दुःखमा फुलेको फूल

कला साहित्यलाई पीडा र तनावबाट मुक्ति दिने उपयुक्त माध्यमका रूपमा लिने गरिन्छ । तर, त्यही कला, साहित्यका सर्जकहरू भने तनावमा बाँचेका हुन्छन् । त्यतिमात्रै होइन, उनीहरूले आत्महत्यासम्मको बाटो रोजेको देखिन्छ । कला, साहित्यको विश्व इतिहासमा विभिन्न तनावपूर्ण जीवनका कारण अर्नेस्ट हेमिङ्वे, भर्जिनिया उल्फ, सिल्भिया प्लाथजस्ता चर्चित लेखकहरूले आत्महत्या गरे । यसको अर्थ हो– सेलिब्रिटीहरूको जीवन बाहिर देखिएजस्तो सहज र रमाइलो हुँदैन ।
जीवनका विभिन्न आयामलाई राम्रोसँग बुझ्न सक्ने साहित्यकार तथा कलाकारहरूले नै जीवनबाट विरक्तिएर आत्महत्याको बाटो रोज्नुले आमपाठकलाई झन् निराशातर्फ डो¥याउन सक्ने केही मनोविश्लेषकहरूको बुझाइ छ । हेमिङ्वे, उल्फ र प्लाथजस्ता साहित्यकारले मृत्युअगाडि यथेष्ट ख्याति कमाइसकेका थिए । यी लेखकहरूबीच पनि प्लाथको जीवन एकदमै निराशापूर्ण र तनावग्रस्त थियो, जसले गर्दा उनले ३० वर्षको कलिलो उमेरमै आत्महत्याको बाटो रोजिन् । प्लाथको मृत्युले विश्वसाहित्यलाई ठूलो क्षति पुग्यो ।
छोटो समयमै उनले कालजयी रचना सिर्जना गरेकी छन् । उनका कविता तथा कथा अहिले पनि उत्तिकै चर्चामा रहने गरेका छन् । त्यसो त उनी आफ्ना पति अंग्रेजी कवि टेड ह्युजका कारण पनि चर्चामा आउँथिन् । तर, पनि उनी आफैंसक्षम कवि तथा कथाकारको रूपमा स्थापित थिइन् । एकमात्र उपन्यास ‘द बेल जार’को चर्चा पनि कम छैन । उनकै जीवनमा आधारित उपन्यासलाई विभिन्न दृष्टिकोणबाट व्याख्या, विवेचना गर्ने काम अहिले पनि भइरहन्छ ।
सन् १९३२ मा अमेरिकाको बोस्टनमा जन्मिएकी प्लाथको जीवन अत्यन्तै उतारचढावले भरिएको छ । २० वर्षको उमेरबाटै डिप्रेसनको सिकार भएकी प्लाथलाई टेड ह्युजसँगको सम्बन्धबिच्छेदले झनै तनावमा पु¥याएको थियो । कतिपयले त प्लाथको मृत्युको कारण ह्युज नै भएको ठान्छन् ।
ह्युजले प्लाथका अन्तिम जर्नलहरू जलाएको आरोप लागेको थियो र उनले त्यस आरोपलाई स्वीकारेका पनि छन् । ह्युजले छोराछोरी प्लाथको जर्नल पढेर दुःखी नहोऊन् भनेर आफूले नष्ट गरेको बताएका थिए । ती जर्नलहरू प्लाथ र ह्युजबीचको सम्बन्धको बारेमा थिए । कतिपय समीक्षकहरू ती जर्नल प्लाथका कविताभन्दा धेरै सरल र मार्मिक भएको बताउँछन् । ती जर्नलले आफ्नो छविमा आँच आउने सम्भावना देखेर ह्युजले नष्ट गरेको आरोप उनीहरू लगाउँछन् ।
प्लाथका जीवनी लेखकहरूका मत पनि बाझिएका छन् । कसैले उनको मृत्युको कारण ह्युजको अर्की महिला असिया वेविलसँगको सम्बन्ध भएको बताएका छन् । जीवनी लेखकहरूले पनि कतिपय विषयवस्तुहरूलाई आफूअनुकूल नै प्रस्तुत गर्छन् ।
प्रसिद्ध लेखक मिलान कुन्देराले बायोग्राफरहरूको बारेमा गरेको टिप्पणी सुन्दा रमाइलो लागे पनि मननयोग्य छ । उनी भन्छन्, “बायोग्राफरहरू आफ्नै श्रीमतीसँगको अन्तरंग सम्बन्धका बारेमा अनभिज्ञ हुन्छन् तर उनीहरू फौकनर वा स्टेन्डहलका बारेमा सबै थोक जानेको दाबी गर्छन् ।”
उनको यो भनाइमा सत्यता भए पनि लेखक तथा साहित्यकारहरूको नजिकमा रहेर काम गरेका वा उनीहरूलाई नजिकबाट नियालेका बायोग्राफरहरूका जीवनी भने सत्यको नजिक रहेका हुन्छन् । प्लाथ र ह्युजका बारेमा लेखिएका थुप्रै पुस्तक छन् । जोनाथन बेटले ‘टेड ह्युजः द अनअथोराइज्ड लाइफ’मा ह्युज र प्लाथको सम्बन्ध बिग्रनुका तीन प्रमाण उल्लेख गरेका छन् । उनका अनुसार ह्युज र प्लाथको भेट क्याम्ब्रिजमा आयोजित एक पार्टीमा भएको थियो । पार्टीमा रक्सीले मातेका ह्युजले चुम्बन गर्न खोजेपछि प्लाथले गालामा रगत नै निस्कने गरी टोकिदिएको बेटले लेखेका छन् । त्यसपछि ह्युजले हनिमुनका बेला प्लाथको घाँटी थिचेको कुरा पनि पुस्तकमा उल्लेख छ । बेटले यसको स्रोत भने खुलाएका छैनन् । त्यस्तै, असिया वेविलसँगको अनैतिक सम्बन्धलाई बेटले तेस्रो कारणको रूपमा उल्लेख गरेका छन् ।
प्लाथको वैवाहिक जीवन छोटो भए पनि सुखद भने हुन सकेन तर पनि उनका कविता भने चर्चित बने । प्लाथ अरु बालबालिकाभन्दा सानै उमेरमा बोल्न सुरु गरेको र उनले पाँच वर्षकै उमेरदेखि कविता लेख्न सुरु गरेको बताइन्छ । प्लाथका बुवा ओटो प्लाथ बोस्टन विश्वविद्यालयमा बायोलोजीका प्राध्यापक थिए । सन् १९३५ तिर उनी गम्भीर बिरामी भए । उनले आफूलाई फोक्सोको क्यान्सर भएको विश्वास गरे र तत्कालीन समयमा प्रभावकारी उपचार पद्धतिको विकास नभएको भन्दै उनले उपचार गराउन मानेनन् । सन् १९४० मा अत्यन्तै बिरामी भएपछि उनलाई डक्टरकहाँ लगियो । उनलाई क्यान्सर नभएको र मधुमेह भएको पत्ता लाग्यो । बढ्दो संक्रमणका कारण खुट्टा नै काट्नु प¥यो । केही महिना अस्पताल बसेका ओटोको मृत्यु सन् १९४० नोभेम्बर ५ का दिन भयो । त्यतिबेला प्लाथ ८ वर्षकी थिइन् । बुवाको मृत्युको खबर सुनाइएपछि उनले ‘भगवानसँग कहिल्यै नबोल्ने प्रण’ गरेकी थिइन् ।
सन् १९४१ मा प्लाथको पहिलो कविता ‘बोस्टन हेराल्ड’मा प्रकाशित भएको थियो । आठ वर्षकै उमेरमा उनको कविता एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएको थियो । सन् १९४२ मा अमेरिका दोस्रो विश्वयुद्धमा संलग्न भएपछि अमेरिकी समाजका विविध पक्षमा व्यापक परिवर्तन आएको थियो । प्लाथकी आमा औरेलियालाई बोस्टन विश्वविद्यालयले नियुक्त ग¥यो । उनले मामाघरतर्फका हजुरबुवा–हजुरआमासँग बसेर प्रारम्भिक शिक्षा पूरा गरिन् । उनलाई बुवाको मृत्यले असह्य पीडा दिएको थियो । बुवाले एक किसिमको आत्महत्या नै गरेको ठान्थिन् उनी । बुवाले चाहेको भए उनको मृत्यु त्यति चाँडो नहुने भन्थिन् उनी ।
उनका ‘ड्याडी’ लगायतका कवितामा बुवालाई सानै उमेरमा गुमाउनुपर्दाको पीडा, आक्रोश र बुवाप्रतिको माया देख्न सकिन्छ । विद्यालय तथा विश्वविद्यालयमा रहँदा प्लाथले उत्कृष्ट कविता तथा कथाहरूको रचना त गरिन् तर आफ्नो पीडालाई भुल्न सकिनन् । उनी मानसिक रूपमा निकै तनावमा बाँचिन् । उनलाई निद्रा नलाग्ने, डिप्रेसनलगायत पटक–पटक आत्महत्याको विचारले ग्रस्त बनायो । उनले आफ्नो जर्नलमा सबै समस्या र जिम्मेवारीबाट मुक्त हुन चाहेको उल्लेख गरेकी छन् । त्यस्तै, उनले सबै समस्याको समाधान आत्महत्या हुने भन्दै आत्महत्याको सोच बनाएको पनि उल्लेख गरेकी छन् ।
प्लाथकी आमाले उनको खुट्टामा दाग देखेर उपचारका लागि आग्रह गर्दा उनले ‘म मर्न चाहन्छु’ भनेकी थिइन् । त्यसपछि उनलाई मनोचिकित्सककोमा लगियो । धेरैपल्टको परामर्शपछि उनलाई इलेक्ट्रिोसक थेरापी पद्धतिद्वारा उपचार सुरु गरियो । तर, त्यसपछि उनलाई अनिद्राको समस्याले झनै सतायो । उनी तीन हप्तासम्म निदाउन सकिनन् । त्यसपछि उनले अत्यधिक स्लिपिङ ट्याब्लेट सेवन गर्न थालिन् । प्लाथले अचम्मका व्यवहार देखाउन थालेकी थिइन् । एकपटक डायलन टमसलाई भेट्न नपाएपछि उनी एकदमै विरक्तिएकी थिइन् भनिन्छ ।
उनी धेरै दिनसम्म यता र उता गर्दै भौतारिरहिन् । एकपटक कार्यक्रम सकिएलगत्तै होटलमा आएर उनले साथीहरूसँग आफूले आफ्ना सबै कपडा छतबाट फालेको भन्दै कपडा मागेकी थिइन् । उनी मनोरोगले निकै ग्रस्त थिइन् ।
सन् १९५३ को अगस्टमा प्लाथले घरमा कोही नभएको मौका छोपी स्लिपिङ ट्याब्लेट राखिएको दराज फोरिन् र एउटा नोट लेखेर घर छाडिन् । उनी घरबाट धेरै टाढा गइन् र एउटा साँघुरो स्टोर कोठामा छिरेर ४० वटा ट्याब्लेट खाइन् । जब परिवारले उनी हराएको थाहा पायो, खोजी कार्य तीब्र पारियो । आफन्तजन, साथीभाइ र स्थानीय अधिकारीहरू खोजी कार्यमा संलग्न भए । भोलिपल्ट उनी हराएको खबर पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरे । औषधिको डब्बा नै हराएको देखेपछि उनकी आमा झनै चिन्तित भइन् । दुई दिनपछि प्लाथ आफ्नै वान्ताले लतपतिएको र अर्धचेत अवस्थामा भेटिइन् । साथीहरूको आर्थिक तथा भावनात्मक सहयोगले उनी करिब तीन महिनापछि पुरानै अवस्थामा फर्किन सफल भइन् र अध्ययनलाई निरन्तरता दिइन् ।
अमेरिकामा स्नातक तहको अध्ययन पूरा गरेसँगै उनलाई क्याम्ब्रिजले छात्रवृत्ति प्रदान ग¥यो । उनी अध्ययनका लागि बेलायत गइन् तर उनी फेरि मानसिक तनावले घेरिइन् । त्यसो त क्याम्ब्रिजमा रहँदा घुम्ने, साथीहरूसँग रमाइलो गर्ने पनि गरिन् । यति हुँदाहुँदै पनि उनी डिप्रेसनको पुरानै शिकारमा परिन् ।
प्लाथले अमेरिकी प्रेमीसँग फ्रान्स र इटालीमा क्रिसमस र नयाँ वर्ष मनाइन् पनि । उनले सम्बन्धलाई अगाडि बढाउन चाहन्थिन् तर प्रेमीले आफू अर्कै युवतीसँग सम्बन्धमा रहेको बताएपछि उनी झन् तनावमा आएकी थिइन् । सन् १९५६ मा आफ्नी हजुरआमालाई पेटको क्यान्सर भएको खबर र आफ्नै रचनाहरू एकपछि अर्काे प्रकाशकले अस्वीकार गर्नाले पनि उनी तनावमा परिन् ।
क्याम्ब्रिजको एउटा कार्यक्रममा टेड ह्युजसँग भेटेपछि दुईबीच प्रेम अंकुरायो । दुबैले एक–अर्कालाई समय दिन थाले । प्लाथले ह्युजसँग छुट्टीहरू मनाउन थालिन् । उनीहरू विवाह गर्ने तर प्लाथको शैक्षिक भविष्य तथा छात्रवृत्तिमा असर पुग्न सक्ने भन्दै विवाहलाई गोप्य राख्ने सहमति गरे । उनीहरूले सन् १९५६ मा प्लाथकी आमा लन्डन आएको मौकामा विवाह गरे । विवाहपछि उनीहरू पेरिस, म्याड्रिड र बेनिनडोर्म मज्जाले घुमे । सोही घुमाइका क्रममा प्लाथले ‘फिएस्ता मेलन्स्’, ‘स्पाइडर’, ‘एपिटाफ फर फायर एन्ड फ्लावर’जस्ता सशक्त कविता रचना गरिन् ।
सन् १९५६ को सेप्टेम्बर उनी कहाँ थिइन् भन्ने कुरा रहस्यमयी छ भनिन्छ । त्यसबेला उनी गर्भवती भएको र आफू अझ अविवाहितका रूपमा रहनुपर्ने बाध्यताले गर्भपतनका लागि अमेरिका गएकी थिइन् भनिन्छ । बेलायत फर्कने बेला उनले जहाजमा एक उदीयमान कविलाई भेटिन् र उनीहरू छिट्टैसाथी बने । ती साथीले ‘चलचित्र हेर्न जाऊँ’ भन्दा ‘एकदिन म तिमीजस्तै कविसँग बिहे गर्नेछु र आत्महत्या गर्नेछु’ भनेकी थिइन् ।
केही महिनामा उनी क्याम्ब्रिज फर्किइन् र आफ्ना बाँकी रहेका काम पूरा गरिन् । ह्युजको लिटरेरी एजेन्टका रूपमा पनि काम गरिन् । प्लाथलाई अमेरिकाको स्मिथ कलेजले अध्यापनका लागि आग्रह ग¥यो र उनले सहजै स्वीकारिन् पनि । उनले कलेज पढाउन थालेसँगै लेखनमा समय दिन सकिनन् । लेख्दै गरेको उपन्यासलाई अगाडि बढाउन नसक्दा उनी निराश भइन् । उनको लेखनमा अभिरुचि पनि घट्दै गयो । अर्कातिर ह्युजको ‘द हक इन द रेन’ प्रकाशनसँगै प्रसिद्धि चुलिँदै थियो । प्लाथलाई आफ्ना श्रीमानको बढ्दो ख्याति देखेर लोभ लाग्न थालेको थियो । आफ्नै कारणले ह्युजको प्रसिद्धि बढेको र आफूले लेख्न नसकेको भन्दै प्लाथले चर्चित कवि रोबर्ट लोवेलसँग ‘राइटिङ क्लास’ लिन थालिन् । त्यसबेला उनको भेट जर्ज स्टारबक र एन सेक्सटनसँग भयो । उनी सेक्सटनको लेखनबाट प्रभावित भएकी थिइन् । सेक्सटनको जीवनशैलीबाट पनि प्लाथ अभिप्रेरित थिइन् । सेक्सटन चेन स्मोकर थिइन् र आफ्नै जुत्तालाई एस्ट्रेका रूपमा प्रयोग गर्दथिन् ।
प्लाथले आफ्नो उपचार भएकै अस्पतालको मनोचिकित्सा विभागमा काम पनि गरिन् । सन् १९५९ मा उनी ह्युजसँगै लन्डन फर्किइन् । उनी खुसी पनि थिइन् किनकि उनले ‘द कोलोसस’ जस्ता राम्रा कविता रचना गरेकी थिइन् । सन् १९६० मा उनले फ्रिदालाई जन्म दिइन् र लन्डनको महँगाइ छल्न डेभोन सरिन् । सोही क्रममा उनले ‘द बेल जार’को काम लगभग सकाएकी थिइन् । उनको उपन्यास जेडी सेलिन्जरको ‘क्याचर इन द राइ’बाट प्रभावित थियो । सन् १९६२ मा छोरा निकोलसलाई जन्म दिएपछि प्लाथको जीवनमा अझ संकट आइलाग्यो । आर्थिक रूपमा छोराछोरी हुर्काउन निकै कठिन भयो उनलाई । ह्युजले पनि आफ्ना कवितामार्फत प्लाथलाई रिस पोख्न थाले । छोराछोरी हुर्काउँदै एकान्त डेभोनमा बस्दा प्लाथले निकै सुन्दर कविता सिर्जना गरिन्, जुन उनको प्रसिद्ध कविता संग्रह ‘एरियल’मा प्रकाशित छन् ।
प्लाथका ‘अक्टुबर कविताहरू’ उनलाई ह्युजले छोडेपछि लेखिएका हुन् । त्यसमा ‘ड्याडी’, ‘फिभर १०३’, ‘पुर्दाह’जस्ता सशक्त कविता छन् । सुरुमा यी कविता धेरै पत्रिकाले छाप्न अस्वीकार गरेका थिए । १९६२ मा नयाँ जीवनको सुरुवातका लागि उनी फेरि लन्डन फर्किइन् तर शताब्दीकै चिसो मौसमका कारण उनी चिन्तित भइन् । सन् १९६३ फेब्रुअरी ११ का दिन प्लाथले छोराछोरीलाई दूध खुवाएर झ्यालका सिसा फुटाइन्, ढोका बन्द गरिन् र किचेनमा गएर ग्यास खोलिन् अनि आत्महत्या गरिन् । उनको आत्महत्याको ६ वर्षपछि असिया वेविलले पनि आत्महत्या गरिन्, जसका लागि ह्युजले प्लाथलाई छोडेका थिए । प्लाथका वैज्ञानिक छोरा निकोलस ह्युजले पनि अमेरिकाको अलास्कामा सन् २००९ मा झुन्डिएर आत्महत्या गरे ।
सिल्भियाको मृत्यु स्वाभाविक थिएन । उनले आत्महत्या गरे पनि आजसम्म अनेकौं तथ्यहरू बाहिर आइरहेका छन् । जम्मा ३० वर्ष मात्रै बाँचेकी प्लाथले आफ्ना कविता तथा कथाहरूमा व्यक्तिगत जीवनमात्रै नभई सामाजिक विषयवस्तुलाई पनि प्रस्तुत गरेकी छन् । उनका कविताहरूको व्याख्या विभिन्न दृष्टिकोणबाट गरिन्छ । उनका कवितामा नाजी र हिटलरका ज्यादतीहरूमाथि गरिएको खरो आलोचना देख्न सकिन्छ । साथै, सानै उमेरमा बुवालाई गुमाउनुपर्दाका पीडा र ह्युजसँगको वैवाहिक सम्बन्धका प्रसंग देखिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology