अध्ययन भन्छ : छोरीको जीवन गर्भमा मात्रै !

  • कञ्चनपुर, सुर्खेत, रूपन्देही, कास्की, भक्तपुर र चितवन गरी ६ जिल्लामा गरिएको अध्ययन
  • काठमाडौं, २ चैत – छोरा मोहका कारण महिलाले छोरीको भू्रणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्। हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए। ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने। भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो। नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन्। तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन्। ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ।
    स्त्री तथा प्रसूति विशेषज्ञ डा. हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन्। ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा. तुलाधरले भनिन्। छोरा जन्माउन महिलाले पूजाआजा र भाकल गर्ने, जडिबुटी बाँध्ने लगायतका उपाय अपनाउने गरेको अध्ययनमा उल्लेख छ। अध्ययनमा सहभागी महिलामध्ये ३० जना अर्थात् झन्डै नौ प्रतिशतले कुनै निश्चित लिंगको बच्चा जन्माउन भाकल (देवताको नाममा जनावरको बलि दिने) गरेको पाइएको छ। तीमध्ये २५ जनाले छोरा जन्मियोस् भनेर भाकल गरेका थिए। छोरा पाउन पाँचजना महिलाले विशेष पूजा गरेका थिए र तीनजनाले धार्मिक गुरुकहाँ गएर आशीर्वाद लिएको अध्ययनमा उल्लेख छ।
    अध्ययन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा कञ्चनपुर, सुर्खेत, रूपन्देही, कास्की, भक्तपुर र चितवन गरी ६ जिल्लामा गरिएको अध्ययनमा छोरी जन्माउँदा महिलामाथि घरबाटै हिंसा हुने गरेको उल्लेख छ। ‘महिलामाथि छोरा पाउनै आउँदो रहेनछ भन्ने दोष लगाउने गरेको पाइयो’, तामाङले भने। अध्ययनमा संलग्न महिलाले पति र सासूले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। ती जिल्लाका दसवटा सरकारी स्वास्थ्य संस्था (तीन अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्य चौकी) मा नियमित परीक्षणमा आउने चारदेखि ६ महिनाका गर्भवतीसँग पहिलो चरणको अन्तर्वार्ता गरिएको थियो। पहिलो चरणमा नियमित गर्भ जाँच गर्न आउने २ सय ६० जना गर्भवतीलाई सहभागी गराइएको थियो। दोस्रो चरणमा तीन सय ४९ आठदेखि नौ महिनाका गर्भवतीसँग अन्तर्वार्ता गरिएको थियो।
    पहिलो चरणमा समावेश तीन सय ६० गर्भवती महिलालाई के चाहनुहुन्छ ? भनेर सोध्दा ३६ प्रतिशतले छोरा भनेका थिए। तीन गर्भवतीमध्ये एकजनाले छोराको चाहना राखेका थिए। त्यस्तै ६ मध्ये एकजनाले छोरीको चाहना राखेका थिए। आधाजसो महिलाले छोराछोरी जे भए पनि हुने बताएका थिए। पतिकोे चाहना छोरा भएको अध्ययनमा सहभागी एक तिहाइ महिलाले बताएका थिए। एउटी छोरी मात्र भएका ७३ प्रतिशत महिलामा छोराको चाहना उच्च भएको पाइएको छ। उच्च शिक्षा हासिल गरेका महिलामा भने हालको गर्भप्रति छोराको चाहना कम भएको देखिएको छ। जातजातिका आधारमा हेर्दा बाहुन, क्षेत्री, पहाडी जनजाति र पहाडी दलित महिलामा छोराको चाहना बढी देखिएको छ। राष्ट्रिय महिला आयोगका सहसचिव युवराज सुवेदी लिंग पहिचान गरी भ्रूण हत्या गर्नु अपराध भएको बताउँछन्। उनले भने, ‘छोरी जन्माएकै कारण महिलामाथि हिंसा हुने गरेको छ। हिंसा न्यूनीकरणमा पुरुषलाई पनि सहभागी गराउनुपर्छ।’ राष्ट्रिय योजना आयोगकी उपसचिव लक्ष्मी घिमिरे भन्छिन, ‘छोरा होस कि छोरी जे भए पनि दुई सन्तान भए पुग्छ भन्ने मानसिकता व्यवहारमा लागू गर्नुपर्छ।’ अन्नपूर्णपोष्ट

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology