संघर्षबाट खारिएर सफल भएका म्याग्देली नौ महिला

म्याग्दी, २५ फागुन – शुक्रवार १ सय नबौं अन्तराष्ट्रिय महिला श्रमिक दिवस । महिलाहरुको संर्घष र उनीहरुको योगदानलाई कदर गर्दै प्रेरणा लिने दिन । दमित, शोषित र हिंसा पीडित महिलाहरुलाई न्याय र प्रगतिका लागि हौंसला प्रदान गर्ने दिन । हिमाली जिल्ला म्याग्दीमा पनि आज १ सय नबौं अन्तराष्ट्रिय महिला श्रमिक दिवस भव्यसंग मनाइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले महिला उत्पीडन र असमानताका कुराहरु बेजोडसंग उठाएपनि म्याग्दीमा महिलाहरुको योगदानका वारेमा खासै कुरा उठ्न सकेन ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल,सिर्जना शक्ति संसारमा कहिल्यै हुदैन विफल’ यो कवितांश म्याग्दीका केही महिलाहरुका लागि अत्यन्त सत्य सावित भएको छ ।
जीवनको उर्वर समयमा गरेको संघर्ष र भोगेको पीडाकै कारण आज म्याग्दीका केही महिलाहरुले पुरुषहरुलाई जितेर अगाडी बढेका मात्र छैनन् समाजमा उदाहरणीय काम समेत गरेर चर्चाको शिखरमा पुगेका छन् । तिनै महिलाहरुमध्ये प्रतिनिधि महिला पात्रको रुपमा यहाँ नौ जना सफल म्याग्देली महिलाहरुको संक्षिप्त जानकारी प्रश्तुत गरिएको छ ।
थममाया थापा
नेपाल सरकारका महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा दशकौंदेखि राजनीतिमा सक्रिय छन् । विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा लागेर अनेकौं पीडाहरु भोग्नु भएकी थापा म्याग्दीको लागि मात्रै होइन देशकै लागि एक उदाहरणीय र नमूना महिला हुन् । स्वच्छ छबी र शालिन व्यक्तित्वका कारण म्याग्देली जनताको मनमनमा बसेकी थापा राजनीति र समाजसेवाको क्षेत्रमा सक्रिय छन् ।
नरदेबी पुन 
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनको ४० औं वसन्त राजनीति र समाज सेवामा नै वितेको छ । कक्षा ७ मा पढ्ने समयदेखि नै बामपन्थी राजनीतिमा सक्रिय हुँदै जिल्ला कमिटीमा प्रवेस गरेकी पुन राजनीतिमा धेरै हण्डर आएकी महिला मध्येकी एक हुन् । शिक्षकको जागिर छोडेर राजनीतिमा होमिएकी पुन जिल्लामा निडर र संघर्षशील महिलाका रुपमा चिनिन्छन् । राजनीति गर्दागर्दै बिबाहा समेत गर्न विर्सेकी पुनको जीवन कथा संघर्ष नै संघर्षले भरिएको छ ।
जमुना आचार्य 
छिमेकी जिल्ला पर्वतको मिलनचोककी स्थायीवासी र म्याग्दीलाई कर्मथलो बनाएकी जमुना आचार्य म्याग्देली महिलाहरुका लागि मात्रै होइन गण्डकी प्रदेशभरी नै चर्चित नाम हो । शारिरिकरुपमा अपाङ्गता भएर पनि समाजसेवा र महिला उत्थानका लागि संघर्षशील आचार्य जीवन विमाको क्षेत्रमा सफल महिला हुन् । उनी सामाजिक क्रियाकलापमा सक्रिय छन् ।
थमसरा पुन
थमसरा पुन दुर्गम धौलागिरि गाउँपालिकाकी अध्यक्ष हुन् । दुर्गम गाउँमा जन्मेर,भीर,पाखापखेरा संग लड्दै भिड्दै उच्च राजीतिक चेतको विकास गर्न सफल पुन दुर्गम प्रधानाध्यापकको जागिर छोडेर तत्कालिन नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा लढेकी थिइन् ।
खरमायाँ बिटालु
दलित समुदायमा जन्मेर पनि संघर्षका अनेकौं आयामहरु पार गर्दै जननिर्वाचित जनप्रतिनिधि बन्न सफल खरमायाँ बिटालु मालिका गाउँपालिकाकी उपाध्यक्ष हुन् । विभिन्न गैरसरकारी संघसंस्थाहरुमा काम गर्दै अनुभव बटुलेकी बिटालु विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।
सञ्जु बरुवाल
बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल राजनीति र समाजसेवाका साथै दर्जनौं संघसंस्थाहरुमा क्रियाशील छन् । खासै राजनीतिक पृष्ठभूमि नभएपनि बरुवालको कार्यशैली र जनउत्तरदायी व्यवहारका कारण बरुवाल जिल्लामा सफल महिलाको रुपमा चिनिएकी छन् ।
बिमला गौचन
व्यापारिक पृष्ठभूमिकी बिमला गौचन राजनीति,व्यापार र समाजसेवाका क्षेत्रमा म्याग्दीमा चिनिएको नाम हो । म्याग्दीको पुरानो र प्रशिद्ध होटल यतिकी संचालिका समेत रहेकी गौचन होटल व्यवसायमा चर्चित नाम हो । नेपाली कांग्रेस निकट नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहेकी गौचन विभिन्न सामाजिक क्षेत्रमा समेत संलग्न छन् ।
रेखा कौशल रेग्मी
साहित्य र प्रध्यापनमा संलग्न रेखा कौशल रेग्मी म्याग्दीको शैक्षिक र साहित्यिक क्षेत्रमा चर्चित नाम हो । म्याग्दी बहुमुखी क्याम्पसमा प्रध्यापन गर्ने रेग्मी विभिन्न महिलाअधिकारबादी क्षेत्र र संघसंस्थाहरुमा पनि संलग्न छन् ।
हिरा पौडेल
यौवनावस्थामा नै अपुरणीय पीडालाई भोगेर पनि सम्हालिन सफल हिरा पौडेल साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय महिला व्यक्तित्व हुन् । बैबाहिक जीवनमा बाँधिएको केही समयमा नै पति बियोगको पीडा खेपेकी पौडेलको जीवनकथा पीडादायी भएपनि उनको हिम्मत र सामाजिक कार्यप्रतिको लगन भने सबैको लागि उदाहरणीय बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology