हिमालपारी हिउँको कहर (फोटो फिचर सहित)

  • मुस्ताङमा विकास आयोजना ठप्प : हिउँमा पुरिए जंगली जनावर र चौरी मरे
  • म्याग्दी, २२ फागुन – करिब दुई सातासम्मको निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ । विकास निर्माणको काम प्रभावित हुनुका साथै लोपोन्मुख अवस्थामा रहेका जंगली जनावर र चौंरीहरु पनि हिउँमा पुरिएर मरेका छन् भने त्यहाँका कृषकलाई लाखौंको क्षति भएको छ । मुस्ताङमा संचालित स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प छन् ।
    यसवर्ष फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए । दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदूर चिसोले काम गर्न नसकेपछि फर्किएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ ।
    तयारी अवस्थामा रहेका चारवटा पक्की पुलको ढलान गर्ने काम पनि हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए । आयोजनाको काम एक महीनापछि धकेलिएको उनको भनाइ छ । जोमसोम-कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदूर फर्किएको बताए ।
    विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । मुस्ताङका पाँचवटा स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् । बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतीक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ । कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा पुसदेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । हिउँ पन्छाएपछि सोमबार कागबेनी–मुक्तिनाथ सडक खुलेको छ । जाडो छल्न बेँशी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन् । चरनको अभावले चौंरीगाई, भेडा र च्याङ्ग्रा मर्न थालेका छन् । मृग, घोरल, कस्तुरी मृगजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)की रेञ्जर धनु गुरुङले बताइन् ।
    उता हिमपातका कारण उपल्लो मुस्ताङ र छिमेकी चीनको तिब्बतसंग जोडिएको सीमावर्ती क्षेत्रमा कस्तुरी,मृग,घोरल लगाएतका वन्यजन्तुहरु हिउँमा पुरिएर मरेका स्थानीय टकसर लोवाले जानकारी दिए । एक्याप क्षेत्रमा पर्ने मुस्ताङमा घरपालुवा र जंगली जनावर मरेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको तल्लोदेखि माथिल्लो क्षेत्रसम्म ४ सय ७४ चराचुरुङ्गी सहित हिमचितुवा,कस्तुरी,मृग,जंगली घोडा आदि पाइन्छन् ।
    चरन क्षेत्रमै मरे चौंरी र भेडा अत्यधिक हिमपातका कारण हिउँमा पुरिएर चरन क्षेत्रमा नै ठूलो संख्यामा चौरीगाई र भेडाच्याङ्ग्रा मरेका छन् । छिमेकी देश चिनसंग जोडिएको कोराला नाका आसपासका गाउँमा बाख्लो हिमपातका कारण चरनक्षेत्रमा ५० भन्दा बढी चौरीगाइ र भेडाच्याङ्ग्रा मरेका स्थानीयले बताएका छन् ।
    लगातारको हिमपातसंगै चरन क्षेत्रमा पुरिएको अवस्थामा चौरीगाई र भेडाच्याङ्ग्रा भेटिएको स्थानीयलाई उद्घृत गर्दै पेमा गुरुङले बताइन् । लोमान्थाङ,छोसेर,छोन्हुप लगाएतका चरन क्षेत्रमा पशु चौपायाँ हिउँमा पुरिएर मरेका भएपनि क्षतिको पूर्ण तथ्याङ्क भने प्राप्त भैसकेका छैन । स्थानीयका अनुसार अत्यधिक चिसोका कारण १५ दिनमा ५२ ओटा चौरीगाई मरेको अवस्थामा भेटिएका छन् । हिमपातका कारण उपल्लो मुस्ताङमा रहेका भेडाच्याङ्ग्राको गोठमा समेत क्षति भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जोड्ने सडक समेत सुनसान छ । संचार सम्पर्क नभएका कारण स्थानीयले पशु चौपायाँको विवरण संकलन गरी सम्वन्धित निकायमा पुर्याउन सकेका छैनन् । चरन क्षेत्रमा छोडिएका चौंरी र याकहरु गोठसम्म फर्कनसक्ने अवस्था नभएकाले कृषकले पशु चौंपायाँ आवतजावत गर्न मिल्ने गरी ट्याक खोल्ने तयारी गरको छन् ।
    तस्वीर सौजन्य : पेमा गुरुङ

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology