ओहो, माछापुच्छ्रे पनि डराउने !

मेरो बाल्यकाल देखिकै पोखरा कौतुहलको बिषय थियो । पोखरामा अनेक देख्न पाईन्छ, सुनेको थिएँ । रेडियोमा धौलागिरी र माछापुच्छ्रे जोडेर कुमार बस्नेतले गाएको गीतले गर्दा पोखराबाट माछाको पुच्छर जस्तो हिमाल हेर्ने रहर मनमा गडेको थियो । धौलागिरी त बिहान उठ्ने बित्तिकै घरकै कोठाबाट देख्थें । मलाई माछापुच्छ्रे« हेर्ने रहर पुर्याउन पोखरा पुग्नु थियो ।
बागलुङबाट पैदल हिंड्नु पथ्र्याे पोखरा पुग्न । एकदिन पुरै हिंडेर पर्वतको कार्कीनेटाको कहालीलाग्दो उकालो चढेर र आँधीखोला दर्जन बढी वारपार गर्दै बल्लतल्ल साँझमा स्याङ्जाको सेतीदोभानमा बास बसेका थियौं । जीवनमा यति लामो पैदल यात्राको शुभारम्भ यहि थियो । बिहान उठेपछि स्याङ्जा सेतिदोभानका नौला प्रकृतिले मेरो ध्यान खिच्थ्यो । भ्याएसम्म ध्यान पुर्याउँथें । रमाईलो मान्थें । बिहानीमा नौलो ठाउँ नियालेको केही समयपछि हामी नौडाँडाको उकालो चढेर बस भेटायौं । पाँच रुपैयाँको बसभाडामा पोखरा पुग्यौं । बस गुडेको कि पहाड दौडेको बसभित्रबाट देखिने ती रोमाञ्चक दृश्य हेर्दा पहिलो बसयात्राको पहिलो अनुभवले आल्हादित बनेको थिएँ । जुन मेरो जीवनभरीनै अविष्मरणीय बनेर रहनेछ । यत्तिकैमा पोखरा मसंग नजिकियो । र पोखरा प्रवेश गर्ने वित्तिकै माछापुच्छ«्रे आकारको हिमाल मेरा आँखामा टक्क जुधिसकेका थिए । पुगेपछि अघाउनञ्जेल हेरें । साँच्चै माछापुच्छ्रेका दुई चूचूरा माछाका पुच्छर आकारका रहेछन । मेरो मनखुशी चल्दैनथ्यो । पृथ्वीचोकमा एकरातको बासमा सबै काम सकिए । जरुरी कामले अर्कैको पछि लागेर पुगेको मलाई फेवाताललाई भने भेट्ने मौकै मिलेन । हामी भोलीपल्टै फर्क्यौं । कौतुहलमा रहेको पोखरा त्यसरी बिचरण गरेको छु म किशोर हुनुभन्दा पहिले । यसपछिका दिनमा भने पोखरामा अनगिन्ति यात्रा भए । पोखरामा पाईने सबै चिनारीलाई लगभग चाखेको छु । तर आज फरक ढङ्गले पोखराको यात्रामा ’ढोरपाटन’ संग भएर नवीन पाईला बढाउन थालेको छु । मलाई यसपाली ढोरपाटनले अहिलेको पोखरा देखाउने छ । मैले पोखरा पुरै हेर्ने छु । कति फरक परेको रहेछ, देख्ने छु । ढोरपाटनले कतै बास नबसालिकन पोखरा पुर्याउने छ, र म पुग्नेछु पोखरा । घुम्नेछु पोखरा ।
बहत्तर किमिको यो यात्रामा ३५० रुपैयाँ तिरेर जीप समातें । चालीस बर्षपछि कति फरक परेछ भाडामा । कुश्मा पुगेपछि कार्कीनेटा जानै परेन । स्याङजाको सेतिदोभानको त कुरै भएन । कुश्मा पुगेपछि बायाँ मोडिंदै दोबिल्ला पातीचौर डिमुवा हुँदै लुम्ले भएर काँडेमा चिया पियौं । शौच गर्यौं । हाम्रो जीप अगाडि पुगेपछि सरासर फेदी हेम्जा हुँदै पोखराको जीरो किमिमा पुग्यौं । त्यहिं रोकियौं हामी । हाम्रो गन्तब्यमा जीपले पुर्याएन् । म पृथ्वीचोक पुग्न चाहन्थें । खोजेको ट्याक्सिले पृथ्वीचोक पुर्यायो । उनको चोकमा ‘उनै’ हराएका थिए । त्यहाँबाट ‘महेन्द्र पुल’ लागें । महेन्द्र पुल भने भेटें । महेन्द्रपुल हराएको रहेनछ । फेरी ‘केआई सिंह’ पुल पुगें । यो पनि सलामत उपस्थित रहेछ । बगरमा पुरानो क्याम्पस खोज्दै पुगें । पिएन (पृथ्वीनारायण) क्याम्पस झन भव्य बनेर बसेको पाएँ । पोखरा फनफनी घुमें तर पृथ्वीचोकका ‘पृथ्वी’ कतैपनि भेटिन । देखभेट हुने जतिसंग सोधें, पृथ्वीलाई कतै देख्नु भो ? खै थाहाछैन उता गएर सोध्नुस भन्ने जवाफ दिन्छन् सबैले । फेरि मैले सोधें, तपाईंको आँगनबाट हराएको मूल्यवान चीज तपाईंलाई थाहा भएन ? किन चाहियो तपाईंलाई वाईयात ! वेफाईदाका कुरामा समय खेर फाल्न नखोज्नुस । यी भनाईले म अवाक भएँ । मलाई लाग्यो, मान्छेहरु हिजो आज कत्ति नीजि बनेछन । कति बिजि बनेछन ? नीजि बाहेक अन्य कुरामा उत्साह नै देखाउदैनन् । देखेको कुरा खुलेर बोल्न छाडेछन् । हरेकतिर नाफा बोल्न थालेछन् मान्छेहरु । फाईदामा मात्रै बोल्न थालेछन मान्छेहरु । तै, कतै भेट्छु कि, म खुलेर बोल्ने मान्छे खोज्न भौंतारिएँ । पोखरामा सबैतिर मैले भेट्ने जति सबै उस्तै पाएँ । यसपछि म विन्दवासिनी देवीको दर्शन गर्दै सिधै फेवाताल तिर हानिएँ ।
फेवाताल नपुग्दै अनेक आँखाहरु मेरा आँखामा ठोक्किए । मायालु भन्दा शिकारी आँखाको बाहुल्यताले लपेट्यो । बोली व्यबहारमा पनि शिकारी जस्ता लाग्ने भाषाले जित्यो । म पोखराको पश्चिमबाट आएको मनुवा संसारको पश्चिमका मान्छेको अगाडि निरीह थिएँ । देशमा रोजगार नपाएको पशुपति शर्माको ‘कान्छो’ जस्तै लावारिस म लाग्थें । यतिबेलै धेरै पहिले रेडियो नेपालबाट बजेको गीत संझें, “पोखरामा के दिनमा झरियो, रुँदारुँदै फेवाताल भरिया े।’ कताकता मलाई यो गीतले झंकृत गरिरह्यो । मैले यी सबैकुरा सहँदै तालबाराही मन्दिरकि देवीलाई भेट्नु थियो फेवातालको बीचमा । फेवाताल किनारका माझिदाईहरु म तिर खासै आकर्षित थिएनन । ठूलो माछो खोजिगर्नेले खिजो फेलापारे जस्तै निरास थिए मलाई देखेर माझिदाईहरु । तै डुङ्गा चढेर मन्दिर पुगें । देवीको दर्शन सकि फर्केर हेरें । माछापुच्छ«्रे दुईटा देखें । एउटा आकाशमा अर्को पातालमा । मन्दिरका घण्टध्वनी नबजे कति शान्त हुँदो हो, मनमनै सोचेँ । शान्त भएर माछापुच्छ्रे« हेरिरहन मन थियो । ध्वनीे कानमा भन्दा मेरा आँखामा बज्थे । यसले गर्दा छेउ लागेर मेरा कुरा माछापुच्छ्रे«लाई राख्न चाहन्थें । आरामले म ऊ संग दिलका कुरा गर्न चाहन्थें । मेरा पृथ्वीचोकका पृथ्वीका बारेमा आद्योपान्त सोध्न चाहन्थें । तर मन्दिरका घण्टीका ध्वनी निरन्तर बजिरहन्थे । छेउ लागेपछि सहज भयो ।
छेउ लागेर एक टकले ऊ संग आँखा जुधाएर बोल्न थालें, हे माछापुच्छ«्रे तिमी जति सुन्दरी देखिन्छ्यौ । उतिनै निष्पाप छ्यौ । म तिम्रो बयान बालापन बाटै सुनें । कति आतुर बन्दै तिम्रो त्यो रुपको दर्शन गर्न मेरा साना खुट्टीले उहिल्यै पोखरा टेकेर फर्केका हुन । आँखै आँखाले तिमिसित धेरै कुरा छाडेर फर्केको हुँ । आज पनि तिमी शरिरमा एकनाश छौ तर तिमी किन पातलियौ ? दुःखी छु । तिमी संधै भर्जिन पनि छौ । पवित्र छ्यौ । र त छलकपट चाप्लुसिका कुरा बुझ्दिनौ । आज तिम्रो त्यहि अडानमा अडिएकि तिमिबाट मैले यौटै जिज्ञासा मेटाउन चाहन्छु । आज म बागलुङको ‘ढोरपाटन’ चढेर तिम्रो आँगनीमा आएको छु । तिम्रो आँगनीमा पाईला टेक्दा मेरा देवीदेवता भन्दा अघि पृथ्वीचोकका पृथ्वीको दर्शन गरेर म देवीदेवताको दर्शन गर्थें । आज मैले पृथ्वीलाई तिम्रो आँगनीमा भेट्न सकिन । तिमी अहोरात्र पोखराका यावत कुराहरुको दृष्टि दिन्छ्यौ । मलाई आज ती पृथ्वीको अभावमा तिम्रो पोखरामा सबै बिलाए जस्तो भैरहेछ । कमसेकम उनी जहाँ जस्तो अवस्थामा छन मलाई बताई देऊ । म उसको एक झल्को पाउन आतुर छु । कृपया, मलाई बताई देऊ ! मैले एकसासमा मेरा कुरा माछापुच्छ्रेलाई सुनाएँ ।
विन्दवासिनीको टापुबाट मेरा वेदनायुक्त जिज्ञासालाई एकचित्तले सुनेकि माछापुच्छ्रे«ले टेबुल टक गरेझैं आमने÷सामने भएर मलाई भन्न थालिन्, हे, बागलुङका प्रिय, मेरो सौन्दर्यको पारख गरेकोमा तिमिलाई धन्यवाद छ । सानै देखि तिमी मसंग लालायित भएको मैले बुझेकि छु । प्रकृतिलाई मानव श्रृजित तत्वले ढाकेपछि देखि नै मान्छेका ईमान÷जमान धर्म कर्तव्य बिर्सिंदै जान्छ । तिमिले पहिले देखेको पोखरामा यसकारणले फरक आएको छ । यसो भन्दैमा सबैलाई दोषदिन मिल्दैन । समयले प्रकृतिलाई च्याप्दै जाँदा नचाहेका कुरा स्वीकार्न पर्दो रहेछ । पोखरामा तिमिले भेटाएर ठाडो जवाफ दिनेहरु तिनै खालका हुन । अहिले त मेरा आँखा पनि धमिला हुन थालेका छन । हराभरा हरियाली देख्दा मेरा आँखा पनि तन्दुस्त थिए । अहिले पोखरामा बनेका आधुनिक घरैघरले भरिएको पोखरालाई मेरा आँखाले देख्न बाध्य छु । मेरा आँखा त्यति तिक्ष्ण छैनन् । मेरा आँखाले राम्रो देख्न छाडेको धेरै भैसकेको छ ।
जहाँ सम्म तिम्रो पृथ्वीचोकका पृथ्वी हराएको कुरा छ । म अनभिज्ञ छु । उनी हराउने बेला दिनदिनै धूलो र टायरको धुवाँले पोखराको आकाश ढाकिन्थ्यो । मेरो दृष्टि कमजोर भएका थिए । त्यसमाथि एकदिन मेरो माथिबाट कालो बादल मडारिंदै पोखराको आकाशमा पुगेको थियो, त्यहिदिन साँझ नपर्दै एक हुलले पृथ्वीलाई कतै पुर्याएर लुकाएछन् । मैले राम्रोसंग ठम्याएर देख्न पाईन । त्यसैले अहिले उनीकहाँ छन् । म यसै भन्न सक्दिन । पापीहरुको बोलवाला बढेको छ । अन्दाजमा भन्दा मेरै चीरहरण हुने हो कि भन्ने डर छ । आजसम्म चोखै रहेर हरेककि पूजनीय बनेकि मलाई पनि निर्मला पन्त बनाउन सक्छन् । तर हे, बागलुङे प्रिय, मेरो यौटा तिमिलाई विशेष आग्रह छ । त्यो के भने पोखरेली केटो सरोज गोपालले उतिबेलै यौटा राष्ट्रिय गीत गाएको थियो, आजको सन्दर्भमा मैले पनि उसको गीत तिमिलाई सुनाएर म हिमचूली मै फर्कन्छु !
करोडौं मुटुहरुको ढुकढुकी नेपाल,
न तिमी हुन्थ्यौ न म नै हुन्थें नरहे नेपाल ।
गीत गुनगुनाउँदै आफ्नै हिमचूलीमा पुगिन् । मैले नमन गरें । माछापुच्छ«्रेका सबैकुरा सुनें । गीत पनि सुनें । र आँफैमा गम्न थालें । उनी पनि समयसंग डराउने रहिछिन । समयसंग प्रकृति पनि त्राहिमाम ! समय जस्तो बलवान् केही हुँदो रहेनछ । माछापुच्छ«्रे पनि डराउने ! उनी डराए पनि मेरो हौसला डराएन । पृथ्वीको खोजी जारीराख्न उनले सुनाएको गीतले मलाई प्रेरणा दिईरह्यो । पृथ्वी खोज्ने मेरो यात्रा निरन्तर जारी रहने छ । अर्कोपल्ट फेवताल भित्र पुगेर खोज्ने छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology