यात्रा संस्मरण : डोल्पाको जगदुल्लामा एक फन्को !

रहस्यका अनेकौं क्यानभास छन् यहाँ । थिन्ले, याङ्जी, टासी,  प्रकृति र प्रतिभाहरुका सुन्दर मिलनकहानी छन् । छायाङ्कन गरिएभन्दा सुन्दर क्याराभानमा बाँचेको छ डोल्पो सभ्यता । पटक-पटक पुगिरहन मन लाग्ने सुन्दर रहस्यको एक चोइटो परिधि चुम्ने जमर्कोले प्रफुल्लित मन कुदिरहेछ तल्लो डोल्पातिर । सार्वजनिक सवारी साधनको सहारामा नेपालगञ्ज, छिन्चु, खलंगा, रिम्ना, तल्लुबगर हुँदै आइपुगेका छौं त्रिवेणीबजार । जाजरकोट, रुकुम र डोल्पा जिल्लाको संगमभन्दा हुन्छ यो नदी किनारको बजार । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिइ नसक्दा हरेक पदयात्रीको लागि तेस्रो दिनमा पुगिने कठिन गन्तव्य हो यो ।
मेरो मानसपटलमा यो पदयात्रा प्रयोग गरेको विगतको अनुभव घुमिरहेछ क्यामराको रिलझैं । सम्झन पुगें सँगै पदयात्रा गरेका अनुहार ! तत्कालीन स्थानीय विकास अधिकारी मदन कोइराला सर, क्रिडार्क नेपालका जिल्ला संयोजक सुरेन्द्र ढकाल, दीपक पहाडी, दीप बुढा, कर्मचन्द्र बुढा, कम्मर बम,प्रकाश गौतम, नविन पौडेल, टोपबहादुर दर्लामी, युनिसेफ नेपालका अनुप गुरुङ आदि-आदि । सडक सञ्जालको अभावमा सुदूर बनेको डोल्पा बिस्तारै तंग्रिदै छ सडक पहुँचतिर । यद्यपि सहज गोरेटो बाटोको अभावमा पीडित बनिरहेका छन् विकट सुन्दर बस्तीहरु । बाबा-आमाको काख र काँधमा लुटपुटिदै नावालक हुँदा छिचोलेको यो पदमार्ग आफ्नै पदचापले छिचोले (०६७-०७१) बीच पटक­ पटक । आज सडक सञ्जालको सहयोगमा पार गरिरहेको छु तिनै बस्ती, पाखा र पहराहरु, सडक सञ्जालको एउटा सजिव अनुभुति र अनुभव संगाल्दैछु स्मृतिमा ।
बेमौसमी झरीको सुसेली चुनौती दिइरहेछ हाम्रो यात्राको दृढ संकल्पलाई । सहयात्री रुपेश र म छलफल गरिरहेछौं मौसमका विविध आयामहरुको । हामीसँग छन् यात्रा दौरान चिन्ता र चासो ब्यक्त गर्ने विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनराज पन्त, जगदुल्ला हाइड्रोपावर कम्पनीका कन्सलिङ टिम लिडर प्रकाशमान श्रेष्ठ, सिनियर जियोलोजिष्ट प्रकृतिराज जोशी, हाइड्रोपावर इन्जिनियर नविन बस्नेत र सुशान्त विष्टका शुभेच्छाहरु । माघ अन्तिम साताको वर्षा र हिमपात चुनौती बनिरहेछ सहज जनजीवनको । आजको गन्तब्य जेनिश होटल बनाउने निधो गर्दै हामी लम्कन्छौ त्यतैतिर । न्यानो आतिथ्यता र सहयोगको पर्यायको कारण नियमित गन्तब्यजस्तै बनेको छ हाम्रो लागि यो होटेल ।निरन्तर झरी र हिमपात चुनौती बनिरहृयो हाम्रा लागि । निर्धारित गन्तव्य सहज थिएन यो मौसममा । प्रतिकुल मौसममा चट्टान खस्न सक्ने सम्भावित साँघुरो गोरेटो र निरन्तर झरी हाम्रा लागि पर्याप्त बन्यो यात्रा स्थगित गर्न । एक दिन थप पर्खेर निर्णय लिनु बुद्धिमानी ठानेर हामी माघ २६ गतेमात्र मुड्केचुला -४ इलतिर सोझियौं । राजधानी शहर ट्राफिक जाम कम गर्न बहस छेडिरहन्छ बारम्बार, बिडम्बना दैनिक जनजीवनका यी पदमार्गहरु दुईतर्फी रुपमा पैदल हिँड्न सहज आवश्यक चौडाइको प्राण खोजिरहेछन् । धेरै ठाउँमा भेटिन्छन् काठको सहारामा चौडा पारिएका धरापहरु । जगदुल्ला खोलाको किनारैकिनार एक नक्सा गोरेटो पछ्याइरहेछौं हामी । स्थानीय श्रम, सीपको प्रयोग गरेर  बनाइएका अप्ठ्यारा मोडहरु पछ्याइरहेछौं ।अर्ध सुरुङ्ग आकृतिहरु बनेका छन् बाटोभरि । बाटोमा भेटिन्छन् खोला तर्न तयार पारिएका स्थानीय प्रविधिका साँघु र काठेपुलहरु । आजको यात्रा गन्तब्य त्यति दुर छैन हाम्रा लागि । सुन्दर नदी किनारको बस्ति हो इल जससँग भावनात्मक सम्बन्ध जोडिएको छ मेरो । अविभावक पुस्ताले केही योगदान छोडेको ठाउँ, म खोजिरहन्छु बिगतका स्मृतिहरु स्थानीय अभिभावकहरुसँग । केही दिनको बिसौनी हो हाम्रा लागि यो गाउँ । ०७५ फागुन १ गते हामी उक्लिइरहेछौं बिस्तारै फेदी खोलाको किनारैकिनार । लट्टे रोकाया बा, म र रुपेश डंगोल । एक्कासी म सोध्न पुग्छु रुपेशलाई उति अग्लो डाँडा चढेको छ ? सहज उत्तर पाउँछु धुलिखेलका डाँडाकाँडा । तराईमा जन्मेहुर्केको अनि काठमाडौं युनिभर्सिटीबाट दीक्षित अनौठो लागेन । यात्रा अलि कठीन बन्नेछ उनका लागि अनुमान लगाउँछु, मनग्य हिमपात छ चारैतिर, खाजाको बन्दोबस्ती, हिमवत खण्डमा यात्रा गर्दा ध्यान पुर्‍याउनुपर्ने सल्लाह सुझावको पोका संग्रहित गरेर लम्किरहेका छौं विस्तारै । हामीसँग साथी हुनुहुन्छ लट्टे बा, जो यस डाँडाकाँडासँग जन्मैदेखि सुपरिचित । फेदीखोलाको बस्ति (दुई घर) पुगेपछि बाले तयार पार्नुहुन्छ तीनवटा लठ्ठी,  जुन हाम्रा लागि उपयोगी बन्नेछन् हिमवत बाटा र अक्करे भिर छिचोल्न बनाउनेछन् हाम्रो यात्रा सहज ।
फेदीखोलाको ७० डिग्रीको तारे भिरलाई चुनौति दिन घुमाउरो र सहज बाटो छोडेर हामी ठाडो उकालो उकालियौं । सम्भवत रुपेशका लागि पहिलो अनुभव हो कठीन उकालो चढेको । उकालिनु छ अझै धेरै थुम्काहरु । अझै सुदूरमा छ दोफाने, जुन यो पदमार्गको सुन्दर भञ्ज्याङ्ग हो । जहाँबाट दृश्यावलोकन गर्न सकिन्छ सुन्दर जगदुल हिमाल । तीन दिनसम्म लगातार परेको हिउँले सेताम्मे बनेका छन् पाखा-पखेरा र पहाडहरु । अझै हिँड्नु छ दुई घण्टा हिउँफूलहरु स्पर्श गर्न । स्याँ-स्याँ अलि बढी भएको छ रुपेशका लागि । चुनौति, कर्तब्य र मनोरञ्जनको त्रिदेवी बन्दैछ यो फिल्ड भ्रमण हाम्रा लागि । यी हिमाल, पहाड, पाखा-पखेरुहरु, जल, जङ्गल र जडिबुटिका असिमित स्रोतहरु छन् । दुर्लभ वन्यजन्तु, (चितुवा, भालु, रेड पाण्डा, कस्तुरी) राष्ट्रिय चरा डाँफे, मयुरको बासस्थान पनि हुन् यी पहाडहरु । यी पहाडहरुमा कैयौं बेदनाका पोका, शिकारी गाथा, हिमाली जनजीवनका तीन बीस उतार चढाव रुमलिएका छन् भन्नुहुन्छ हाम्रा सहयात्री बा । उदारता, सम्मान र सहयोग भन्दा बढि अरु भेट्टाउन मुस्किल छ उहाँको सर्वथा चम्किने अनुहारमा । सहज उत्तर दिने शैली र बल्ग्रेती अनुभव र अनुभूतिका पोका फुकाउन सकिन्छ उहाँसँग । तारैगौंडाको बाटो हिँडिरहेछौं हामी, अञ्दाजी ६०/७० डिग्रीको भिर कोपरेर मिहिनेत साथ कोपरेको २-३ फिटको बाटो  मौजुद छ हामीसँग  । अभ्यस्त बनिनसकेकाहरुका लागि तलमाथि हेर्दै बढी सोच्यो भने रिङ्गटा लाग्न सक्छ यस्ता बाटोका मोडहरुमा । हिमाली जनजीवनका लागि यी बाटाहरु धरै कुराले सहज मानिन्छन् । किनकि बाटोहरु आफैं बनाउँदै गन्तब्य पहिल्याउनुपर्ने बाध्यतामा अझै बाँचेका छन् दुरदराजका बस्तीहरु । हामी निस्फिक्री कैद गरिरहेछौं मनमोहक तस्वीरहरु । लट्टे बा भन्नुहुन्छ- ऊ त्यो बिसौनी पुगेपछि राम्रो देखिन्छ । अझ राम्रो दृश्य दोफानेबाट देखिन्छ ।बिसौनी पुगियो । भोक, प्यास, थकान मिश्रति अनुहार बचेका छन् सबैसँग । खाजाको पोका पन्तुरा फुकाउँदै मध्यम फोटोग्राफीको रिहर्सल गरियो । डाँडाबाट सम्झिए विगतका पहिलोपटक आयोजना फिल्ड भिजिटको शिलशिलामा यो बाटोको प्रयोग गरेका प्रोजेक्ट म्यानेजर इ.रामहरी ढकाल, विद्युत विकास विभागका हाइड्रोपावर इन्जिनियरद्वय हाँसेर बोलिरहने सुशान्त विष्ट । गम्भिर भएर हिँड्ने तर मिठो र सुन्दर प्रहार गर्ने सविन आचार्य । त्यसपछिका भ्रमणका सहयात्री र आदरणीय व्यक्तित्वहरु यस विस्तृत आयोजना अध्ययनको कन्सलिङ टिम लिडर प्रकाशमान श्रेष्ठ, जियोटेक्निकल इन्जिनियर/हाइड्रोपावर विज्ञ डा. ज्ञानेन्द्रलाल श्रेष्ठ, हाइड्रोपावर विज्ञ प्रा.डा. हरि प्र. पण्डित, सिनियर स्ट्रक्चरल इन्जिनियर नविन खत्री, सिनियर जियोलोजिष्ट प्रकृतिराज जोशी, सिनियर सर्भेयर निरोज कर्माचार्य, हाइड्रोपावर इन्जिनियर नविन बस्नेत, धिरज आचार्य, रामकृष्ण अधिकारी, प्रल्हाद कोइराला आदि-आदि । सम्झें निरोज कर्माचार्य, जसले यी अक्करे भिरहरुमा टोपोग्राफी सर्भेको नेतृत्व सम्हाल्नुभयो र पूर्णता दिनुभयो । प्रकृतिराज जोशी, जसले जियोलोजिकल म्यापिङ्ग एक्लै आँट्नु भयो र रिपोर्ट तयार पार्नुभयो । चट्टानहरु उत्तर-पूर्व  फर्किएका छन् । निरश-उजाड समयमा चट्टानको अवस्थिति मापन गर्दै हिँड्नु र अहिलेको हिम सौन्दर्य स्वादन गर्न चुक्नु प्रकृतिराज सरको रोजाइ हो ।
यसपालि लट्टे बासँग शिकारी गफ भए । उहाँको बालापन, युवावयको जोशिला गाथाहरुले छुट्टै रक्तसंचार गरायो हाम्रो दिमागमा । चोरी शिकारीको निशानामा यी हिमाली भू-भागका वन्यजन्तु कसरी परेका छन् भन्ने कुरा उहाँको भलाकुसारीबाट बुझ्न सकिन्थ्यो । ग्रामीण जनचेतनाको अभावमा दुर्लभ वन्यजन्तुहरु असुरक्षित बनिरहेछन् । बन्यजन्तु संरक्षण गर्दा पर्यावरणमा पर्न जाने सकारात्मक प्रभाव र यसले पर्यटन अभिवृद्धिमा पुग्ने टेवाको बारेमा जनस्तरमा मनग्य सचेतना फैलाउनुपर्ने  टड्कारो आवश्यकता देखिन्छ । सम्बन्धित पक्षले चाहेर पनि ध्यान पुर्‍याउन नसकेको देखिन्छ यी सवालहरुमा । सेताम्मे छन् बाटा र पखेराहरु, हामी अघिल्लो दिनका पदयात्रीले प्रयोग गरेका पदचाप पछ्याइरहेछौं । खोला किनारको भैँसी गोठनेर पुगियो । दूधस्वादन गरेको याद आयो टीएसजी टिमसँगको यात्रा दौरान । हामी अगाडि बढ्यौं खोलाको काठे साँघु हिउँले लपक्कै छोपेर हिमसाँघु बनिसकेछ, पार गर्‍यौं र उक्लिन शुरु गर्‍यौं दोफानेतिर ।
निरन्तर उकालो छ अब दोफाने भञ्ज्याङ्गसम्म । सिनियर स्ट्रक्चरल इन्जिनियर नविन खत्री सरलाई हाइपोथर्मिया भएर यात्रा असहज भएको झल्झली याद आइरहृयो । यात्राको दौरान हाइपोथर्मिया कसरी हुन सक्छ र बच्न के गर्ने भन्ने पाठ राम्रोसँग सिकिएको थियो त्यतिबेला । पानीको स्रोत वरिपरि हिउँले ढाके पनि पानी बगिरहेका कारण पानीको समस्या झेल्नुपरेन हामीले । दोफाने पुग्दाको अन्तिम उकालो सबैभन्दा गाह्रो लाग्छ यो यात्रा गर्नेहरुका लागि । यसपालि झन बढ्ता महसुस भयो । थकाई मेटाउन बिसौनीहरु लछप्पै छोपिएको छ हिउँले बिस्तारै उभिएरै आरामगर्दै उकालिनुको बिकल्प थिएन । रुपेशलाई अलि गाह्रो भएको अनुभुति भइरहृयो । तर, चढ्नु नै थियो, उकालियौं पहाड । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर दाइ आशिष थापामगर भन्नुहुन्थ्यो, दोफानेडाँडामा सडक पुगिसक्यो, आफ्नै आँखाले देख्दा आनन्दानुभूति भयो । यो सडक जुम्ला˗डोल्पा जोड्ने महत्वपुर्ण सडक सञ्जाल हो । चिसो सिरेटोले स्वागत गर्‍यो सँधैजस्तै दोफाने डाँडाले हामीलाई । यसपालि अलि बढी चिसो सिरेटोको कारण फोटोग्राफीको बहानामा जबर्जस्त छोटो समय अडिन सक्यौं डाँडामा । सामान्य खाजा लिएर ओरालो झर्ने तयारी गर्‍यौं काईगाउँतिर । हिमपहाडहरुमा उक्लिन भन्दा ओर्लन गाह्रो हुँदोरहेछ भन्ने अनुभव पहिलोचोटि हुँदै थियो । ओर्लिइरहँदा कतिपटक चिप्लेर लडियो, हिसाब राख्ने सामथ्र्य थिएन । थोरै तल ओर्लेपछि रुपेशलाई देखाउँदै गयौं हिउँले लछप्पै छोपेका सुन्दर बस्तिहरु झ्याँकोट, माझगाउँ, थापागाउँ, हुरिकोट । अरु अगाडि बढ्दै गएपछि सुन्दर काईगाउँ (काजीगाउँ) । रुखहरुमा अडिएका हिउँका थुप्रा झरिरहेछन् निरन्तर हामीलाई तर्साउने गरी । झपक्क हिउँले छोपेका हाँगाहरु हेर्दा हिउँफूलको झझल्को आइरहृयो । कठिनाई पार गर्दै सुस्ताउँदै जाँदा पनि १ घण्टाभन्दा बढी नलाग्ने ओरालो छिचोल्न हामीलाई दुई घण्टाभन्दा बढी लाग्यो । कठिनाइहरुको सामना गर्दै काइगाउँ पुगियो ।
एक वर्षको यात्रा दौरान सडक सञ्जालको हिसाबले जगदुल्ला गाउँपालिकाले अपेक्षित प्रगति हासिल गरेको छ । जगदुल्ला गाउँपालिका आफैँमा सुन्दर र प्राकृतिक सम्पदाले भरिपूर्ण छ । साथै यसले पाएको छ अहिले जागरुक, लगनशिल युवा नेतृत्व नारसिंह रोकाया । से-फोक्सुण्डो होटेल आजको गन्तब्य, न्यानो आतिथ्यता पायौं आमाको । कठ्यांग्रिएको शरीरले राहत महशुश गर्‍यो । हाम्रो अहिलेसम्मका यात्रा सुखद र सम्झनालायक बनाउने घरबेटी बा-आमा धन्यवादका पात्र हुनुहुन्छ । आमा भन्दै हुनुहुन्थ्यो, हाइड्रोपावरका मान्छे किन आएनन् यसपालि भनेर बिहानमात्रै सम्झेकी थिएँ, बाबुहरु आइपुग्नुभयो, खुशी लाग्यो । आयोजनाको सम्भावित हेडवर्क्स जगदुल्ला गाउँपालिकाभित्र पर्छ भने पावरहाउस मुड्केचुला गाउँपालिकामा । सुन्दर दुई गाउँपालिकाको भूगोल, मानवीय र प्राकृतिक स्रोतको समुचित प्रयोग परिचालनबाट जगदुल्ला हाइड्रोपावरले पक्कै पनि पूर्ण आकार लिनेछ । भोलिपल्ट हामी पुनः इलतर्फ प्रस्थान गर्‍यौं ।  फर्कंदा हिम व्यवहारसँग केही परिचित भइसकेका कारण अलि सहज भयो । विस्तारै उकालियौं दोफानेतिर । लगातार ७ घण्टाको हिडाइँपछि मुड्केचुला-४ इल पुग्यौं । आजको गन्तब्य रोशन होटेल इलमा ड्रिलिङ्ग टिमसँग सामान्य छलफलपछि हामी भोलिपल्ट नेपालगञ्जतिर प्रस्थान गर्‍यौं । सहज र सर्वसुलभ मोबाइल नेटवर्कबाट वञ्चित हामी नेपालगञ्ज पुग्दा थाहा पायौं सामाजिक सञ्जाल पशुपति शर्माको सक्छन् भने लुट कान्छा गतिले तताइरहेको रहेछ । उदेक लागेर आयो, सामान्य सिर्जनामा समाज विभाजित भएर आरोप-प्रत्यारोपको माहोल तयार भएको देख्दा ! अनलाइनखबर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology