तमानखोलामा सडक लैजाने लक्ष्य

बागलुङ, ३० फागुन – सडक अभावमा तमानखोला गाउँपालिका–६ नर्जाखानीका बासिन्दा अझैपनि डोकोमा बोकिएर उपचार खोज्न बाध्य छन् । उनीहरुलाई बुर्तिवाङ पुग्न एक दिन लाग्छ । अहिलेसम्म सडक संजालले नछोएकोले यो गाउँका अधिकांस बासिन्न्दा पैदल यात्रा गरेर बजार झर्छन् । बिरामी पर्दा डोकोमा बोकिएरै यात्रा गर्न बाध्य भएको वडा अध्यक्ष रनबहादुर छन्त्यालले बताए । तमानखोला गाउँपालिकाले भने यो वडाको सबै बस्तीमा सडक लैजाने योजना अगाडि सारेको छ । भौगोलिक कठिनाईले भनेजस्तै गरी सडक लैजान भने नसकिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । साविकका खुंखानी, बुंगादोभान र तमान गाविस मिलाएर बनेको तमानखोला गाउँपालिकाका नागरिक प्रायः स्वास्थ्य सेवाकै पिडामा बसेका छन् ।
यो वडामा माध्यामिक बिद्यालय र स्वास्थ्य चौकी पनि छैन । त्यसैले अधिकांसले उपचारका लागि टाढाको बाटो तय गर्न बाध्य भएका हुन् । सानो आकारको बजेट, पूर्वाधार बिनाको गाउँपालिकाले बास्तविक पिडामा मलर्म छ । तरपनि चालु बर्षको बजेटले वडा कार्यालयसम्म सडक लैजाने लक्ष बनाएर काम भैरहेको हो । वडा सम्मको ट्रयाक खुलाएका छौं, तर स्तरोन्नतीका लागि केही थप बजेट चाहिन्छ । अहिलेसम्म वडानै नछोएको सडक पुगेकोले धेरै खुसी भएका छन् । बस्तीसम्मै लगेर स्तरोन्नती भए ठूलै बिकास भएको अनुभव गर्न सकने छन्त्यालको भनाई छ । बागलुङको १० वटा स्थानीय तहमध्ये ताराखोला र तमानखोलालाई विशेष क्षेत्रको रुपमा परिभाषित गरेर गाउँपालिका बनाइएको थियो । ताराखोला तुलनात्मक सहज भूगोल र उत्पादनमुखी छ । तमानखोला अति जटिल प्रकारको भूगोल, शिक्षा, स्वास्थ्य, सडक र उत्पादनमा पनि पछाडि छ । ‘काम गर्न धेरै गाह्रो छ, बजेट प्रसस्त होला भनेको थिए, सिमित बजेटले सडकको ट्रयाक खोल्ने काम असंभव जस्तै भयो’ बुढा भन्छन्, ‘चट्टान र खोंचमा रहेकोले यो गाउँपालिकाको अधिकांस वडा र गाउँबस्तीमा सडक पुगेको छैन ।’
सदरमुकामको काम लिएर जानेले साता बिताउनुपर्छ । पैदल हिड्न नसक्दा बुढाबुढी र बालबालिकाको जीवन झन कष्टकर छ । युवाहरु पनि सामान्य काममै हैरानी खेप्न बाध्य छन् । बस्ती रहेका गाउँगाउँमा पु¥याउन ५ बर्षे रणनीतिक योजना बुढाले बनाएको बताए । गाउँपालिकाले पास गरेपनि अहिलेकै स्थितिमा काम गर्न नसकिने उनले बताए । ‘यही अवस्था र यही बजेटमा ती योजना पुरा हुन सक्दैनन्’ उनले भने, ‘जितेर आएपछि जनताले अनुभूति गर्नेगरी केही परिवर्तन दिने चाहना भने पुरा गरेरै छाड्छु ।’ युवा जोश भएकोले काम गर्ने चाहना र आँट भएको स्थानीयको बुझाई छ । ‘व्यक्तिगत खर्चमै डेरा लिएर कर्मचारीझै बसेका छन्, दैनिक जनताको सुख दुखमा पनि साथ दिएका छन्’ बुंगादोधानकी यामकुमारी रोकाले भनिन्, ‘सबैले साथ दिएमा केही परिवर्तन हुन सक्छ ।’ बुढाले थालेका योजनामा गाउँलेले श्रमदान समेत गरेको उनले बताईन् । बुंगादोभान, खुंखानी र तमानलाई मिलाएर बनाइएको यो गाउँपालिका केन्द्र पुग्नै एक दिन लाग्छ । भूकम्प पुनःनिर्माण प्रधिकरणले बुर्तिवाङदेखि तमानखोला पुग्ने सडक बनाउन लागेको छ । यो सडकले केन्द्र सम्मको यात्रा सहज हुनेछ ।
तर छरिएका गाउँलाई भने एकीकृत गर्न सकेमा मात्र बिकासका पूर्वाधार बनाउन सकिने बुढा बताउँछन् । बस्तीलाई एकीकृत गर्ने र खानेपानी, शिक्षा, सिंचाई र सडकलाई स्तरोन्नती बनाएपछि अन्य स्थानमा कृषि उत्पादनका कार्यक्रम लैजाने उनको योजना छ । त्यसका लागि संघिय सरकार, प्रदेश र स्थानीय तहको बजेट एकीकृत गर्नुपर्छ । तमानखोलामा सडक अभावकै कारण केही महिना अघि भएको एक घटनाका मृतकलाई बोकेरै बुर्तिवाङ ल्याएपछि ३० हजार खर्चेर पोष्टमार्टमका लागि शव सदरमुकाम ल्याइएको थियो । यस्ता घटनाले स्थानीय पिडित छन् । सहज यात्रा र आर्थिक कमजोरीले सताएको खुंखानीकी सुनिता सुन्चौरीले बताईन् । दुइ तिहाई दलित र एक तिहाई जनजाती बस्ने नर्जाखानीमा आर्थिक अबस्था कमजोर भएकोले अधिकांसले पशुचरन र परंपरागत कृषि पेशा गरेरै बिताएका छन् । परंपरागत पेशा भएकोले खान नपुग्ने भएपछि मजदुरी गरेर बुर्तिवाङ देखि खाद्यान्न बोकेर खानुपर्ने बाध्यता समेत उनीहरुले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology