चूनौती र अवसरकाबीच ढोरपाटनको पोखरा यात्रा

देशको सुदुर कुनामा रहेको सूचनाको संवाहक कटुवाल ढोरपाटन दैनिक सोह्र वर्षमा यात्रारत छ । हजारौं दुःखका पहाड चढेर नागरिकको सूचना प्राप्तिको अधिकारको लागि ढोरपाटनले स्थापित गरेको पिरामिड त्यो मोफसलको पगरी गुथेर जीवनको आयामलाई कर्मकाण्डी शैलीमा संकुचन गर्नुमा जीत ठान्दैन । र, त्यो पगरी स्वीकार गर्दैन पनि । यहि अहम् सत्यले आज ढोरपाटनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा उसका शुभचिन्तक र पाठकहरुले पढिरहेका छन् । उसको स्थायित्व र उचाईमा एक एक इटा थपिरहेका छन् । ढोरपाटन भुगोलका पर्खालहरुभित्र लिलिपुटे उचाईमा उभिएर जीतको उत्सव मनाउन सक्दैन । आप्mनो गौरवमय सोह्र वर्षे यात्रामा ढोरपाटन दैनिकले आम पाठकमाझ स्थापित गरेको उचाई र त्यसको आयातन अझ बेशी अग्लो र फराकिलो हुनुको विकल्प छैन ।
दुरदराजामा रहेर धौलागिरीका बजारमा स्थापित ढोरपाटन दैनिकको गौरवमय इतिहास अब हामीबाट विस्तार हुँदैछ । बागलुङदेखि गण्डकी प्रदेशको राजधानी पोखरा सम्मको यात्रामा यसले स्थापित गरेका मुल्य, मान्यता र उचाईलाई जनताले नियाल्न पाउने छन । प्रदेश राजधानीबासी र काँठबासीले अझ नजिकबाट ढोरपाटन दैनिकलाई देख्न र महशुस गर्न सक्नेमात्रै होईनन्, उनीहरुले पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई पनि अझ नजिकबाट देख्न र पढन पाउने छन् । सिंगो प्रदेशलाई धौलागिरिबासीले समिपमा पाउने छन् । फराकिलो हुनुको मतलब अरु थप जिम्मेवारी बोक्नु र संघर्षमा लाग्नु हो । सिमित स्रोत साधन र मानव स्रोतका बीच असिमित उचाईको इतिहास बनाएको ढोरपाटन दैनिकले स्थापित कयौं मिडिया हाउससँग प्रतिस्पर्धा गर्नु नयाँ ठाउँमा ठूलो चुनौती हो । ती सयौं चुनौतीमा हजारौं अवसरहरु फुलिरहेका छन्, अवसरमा चुनौती हैन, चुनौतीमा अवसरहरु बेशी हुन्छन् । ढोरपाटनले आफ्नै  गौरवमय सोह्र वर्षको इतिहासमा स्थापित गरेको यो सत्यलाई प्रदेशको राजधानी पोखरामा उभिएर प्रमाणित गर्न उसले दुन्दुभि मच्चाई रहनु पर्दैन । कुनै नयाँ पियानो या भ्वायोलिनमा उसले हातका औंला रगेड्नु आवश्यक पनि छैन । राज्यको चौंथो अंगको धर्म र मर्मलाई आत्मासाथ गर्ने नै छ । नागरिकको सूचनाको हकलाई निष्पक्ष र भयरहित रुपमा स्थापित गर्न ढोरपाटनकोे जुन प्रकारको योगदान र इतिहास छ, प्रदेश पुग्दा पनि यो मुल्य र गरिमासँग परिचित हुनेछ ।
गण्डकी प्रदेश आपैmमा अनुपम प्राकृतिक सुन्दरता भएको प्रदेश हो । कला संस्कृति, भाषा भेषभूषामा धनी यो प्रदेशलाई समृद्ध बनाउन प्रदेश सरकारको नीतिलाई अरु नजिकबाट नियाल्ने छ । धौलागिरि क्षेत्रका पर्यटकीय, धार्मिक र मानव निर्मित स्थानहरुको प्रचार–प्रसारमा लाग्नेछ । यहाँको आर्थिक, सामाजिक, भौतिक विकास र नागरिक अधिकारका लागि घचघचाउने छ । भाषा, धर्म, लिङ्ग, जाति, कला संस्कृतिको विकास तथा संरक्षणमा जुट्नेछ । विभेदका विरुद्ध नागरिकलाई सचेत बनाउँदै धौलागिरिलाई गण्डकीसँग जोड्न ढोरपाटनको यो यात्रा सार्थक हुनेछ । वैज्ञानिक चेत र योजना बिनाका विकास निर्माणका कामहरु गर्ने प्रवृत्तिबाट हाम्रो प्रदेशले समृद्धि हासिल गर्न सक्दैन । कार्यकर्ता पाल्न या जोगाउन हिजो जसरी सत्ताले जथाभावी बाटो खन्ने, करारमा कर्मचारी भर्ना गर्ने, स्कुल खोल्ने, क्लब र आमा समूहलाई पैसा बाँड्ने गरेको हामीले देखेकै हौं । दशैं तिहार जस्ता चाडपर्वमा कार्यकर्तालाई खर्च बाँड्ने प्रवृत्तिबाट हरेक राजनीतिज्ञ र कार्यकर्ता तथा समाजका अगुवाहरु मुक्त हुनु जरुरी छ । नागरिकलाई केवल सपना बाँडिएको छ । दुःखको चोमोलुङमुन्तिर अभाव, दरिद्रता, पीडा र दमनमा बाँचिरहेकाहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन सकिरहेका छैनन् । उनीहरु सरकारसँग आशावादी छन् । सरकारले गर्छ भन्नेमा विश्वस्त छन् र केही समय धैर्य पनि गर्ने छन् । बढ्दो बेरोजगारी र महङ्गीका बीच गण्डकी प्रदेशलाई समृद्ध बनाउने सपना र योजना निर्माण गरिरहँदा कोरला नाकाको सञ्चालन, जलविद्युतमा लगानी, पर्यटन क्षेत्रमा नयाँनयाँ स्थानहरुको पहिचान र त्यसको विकासमा ध्यान पुग्नु पर्दछ । सञ्चालनमा रहेका सडकहरुको स्तरोन्नती, कृषिमा दिइने अनुदान बिचौलियाको हातमा जाने प्रथाको अन्त्य हुनु पर्दछ ।
खेलकूदको विकासको लागि वास्तविक खेलाडीहरुको उचित व्यवस्थापन र खेलकूदको लागि आवश्यक पूर्वाधारहरुको निर्माण आजको आवश्यकता हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र सञ्चालन र अन्नपूर्ण पदमार्गको व्यवस्थापनमा पनि उत्तिकै ध्यान पुग्नु पर्दछ । प्रदेशभित्रका हरेक जिल्लाका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक स्थलहरुको पहिचान, बागलुङको बलेवा विमानस्थलको स्तरोन्नती र सञ्चालन, कालीगण्डकी करिडोर, कालीगण्डकी लोकमार्ग तथा मध्यपहाडी लोकमार्ग जस्ता दुईवटा प्रदेश तथा तीनवटा देश जोड्ने मोटरबाटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके प्रदेशको आर्थिक विकासमा ठूलो प्रभाव पर्नेछ । प्रदेशले कृषिलाई प्राथमिकता दिईरहँदा खेतीयोग्य जमिनको पहिचान, व्यवस्थित बसोबासको व्यवस्थापन र खेतीयोग्य जमिनलाई घडेरीको रुपमा चिरेर बिक्री गर्ने प्रचलनको अन्त्य गर्न ठोस नीति बनाउनु जरुरी छ । शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउदै जानुपर्ने आवश्यकता छ । जबसम्म शिक्षा र स्वास्थ्यलाई राज्यले सम्बोधन गर्न सक्दैन तबसम्म मुलुकले जति नै लगानी गरेपनि प्रतिफल शुन्य नै हुनेछ । हामी परम्पराको फेर समातेर केवल शिक्षा र स्वास्थ्यलाई चुनावको भोट उठाउने माध्यम मात्र बनाइरहने छौं । प्रत्यक्ष त नागरिक जोडिने यो समस्या हाम्रो प्रदेशभित्र पनि जटिल छन् तर प्रदेश सरकारले तिनलाई दुरदर्शी र वैज्ञानिक तवरले सम्बोधन गरी आमनागरिकलाई स्वास्थ्य र शिक्षामा सहज र सरल पहुँच पु¥याउन ठोस नीति निर्माण गर्नु जरुरी छ । हामी अपेक्षा गछौं हाम्रो सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन नागरिकका सपनालाई सम्बोधन गर्दै जानेछ ।
मुलुक आज पनि कठिन र चुनौतीपूर्ण अवस्थामा छ । सत्तालाई केन्द्र र जीवनको अन्तिम प्राप्ति ठान्ने मनोवृत्तिले हरेक राजनैतिक दललाई नागरिकप्रति उत्तरदायी बनाउन सकिरहेको छैन । राजनीति खाली पद, प्रतिष्ठा र पैसा कमाउने माध्यम बनिरहेको बेला सचेत नागरिक र उत्तरदायी पत्रकारिताको आवश्यकता उत्तिकै रहेको छ । २००७ सालदेखि हरेक दिन नेपाली समाज समृद्धिका किस्सा सुन्दै आएको छ । अगुवाहरु ती हरेक सेकेण्ड नागरिकलाई नागरिकभन्दा बेशी सर्कसका दर्शक बनाईरहेका छन् भन्ने आरोप खेपीरहेका छन् । हामी पनि प्रश्न मात्र गरिरहने मनोदशाबाट ग्रसित छौं । यो प्रवृत्तिले हामीलाई यति गहिरो रसातलमा पु¥याईदिएको छ की हामी हरेक सेकेण्ड आप्mनो विवेकको हत्या गर्नुमै अभिषप्त छौं । सयौं चुनौतीका बीच हजारौं अवसरको यो यात्रा सुखद बनोस् शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology