धन्न ! थाहा भयो र भवितव्य हुन पाएन

  • करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?
  • पोखरा, २९ फागुन – संयोग नै भन्नुपर्छ, सडक मर्मत नै नगर्ने सडक विभाग विजयपुर पुलको रंगरोगन गर्न पुग्यो । रंगरोगन गर्न पुगेपछि थाहा भयो,‘पुल ११ ठाउँमा चर्केको छ, मर्मत नगरे जतिबेला जे पनि हुनसक्छ ।’ फागुन २१ गते सूचना पाएपछि कार्यालयले पुलमा २६ गतेदेखि १० टनभन्दा बढी भारवहन गरेका हेभी गाडीहरु निषेध नै ग¥यो ।
    सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल भन्छन, ‘ठूलो दुर्घटना ट¥यो, अझ १÷२ दिनसम्म थाहा नपाएको भए अहिलेसम्म भयानक दुर्घटना हुने नै थियो ।’उनका अनुसार पुल जतिबेला पनि भत्कने अवस्थामा थियो । धन्न बेलैमा थाहा भयो, पुल भत्कने खतरा रहेपछि पोखराको मुख्य प्रवेशद्वारको रुपमा रहेको विजयपुर र चाउथे जोड्ने पुलमा १० टनभन्दा बढि भारवहन क्षमताका गाडीहरु गुडेका छैनन् । पृथ्वी राजमार्गअन्तर्गत विजयपुर र चाउथे जोड्ने पुलको ‘बटम कर्ड’( फलामको मूख्य सापो ) मा नै क्षति पुगेको छ । त्योसँगै क्रस मेम्बर पनि चर्किएका छन् । वेल्डिङ गरिएका विभिन्न आठ स्थानमा चिरा फरेको छ ।
    अहिले डिभिजन कार्यालयले पुलको मर्मत थालेको छ । तर, यो मर्मत भने अस्थायी हो । ‘अध्ययन प्रतिवेदनले मर्मतले मात्र पुग्ने देखाए ठिकै छ, अन्यथा पुलमा पूर्णरुपमा सवारीसाधन निषेध गरेर नै मर्मत गर्नुपर्ने हुन्छ ।’ १० टन भन्दा कम भारवहन क्षमताका सवारीहरु अहिले पनि पुलबाटै गुड्ने गरेका छन् । पछि पुलमा सवारी नै निषेध गर्नुपर्ने अवस्थामा खोलाबाटै सवारी तार्नुपर्ने विकल्प नभएको उनले बताए ।
    ‘हामीले तत्काल एक लेनको मात्र डाईभर्सन बनाएर सवारीलाई निकास दिएका छौँ, तर सबै सवारीसाधन निषेध गर्नुपरेको खण्डमा चाहिँ खोलामा नै २ तर्फी डाईभर्सन गर्नुपर्छ’उनले भने, ‘तर, त्यहाँ एउटा सुकुम्बासी घर छ, त्यसलाई नहटाई बाटोको निकास निकाल्न मिल्दैन, स्थानीय प्रशासन र जिल्ला प्रशासनले यसमा सहयोग गर्नुपर्छ ।’ इञ्जिनियर पोखरेलका अनुसार तत्कालका लागि १० टनमाथिका गाडी निषेध गरेता पनि सबैखाले खाडी बन्द नै गरेर मर्मत गर्नुपर्ने अवस्था आउन सक्छ । ‘हामीले पुल्चोक ईन्जिनियर क्याम्पसलाई अध्ययन गर्ने जिम्मा दिएका छौँ, अध्ययन प्रतिवेदन के आउँछ सो अनुसारको काम अगाडि बढाईनेछ’, उनले भने,‘अहिले खोलाबाट आइरन स्टिल टेको दिएर क्रयाक भएको बटमकर्डलाई सर्पोट दिने काम भइरहेको छ ।’
    पुलको विजयपुरतर्फको भाग पोखरा महानगरपालिका वडा नं. २६ मा २०५१ सालमा २५ वर्षको लागि दिईएको एउटा सुकुम्बासी घर छ । त्यसको सम्झौता सकिन अब ६ महिनाजति बाँकी छ । तर, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नारायप्रसाद बरालले सुकुम्बासी नै भए पनि पनि घर दर्तावाला नै रहेको बताए । ‘पूर्जावाला घर नै हो, हटाउन परेको अवस्थामा क्षतिपूर्ति दिनुपर्छ, हामीले कोसिस गर्दैछौँ, ’ उनले भने ।
    करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?
    २०५९ सालमा टेण्डर भएको पुल म्याद थप गरेपछि २०६४ मा बल्ल निर्माण कार्य सकिएको थियो । पुल जोखिममा परेपछि गण्डकी प्रदेशसभा बैठकमा पनि लगातार २ दिन कुरा उठ्यो । विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले ध्यान दिनुपर्ने देखि ठेकेदारलाई कारवाही गर्नुपर्नेसम्मका कुराहरु उठाए । एकजना प्रदेशसभा सदस्यले त तत्कालीन डिभिजन प्रमुखसँग पनि सम्पर्क गर्न खोजेको स्रोतले जनायो । तर, २०५९ सालमा भएको सम्झौतापत्र डिभिजन कार्यालय आफैले पनि अहिलेसम्म भेटाएको छैन् । म्यादथप कतिपटक भयो भन्ने कागजात पनि छैन् । पुलको डिजाईन मात्र भेटिएको र अन्य कागजात खोजी क्रममै रहेको डिभिजन प्रमुख पोखरेलले बताए ।
    बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गरेको थियो । पुलको भारवहन क्षमता भने यकिन नभएको पोखरेलले बताए । ‘७० टनसम्म क्षमता भएको पुलमा डेढसय टनसम्मका गाडी गुड्दा त्यसको आयु त घट्छ नै ।’ उनले भने ।  यो पुल हुँदै दैनिक ६ हजार सवारीसाधन गुड्ने अभिखेल कार्यालयको छ । हाईड्रोदेखि लिएर विकास निर्माणका लागि आवश्यक सबै निर्माण सामाग्रीहरु बोक्ने हेभी गाडीहरु पनि दैनिक सयौँको संख्यामा गुड्ने गरेका थिए ।
    एकपटक पनि मर्मत भएको थिएन
    पुल निर्माणयता एकपटक पनि मर्मत गरिएको थिएन । स्वयम् सडक डिभिजन कार्यालयले मर्मतमा हालसम्म कति खर्च भयो भन्ने तथ्यांक पनि यकिन नरहेको जनाएको छ । डिभिजन प्रमुख पोखरेलले मर्मत नै नभएको जनाए । यस्तै, खोलाबाट गाडी डाईभर्ट हुन थालेपछि विजयपुर खोलामा मिसिने ३ वटा हाईड्रोलाई बाईपासबाट पानी फाल्न डिभिजन कार्यालयले निर्देशन दिएको छ । खोलामा पानीको बहाव कम गर्न र सवारी आवागमनमा बाधा नहोस भन्नको लागि सेतीसहित ३ हाईड्रोको पानी बाईपासबाट निकास दिन निर्देशन दिईएको पोखरेलले बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology