गोताखोर टोलीले पनि फेला पारेनन् म्याग्दी नदीमा डुबेर बेपत्ता विद्यार्थीलाई

म्याग्दी, ३० फागुन – म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जना विद्यार्थीको खोजीमा शसस्त्र प्रहरीको गोताखोरको टोली म्याग्दीमा आएको छ । बुधवार (हिजो) बेलुकी ४ बजे विद्यालयबाट फर्केपछि पौडीखेल्न साथीहरुसंग म्याग्दी नदीमा गएका जिल्लाको अन्नपूर्ण गाउँपािलका वडा नं ८ राम्चेका १४ वर्षिय हेमचन्द्र गर्वुजा नदीमा डुबेर बेपत्ता भएका हुन् ।
बुधबार र बिहीबार (आज) दिनभरी प्रहरी नदीमा नै पसेर खोजी गर्दा पनि गर्वुजालाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विहीवार सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा तीन पटकसम्म प्रवेश गरेर खोजीगर्दा पनि अहिलेसम्म (अपरान्ह ३ः३० बजे) फेला पार्न सकेको छैन । खोजीकार्यमा आवश्यक पर्ने आधुनिक उपकरण सहित नदीमा प्रवेश गरेर खोजी गर्दा पनि फेला पार्न सकिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पानीको सतह गहिरो भएकाले पनि समस्या भएको बताइएको छ । बेपत्ता गर्बुजाको खोजीकार्य जारी छ । गर्बुजा सदरमुकाम बेनीको बेनी सामुदायिक माविमा कक्षा ९ का विद्यार्थी हुन् । तीनजना साथीहरु सहित पौडि खेल्नका लागि नदीमा गएका गर्वुजा मंगलाघाटमा आफन्तसंग बस्दै आएका थिए ।
गर्बुजासंगै नदीमा पसेका धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङ मलम्पारका निरप्रसाद छन्त्याललाई भने तत्कालै उद्धार गरिएको थियो । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology