पन्ध्रौं पञ्चवर्षीय योजनाको सार

वर्तमान सरकारका कामको विरोध गर्नु व्यर्थ हो । कुनै सरकारले गर्न नसकेको वा गर्न नचाहेको काम यो सरकारले गरेर देखाइरहेको छ । त्यो काम भनेको भारतवेष्टित नेपाललाई स्वतन्त्र बनाउनु र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो परिचय दिनु हो । उत्तरतिरको नाका खोलेर नेपाललाई भारतनिर्भर राष्ट्रबाट मुक्ति दिलाउनु हो । भारतको सक्रिय हस्तक्षेपको विपक्षमा उभिएर भारतको भन्दा प्रजातान्त्रिक संविधान जारी गर्ने काम त्यति सजिलो थिएन जति हामीलाई लागिरहेको छ । गणतन्त्र नेपालको संविधानप्रतिको विरोध भारतले उतिबेला लुकाउन पनि चाहेन । अहिले पनि बेला बेलामा त्यो असन्तुष्टिको उच्छवास दक्षिणतिरबाट आइरहन्छ । र पनि, जनता सन्तुष्ट छैनन् । उनीहरूले मागेको कुरो पाइरहेका छैनन् । किन ? अलिकति छलफल गरौँ ।
माक्र्सवादीहरू समस्याको चुरोलाई मुख्य काम मान्दछन् । उनीहरूकै भाषामा भन्ने हो भने – धेरै अन्तरविरोधको बीचमा एउटा अन्तरविरोध प्रधान हुन्छ । प्रधान अन्तरविरोधको समाधान भयो भने त्योसँगै अरू अन्तरविरोधको पनि समाधान हुन्छ । सिद्धान्त यस्तो भए पनि यही चुरोलाई वर्तमान सरकारले समाउन सकेको छैन । अहिले यो एउटा प्रगतिशील सरकार हुन सक्छ तर माक्र्सवादी होइन । प्रगतिशील शक्तिको स्थीर सरकार भएको वर्तमानमा, राष्ट्रिय योजना आयोगले पनि समस्याको चुरो बुझेर पन्ध्रौँ पञ्चवर्षीय योजना बनाउनु पर्छ । भर्खरै त्यसको मस्यौदा सार्वजनिक भएको छ । स्थानीय सरकारदेखि सङ्घीय संसद्का प्रतिनिधिको सुझाव समेट्ने यो मस्यौदा आगामी पाँच वर्षका लागि नेपालको सबै क्षेत्रमा मार्गदर्शक बन्न सकोस् । यो मेरो शुभकामना पनि हो ।
यो पाँच वर्षमा हामीले नगरी नहुने काम हो – आत्मनिर्भर अर्थतन्त्रको निर्माण । सबै असन्तुष्टि यही आत्मनिर्भरतासँग जोडिएर आएको छ । त्यसैले थाङ्ने समस्यालाई छोडेर आत्मनिर्भरताको बाटोमा नेपाल र नेपालीलाई हिँडाउन के गर्नुपर्छ भन्ने अध्ययन नगरी बनाइएको पञ्चवर्षीय योजना उही पुरानो ढर्राको हुनेछ । आत्मनिर्भर अर्थतन्त्रका लागि हामीसित के छ र के छैन ? हामीलाई चाहिने अत्यावश्यक सामान के हो ? यस्ता प्रश्नहरूको उत्तर नदिई हामीले पञ्चवर्षीय योजना बनायौँ भने पुरानो व्यवस्थाका सपनाजस्तै हामीले देखेको सपना पनि तुहिएर जानेछ । अर्को पार्टीले सरकार बनाउन सक्यो भने त्यसले यो सरकारले गरेका राम्रा कामहरू पनि खारेज गरिदिनेछ ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माण भनेको के ? त्यो भनेको हाम्रो देशका जनताले गाँस र बासको समस्याबाट मुक्ति पाउनु हो । यो काम गर्न किन सकिन्छ भने यसका लागि विदेशमा बनेका गाडी, प्लाष्टिक र कुकाठका सामान आयात गर्नुपर्ने छैन । हाम्रा खेतबारीमा उम्रिन्छ आत्मनिर्भर अर्थतन्त्र । हाम्रै नदीमा बगिरहेको छ स्वाभिमानको पानी जसले हामीलाई दिइरहेको छ आजको उज्यालो । विश्वको स्वर्गभन्दा सुन्दर हो हाम्रो देश, जहाँ हरेक दश किलोमिटरमा प्रकृतिले चोला फेर्छ । आठ हजार ८४८ मिटर अग्लो सगरमाथा र ५८ मिटरको मधेशको दूरी कति छ ? त्यतिमात्र होइन, यो सानो भूमिमा १२३ भन्दा बढी संस्कृति छन् । आदिम सभ्यताका
चिताइ नसक्नुका दृश्य पनि हाम्रै देशमा छन् । आदिम सभ्यता भनेको, बुटवल नरबानर, दण्डाखोलाको उत्खनन्, लुम्बिनी, माथिल्लो मुस्ताङका कल्पना पनि गर्न नसकिने गुफा मानव बस्ती हुन् । उत्खनन् गर्दै जाँदा यस्ता असम्भवप्रायः स्थानहरू अन्य कति ठाउँमा भेटिने हुन् !
के छैन नेपालमा आपूmलाई चाहिने ? खानाको सन्दर्भमा धान, गहुँ, मकै, कोदो, फापर, कागुनो, चिनो हाम्रो मुलुकमा सजिलै पाइन्छ । हो काम गर्ने जाँगर भने हुनुपर्छ । पशुपालन लोकप्रिय र व्यावसायिक पनि हुँदैछ । पछिल्ला दिनमा गाई, कुखुरा र बङ्गुरपालनको उद्यम राम्ररी फस्टाएको छ । पुष्पलाल राजमार्गको दाहिने–देब्रेतिर सिटरसको बाक्लो खेती हुन्छ । शरीरलाई स्वस्थ राख्न नभई नहुने बेसार र अदुवाको उत्पादन पनि पाखापखेराभरी पैmलिएको देखिन्छ । चिनी मन्द विष हो भन्ने प्रमाणित भइसकेपछि त्यसलाई विस्थापित गरी खाँडसारी उद्योग, सक्खर पेल्ने कोल खोल्न ठूलो औद्योगिक लगानी पनि चाहिँदैन । सात प्रदेशले योजना बनाएर काम गर्ने हो भने उखु उत्पादक र चिनी मिलबीचको बर्सेनि झगडा पनि समाप्त हुन्छ । किसानहरूकै समूहबाट खाँडसारी चलाउन सकिने हुनाले किसानले पनि आफ्नो उत्पादनको उचित मूल्य पाउने छन् ।
शरीरलाई अनिवार्य चाहिने लसुन, प्याजजस्ता मसलाजन्य वस्तुको उत्पादन पनि नेपालमा जताततै हुन्छ । तोरी, आलसजस्ता तेलजन्य खाद्य पदार्थको उत्पादन पनि ह्वात्तै बढाउन सकिन्छ । बाँच्नका लागि अरू के चाहिन्छ मानिसलाई ! जिब्रोको स्वादलाई एकछिन बिर्सिदिने हो भने काम गर्नेहरूले नेपालमा उब्जिएको, विषादीरहित खाद्यपदार्थ खाएर र पिएर जीवन बिताउन सक्छन् ।
(जाँड, रक्सी, चुर, बिँडी र चुरोटजन्य वस्तुका बारेमा यहाँ केही लेखिरहनु नपर्ला । ती सबै विषाक्त वस्तुलाई नेपालको सीमाना बाहिर पठाइदिए हुन्छ । ­ यस्ता उद्योगहरू बन्द गरे पनि हुन्छ । )
तर घरमा बसेर सपना देख्तैमा यी खाद्यपदार्थ आफैँ सुतुतुतु मुखभित्र पस्दैनन् । आफूले खानेकुराको उत्पादन आफैँ गर्नुपर्छ भन्ने अठोट नभएसम्म योजना आयोगले बनाएका कुनै योजनाहरू कार्यान्वयनमा आउँदैनन् ।
काठमाडौँमा गज्याङगुजुङ बढी भए पनि बाहिर यस्तो चिन्ताजनक स्थिति छैन । कालिकोटजस्तो दुर्गम जिल्लामा ‘युवालाई जिल्लाभित्रै रोजगारी दिने’ अभियान आरम्भ भएछ । यो सबै प्रदेशले सिक्नुपर्ने काम हो । कर्णाली प्रदेश सबैभन्दा धनी प्रदेश हुने अनगिन्ती सम्भावनाहरू छन् । त्यहाँको पौष्टिक खाद्य पदार्थ आफ्नो उपभोगका लागि पुग्न सक्नेछ । अर्बौं रुपियाँ तान्ने त्यहाँका जडीबुटीको व्यापार अन्तर्राष्ट्रिय स्तरमै हुन्छ । कर्णालीसँग क्यान्सरको उपचार गर्ने औषधि उत्पादन हुन्छ । एक नम्बर प्रदेश र गण्डकी आफूलाई चाहिनेभन्दा अधिक उत्पादन गर्ने क्षमता राख्छन् । राम्ररी अध्ययन गरेर काम गर्ने हो भने नेपालका कुनै पनि प्रदेशहरू अभावग्रस्त हुने छैनन् ।
केन्द्रमा ठूला लगानीका लागि पूर्वाधार विकास बैङ्क स्थापना हुने भएछ । यो पनि हाम्रो उज्यालो जीवनका सङ्केत हो तर त्यसको सम्पूर्ण लगानी कृषिमा हुनुप¥यो । घर गाडीमा होइन । मजस्ता सयौँ प्रौढहरू सङ्खुवासभा र भोजपुरमा उम्रिएका बोट बिरुवाबाट बनेका दौरा, सुरुवाल, कोट, टोपी लगाइरहेका छौँ । दैलेखी जुत्ताको बारेमा तपाईंहरूलाई कति थाहा छ कुन्नि ! त्यहाँको स्थानीय उत्पादन न्यानो र लगाउन सजिलो हुन्छ । म नेपाली, मेरो नेपाल – यत्ति मात्र सोच भयो भने पनि हामी अतिरिक्त दुःख खेपिरहनु पर्दैन ।
कार र मोटरसाइकल किन्न, घर बनाउन दिइने सबै कर्जाहरू समृद्धिका लागि प्रत्युत्पादक भएका छन् । उनीहरूले ब्याज त पाउँछन् नै तर त्यो लगानीले देशलाई केही दिँदैन । बैङ्कहरूले आफ्नो कर्जाको ऐनालाई, खेती र खेतीजन्य वस्तुतिर फर्काउनु पर्छ । अहिले नेपालमा पनि खन्ने, जोत्ने, रोप्ने, कटानी गर्ने मेसिनहरू देखिन थालेका छन् । मोटर अथवा मोटर साइकलभन्दा तिनलाई प्राथमिकतामा राखेर ऋण लगानी गरियोस् ।
हाम्रो देशको सबैभन्दा ठूलो समस्या हो परजीवी दिमाग । आफैँ गरौँ, आफैँ खाउँ हुनुपर्ने हो सङ्घीयताको सोच । तर मगन्ते बानीका कारण, मागेर होस् कि ठगेर होस् मीठै खाउँ राम्रै लगाउँ भन्ने सोचको डरलाग्दो बहुमत छ नेपालमा । यसलाई कसरी हटाउन सकिन्छ, त्यसको बारेमा पार्टीहरूले सोचून् । अहिले स्थानीय सरकार बलियो भएको र बैङ्कहरू पनि गाउँपालिकासम्म पुग्ने लहर चलेको बेलामा पार्टीका कार्यकर्ताले आत्मनिर्भर अर्थतन्त्र के हो भनेर प्रशिक्षण दिने काम गरुन् । बुझ्नुहोस् सबै पार्टीका नेता र कार्यकर्ताहरू, खालि भाषण गरेर जनतालाई सार्वभौम बनाउने यो प्रणाली आएको होइन । हजारौँले जीवन बलिदान गरेका छन्, तपाईंहरूले भोगिरहेको यो लोकतन्त्रका लागि । यसैका लागि हजारौँ परिवार मरेका छन्, चिहिलबिहिल भएका छन् । के तपाईंहरूको पुस्ताले शहीदहरूको यो बलिदानको ऋण तिर्नु पर्दैन ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology