तरंग, स्मृति, राजनीतिमा गरेको त्याग र भविष्यबारे कुराकानी गरिन् । रवीन्द्रसँगको भेट, विवाह, राजनीतिक जीवन र भविष्यबारे मनका कुरा खालेर विद्याले मन हलुका बनाइन् । प्रस्तुत छ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नि भट्टराईले व्यक्त गरेका भनाइ र अनुभूति
रवीन्द्रसँगको भेट र विवाह
दुवै जना विद्यार्थी आन्दोलनमा थियौं । उहाँ पोखरा, म काठमाडौंमा । २०५० सालतिर उहाँ–मेरो देखादेख भयो । चिनजान भयो । अनेरास्ववियुको केन्द्रीय कमिटीमा सँगै भयौं । म अखिलको महिला विभाग प्रमुख भएँ, उहाँ कोषाध्यक्ष । ११ जनाको सचिवालय बन्यो । हामी दुबै जना सचिवालयमा थियौं ।

त्यो बेला विद्यार्थी आन्दोलनको सहयोद्धा मात्रै थिएँ । विस्तारै साथीहरुले कुरा चलाउन थाले, तिमीहरुको जोडी मिल्छ भन्थे । साथीहरुबीच चर्चा भएको हामी दुबैले सुन्यौं । हामीले प्रेम ग¥यौं । २०५६ सालमा विवाह भयो । पछिल्लो अवधिमा उहाँको बाल्यकालदेखिकै साथी धनराज आचार्यले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुभयो । अरु साथीभाइले पनि विवाह होस् भन्ने चाहन्थे । तर, मेरो खुट्टामा समस्या थियो । भन्नेहरु भन्थे, ‘उनीहरुको प्रेम विवाहमा परिणत हुँदैन ।’ म पनि ठिकै छ नि त भन्थें । हामी एकअर्कालाई रचाउँथ्यौं । डेटिङ जाने, घुम्ने चाहिँ भएन । एक अर्कालाई आदर र सम्मान गथ्र्यौं । उहाँमा प्रेमप्रति समपर्ण थियो । उहाँ भन्नुहुन्थ्यो, विवाह ठूलो कुरा होइन, एकअर्का समर्पण र सम्मान ठूलो हो । विवाह हुन्छ कि हुँदैन भन्ने चिन्ता लिनुपर्दैन । एकअर्काले रेस्पेक्ट गर्छौं कि गर्दैनौं भन्ने मुख्य हो । दुई जनाको समझदारी भए विवाह जहिले पनि हुनसक्छ । म त्यति गहिरोसँग बुझ्दिनथें, जति उहाँले प्रेमलाई फराकिलो तरिकाले हेर्नुहुन्थ्यो । शायद त्यसबेला अरुका कुरा सुनेर प्रभावित पनि भएँ जस्तो लाग्छ । विवाहपछि उहाँले पनि कहिले काहीँ हाम्रो प्रेम अलिअलि अरुबाट प्रभावित भएजस्तो महसुस हुन्थ्यो भन्नुहुन्थ्यो ।
पारिवाारिक कारण राजनीतिक चेत
बाल्यकालदेखि नै राजनीतिसँग नजिक भएँ । ७ कक्षा पढ्दादेखि नै अखिल भनेको केहो भन्ने बुझिसकेको थिएँ । त्यो कारण मेरो दाइ (राजन भट्टराई) अखिलको नेता हुनुहुन्थ्यो । दाइबाटै प्रभावित भएँ । पुलिस पक्राउ गर्न आउन थालेपछि पञ्चायती व्यवस्था ठिक रहेनछ, बहुदलीय चाहिँदो रहेछ भन्ने बुझ्न थालेकी थिएँ । एलएलसी दिएर बसेका बेला ४६ सालको आन्दोलन चलिरहेको थियो । ४७ सालमा पद्मकन्या क्याम्पसमा पढ्न थालेपछि सक्रिय राजनीतिमा लागेँ । रवीन्द्र केन्द्रीय समिति सदस्य भइसक्नु भएको थियो । विवाहअघि उहाँ अखिलको महासचिव र म सचिव थिएँ । हामी कहाँ व्यक्तिगत कुरा पनि बढी चासो र चर्चा हुने चलन थियो । सचिवलायमा मेरो भोट निर्णायक थियो । कहिले काहीँ उहाँको र मेरो भोट एकै ठाउँमा पर्यो भने आरोप लाग्थ्यो, रवीन्द्रका कारण यसले यसो गरी । यसले मलाई एक खालको पीडा पनि भयो । मैले राजनीतिलाई जसरी लिएको थिएँ, त्यस्ता त होइन रहेछ । राजनीतिमा महिलाका पनि विचार हुन्छन्, दृष्टिकोष हुन्छन्, मुद्धा हुन्छन् भन्ने नठानिदोरहेछ । कहिले दाइसँग जोड्ने, कहिले प्रेमीसँग जोड्ने । मैले उहाँलाई मन पराएपनि विचार आआफ्नो हुन्छ नि त । महिलाको पनि स्वतन्त्र विचार हुन्छ भन्ने नलिएको महसुस गरेँ । त्यसपछि विद्यार्थी आन्दोलनमा नबस्दै राम्रो हुन्छ भनेर अखिलको सचिव भएको ३ महिनापछि अनेमा संघ गएँ ।
योगेशसँग सल्लाह गरेँ
अखिलभित्र बस्न अप्ठ्यारो महसुस भएपछि मैले योगेश (भट्टराई) दाइसँग सल्लाह गरेँ । मैले उहाँलाई भनेको थिएँ, दाइ अब मैले अखिलको राजनीति नगर्ने भएँ । मेरो चरित्रमा सँधैंभरि धाबा बोल्ने अवस्था बन्यो । मेरो स्वभाव फेरि अलि फरक थियो, म सहन सक्दिनँ । त्यसपछि अखिल नेपाल महिला संघको कार्यालयमा कार्यालय सचिवको रुपमा काम थालेँ । त्यहाँ कार्यरत हुँदाहुँदै ब्याचलरको रिजल्ट आयो । उहाँले हुन्छ, पढ भन्नुभयो । अब मास्टर गर्छु भनेर लागेँ । योगेश दाइसँगै फेरि सल्लाह गरें, मास्टर पढ्दापढ्दै विवाह भयो । विवाहपछि मास्टर डिग्री पढें । अब आर्थिक र पारिवारिक व्यवस्थापनका लागि म चाहिँ फरक फिल्डमा जाँदा ठिक हुन्छ भन्ने लाग्यो । मास्टर पास हुनेबित्तिकै २०५९ मै कलेजमा पार्ट टाइम पढाउन थालेँ ।
अध्यापनले मेरो आफ्नो वृद्धिविकास भयो भने अर्कोतर्फ त्यहीबीचमा छोरा हुर्कियो । उहाँ चाहिँ एक योजना बनाएर चल्ने मान्छे । उहाँले जसरी कामको योजना बनाउनुहुन्थ्यो, त्यसरी नै पारिवारीक योजना पनि बनाउनुहुन्थ्यो । यस्तो गरौं है, यो गर्दा के होला ? भनेर खासै सल्लाह गर्नुहुनथ्यो । बच्चाको योजना पनि त्यसरी नै भयो । २ वटा बच्चा रेखदेख गर्नमै समय बित्दोरहेछ । त्यतिबेला ग्रामिण आदर्श र सगरमाथा कलेज पढाउँथे ।
मैले कलेज पनि छोडेर एनजीओमा काम थालेँ । उहाँ लेखा समितिको सभापति हुँदा मैले एनजीओको जागिर खाइरहेकी थिएँ । हामी समय व्यवस्थापन गरेर चल्यौं । एनजीओको कााममा धेरै खटिनुपथ्र्यो । त्यसैले उहाँ पहिलो संविधानसभा सदस्य बन्दा धेरै समय दिन पाइनँ । उहाँ पनि आफ्नो कामका कारणले अरुलाई टचर दिनुहुन्नथ्यो । आफैं योजना नबाउने, कसलाई परिचालन गर्ने र कार्यान्वयन पनि आफैं गर्ने खालको मान्छे हुनुहुन्थ्यो । कहिल्यै यसो गर भनेर भन्नुभएन । म आफैलें देखेर यो काम गर्छु है भनेमात्रै हुन्थ्यो । बेलाबेलामा पोखरा चाहिँ भ्याएसम्म जानु है भन्नुहुन्थ्यो । त्यसपछि मेरो निरन्तर शैक्षिक क्षेत्र भयो, उहाँको राजनीतिक । फिल्ड नै फरक भएपछि क्यालेन्डर पनि मिलेन । तर, कहिल्यै गुनासो गर्नुभएन । मैले पनि तनाव दिने, बच्चालाई हेर्नुभएन, मलाई समय दिनुभएन भनेर कहिल्यै भनिनँ । विद्या, सार्वजनिक जीवन चाहिँ व्यक्तिगत हुँदो रहेनछ हेर न भन्नुहुनथ्यो ।
रवीन्द्र योजनाकार हो
मैले चिनेको रवीन्द्र अधिकारी योजनाकार हो । कुन ठाउँबाट कसरी काम गर्ने, त्यसलाई कसरी सफल गर्ने भनेर लाग्ने मान्छे । मलाई मान्छेले यसो भनेछन्, यसो गरेछन्, फलानोले यस्तो भन्यो, उस्तो भन्यो भनेर बहकिने मान्छे होइन उहाँ । आफ्नो लक्ष्यमा पुग्न आलोचना, आरोप र अवरोधबाट नरोकिने मान्छे हुनुहुन्थ्यो रवीन्द्र अधिकारी । आलोचनालाई चुनौतीको रुपमा लिने हो, अल्झिएर कामै नगर्ने भन्ने होइन । अवसर र अरु लक्ष्य चुम्ने आधार खोज्नेतिर लाग्ने सोच थियो । कहिले काँही उहाँले चुनौतीलाई बेवास्ता पनि गर्नुहुन्थ्यो । बाधाका रुपमा होइन, चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्ने हो भन्नुहन्थ्यो ।
मैले बुझेको रवीन्द्र अधिकारी, हरेक कुरालाई सहज रुपमा लिने र त्यसलाई कसैले असहज बनायो भने बेवास्ता गरिदिने मान्छे हो । जे मा पनि समस्या देख्ने, के होला, कसो होला भन्ने कहाँ अल्झिएर बस्नुहुन्छ भन्ने उहाँ धारणा थियो । बेलाबेला हाम्रो समाज किन सकारात्मक भएन भन्ने चिन्ता व्यक्त गर्नुहुन्थ्यो । म समाजशास्त्रकी अध्यापक पनि हुँ । त्यसैले होला, जेमा पनि समस्या देख्ने अविकसित देशको विशेषता नै हो कि क्या हो विद्या भनेर सोध्नुहुन्थ्यो । इमान्दार त हुँदैहो, आफ्नो वरिवरिका सिंगो जीवन पनि सम्पन्न र समृद्ध हिसाबले चल्नुपर्छ भन्ने सोच थियो । उहाँ जहिले पनि अरुको करिअरको चिन्ता गर्नुहुन्थ्यो । हामी धेरै घुम्न हिँड्दैनथ्यौं । श्रीमान श्रीमती हुँदा पनि साथी थियौं । फोन पनि धेरै गफ हुँदैनथ्यो । तर, हामीबीच समझदारी थियो, विश्वास थियो । एकअर्काप्रति असाध्यै प्रेम थियो । एकअर्कामा आदर थियो । मेरो आज यस्तो छ, भ्याउँछौं कि भ्याउँदैनौं भन्नेबाट होइन आज तिम्रो के छ भन्नेबाट कुराकानी हुन्थ्यो । समस्यामा अल्झिएर, रन्थनिएर बस्ने मान्छे होइन उहाँ ।
आफू दुखेर अरुलाई हँसाउने मान्छे
मैले पारिवारिक रुपमा कहिल्यै अभाव महसुस गरिन । हाम्रो बिहे हुँदा भाइहरु आर्थिक हिसाबले बलियो भइसक्नुभएको थियो । घरमा आमाले पनि भन्नुहुन्छ, उसले हिजो सानोमा धेरै पारिवारिक समस्या खेपेको छ ।’ राजनीतिक सहयात्रामा पनि उहाँले विभिन्न कालखण्डमा विभिन्न समस्या खेप्नुभयो । पारस शाहविरुद्ध हस्ताक्षर संकलन गर्दा म पनि आन्दोलन हिँडे । तर, त्यत्रो ५ लाख हस्ताक्षर गर्दा भोग्नु परेको एउटा पनि समस्या घरमा देखाउनु भएन । कार्यक्रम हुँदा फलानो ठाउँमा जानु है भन्नुहुन्थ्यो । तर, आफूले सामना गर्नु परेको चुनौतीहरु देखाउनु भएन । अर्को ऋतिक रोशन काण्ड घट्यो । त्यतिबेला म पोखरामा थिएँ, उहाँ काठमाडौंमै । त्यतिबेलाको काण्डमा उहाँ झन्डै मारिनुभएछ तर, मलाई भन्नुभएन । कार्यक्रममा गोली चल्दा अरुले दाइ भाग्यले बाँच्नुभयो भनेर बताउँदा उहाँले सामान्य हो, चिन्ता मान्नु पर्दैन भन्नुभयो । राम्रा कुरा बताउने तर, आफ्नो समस्या बताएर भरसक अरुलाई तनावमा दिन नचाहने स्वभाव थियो । २०६२-०६३ को आन्दोलनमा चाहिँ उहाँ पोखरा हुनुहुन्थ्यो, म काठमाडौं । उहाँ जेल पर्नुभयो । त्यतिबेला पनि मैले पछि मात्रै थाहा पाएँ । मैले थाहा पाइहाले ठिकै छ, नत्र समस्या बताएर तनाव दिनुहुँदैन भन्ने सोच्नुहुन्थ्यो । उहाँ आफू दुखेर अरुलाई हँसाउने मान्छे ।
देश परिवर्तनको सपना
मैले चिन्दादेखि नै उहाँ देश परिवर्तन गर्ने सपना देखेको मान्छे हो । सांसद भएपछि पनि हामीप्रति जनताको अपेक्षा धेरै छ, त्यसैले धेरै काम गर्नुपर्छ भनेर लाग्नुभयो । समृद्ध नेपालको परिकल्पना थियो । त्यही विषयमा किताब पनि लेख्नुभयो । समृद्ध नेपाल निर्माण र आर्थिक रुपमा निर्भर राज्य निर्माण गर्ने, कुन कुन क्षेत्रले हाम्रो अर्थतन्त्रलाई धान्न सक्छ भनेर खोजी हुनुपर्छ भनेर लाग्नुहुन्थ्यो । तीन पटक सांसद बनिसकेपछि यसपाली त पक्कै मन्त्री बनाउँछन् भन्ने हल्ला थियो । तर, पर्यटनमन्त्री नै बनाउँछन् भन्ने थाहा थिएन । लेखा र विकास समितिको सभापति पनि भइसकेकाले अर्कै मन्त्रालय पर्छ कि भन्ने थियो, पर्यटन पर्यो । विकास प्रेमी नेतालाई पर्यटन मन्त्रालय सुहाउँदो पनि थियो । कार्ययोजना बनाइरहँदा सम्बन्धित क्षेत्रका विषयमा कुरा आउँदा छलफल गर्नुहुन्थ्यो । मलाई कहलिेकाहीँ कार्ययोजना हेरिदिनु भन्नुहुन्थ्यो । उहाँ निरन्तर देश परिवर्तन र विकास निर्माणकै पक्षमा योजना बनाउँदै, कार्यन्वयनमा लैजान खटिनुभयो । समृद्ध नेपालको सपना देखिरहनुभयो ।
छोराहरुले सकेजति पढ्नू
उहाँ चाहनुहुन्थ्यो, मैले पिएनडी गरोस् । मेरो पिएचडी अलि डिला भयो भन्ने लाग्थ्यो उहाँलाई । अलि पहिल्यै गर्नुपथ्र्यो भन्ने थियो । उहाँको पहिलो प्राथमिकता नै शिक्षामा थियो । शिक्षा पछि बल्ल आत्मनिर्भरको विषयमा सोच्नुहुन्थ्यो । मान्छे स्किलफूल हुनुपर्छ भन्ने उहाँको मनसाय थियो । सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेपछि अरु अवसरका बाटो खुल्छन् भन्ने उहाँको भनाइ थियो । जर्नलहरु लेख, किताब निकाल भन्नुहुन्थ्यो । प्राज्ञिक र वौद्धिकता विकासलाई प्राथमितामा राख्नुहुन्थ्यो । बच्चाहरुको हकमा पनि त्यही हो, उनीहरुलाई धेरैभन्दा धेरै पढाउने । विज्ञता हासिल गरेपछि अवसर आफैं आउँछ भन्नुहुन्थ्यो । त्यही सपनाअनुसार छोराहरुको भविश्यका लागि लाग्ने छु ।
वाइडबडीबारे सोधेकी थिएँ
विकास समितिदेखि पर्यटनमन्त्रीसम्म आइपुग्दा विकास योजना, उहाँका सपनाबारे सल्लाह हुन्थ्यो । पछिल्लो समय मेरो कलेज साँझ थियो । आज उहाँलाई दिनभरि समय दिन्छु भनेर बस्थें । म उहाँसँग क्वाटरमा सँगै बसें । जनतासँग सम्बन्ध हुने भएकाले पनि म त्यो मेन्टेन गर्न पनि म क्याटर बस्थें । पर्यटनमन्त्री हुँदा हामीबीचमा धेरै कुरा सेयरिङ हुन्थ्यो । जतिबेला सम्पति विवरण सार्जननिक भयो, त्यहाँदेखि नै उहाँलाई विवादमा पारियो । हाम्रो बीचमा किन यस्तो भइरहेको छ भन्ने छलफल हुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, गल्ती नगरेपछि डराउनु पर्दैन । कतिको चित्त पनि दुखाएँ हुँला, समय दिन पनि नसकेको हुँला । तीन–तीन पटक चुनाव जितिसकें । राजनीतिमा एक खालको प्रतिस्पर्धी पनि हुँदारहेछन् । पब्लिक जीवन भएपछि कतिपय कुरा गल्ती नभए पनि आरोप लाग्छन्, पीर नगर भन्नुहुनथ्यो । वाइडबडीको सन्दर्भमा मैले एक दिन सोधेकी थिएँ । तपाईंले केही गर्नुभएको भए मलाई नडाँट्नुुस् भनेकी थिएँ । उहाँले मैले कहाँनेर त्यस्तो गर्न सक्छु भन्नुहुन्थ्यो । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले काहीँ हस्ताक्षर गरेको छु, न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहान आउने थिएन, भन्नुहुन्थ्यो । पटक–पटक सोध्नु राम्रो हुँदैन । म आफैंँ विश्वस्त थिएँ, यो सबै आरोप मात्र हो, आक्षेप मात्र हो ।
परिस्थिति आएछ भने बोलौंला
हुन त म कुनैबेला सक्रिय राजनीतिमा थिएँ । संगठन र पाटीमा क्रियाशील थिएँ । राजनीतिलाई अहिले पनि नजिकबाट हेरिरहेको छु । तर, अहिले पीडा भुल्नै सकेको छैन । यो बेला मैले धेरै पछिसम्म सोच्न सकिसकेको छैन । मिडियामा विभिन्न चर्चा पनि भएका छन् । तर, राजनीतिमा सक्रिय हुने अहिलेसम्म केही सोचिसकेको छैन । परिवारमा पनि सरसल्लाह भएको छैन । त्यसैले अहिले नै त्यो विषयमा केही नबोलौं । बोल्नै पनि परिस्थिति आएछ भने, त्यो बेला बोलौंला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology