कथा : आफन्त

मलाई त्यो दिन फर्किहाल्न मन थियो । जान त मनले नै गएको थिएँ तर करले बसें । नाइ भन्न सकिनँ । नाइ भन्न नसक्नु मेरो सधैंको कमजोरी भयो । उनले हाँसेरै मलाई जान दिएनन् । हाँस्दै कसैले रोक्यो भने पाइला अडिन्छन् ।
० ० ०
भर्‍याङमा केही हतार दौडिरहेछन् । बाटो छोडिदिएँ । कम हतार हुनेले बाटो छोड्दिनुपर्छ । आउँछु भनेर फोन गरिसकेको हुनाले कोठा नम्बर थाहा थियो । सनद दाइ त्यहीँ बसेका थिए । हैन, उनलाई त्यहीँ राखिएको थियो । उनी बिरामी थिए । बस्नु र राखिनु पनि फरक कुरा हुन् । कुर्नलाई खै को बसेको थियो, थाहा भएन । म आउँदा ऊ गइसकेको थियो । मैले भाउजू थिइन् भन्ने सोचेको थिएँ । मलाई भाउजू हुन्थिन् जस्तो लाग्थ्यो ।
अस्पतालको गन्ध मलाई मन पर्दैन । त्यो घटना भएपछि त मलाई यो उपचार गर्ने ठाउँ नै हो जस्तो लाग्न थाल्यो । मेरो लागि अस्पताल बिरामी भेट्न जाने ठाउँमात्र होस् जस्तो लाग्थ्यो । अस्पताल बस्नलायक ठाउँ हैन ।
यहाँ दिनहुँ नयाँ जीवन शुरु हुन्छन् र सकिन्छन् । विष्णुले अर्जुनलाई देखाएको बिराट रूप पनि यही अस्पताल नै हो जस्तो लाग्छ मलाई । शुरु र अन्त्य एकैसाथ । शहरभरिका अनेक ठक्करहरूको क्लाइमेक्स भिजुअल । अस्पताल र जीवन कुन महत्त्वपूर्ण छ, सोध्न सकिँदो हो । नसकिँदो पनि हो ।
महत्त्वपूर्ण के हो भन्ने पनि अर्को प्रश्न होला । मलाई आफ्नै जीवन पनि महत्त्वपूर्ण लाग्दैन । चढ्न मन नलागेको गाडी जस्तो । बस्ने ठाउँ पनि छैन, हिँडेर जाऊँ भने पुगिँदैन ।
म मन नगरेरै अस्पताल धेरै पटक पुगें । अस्पताल रंगमञ्च हो भने धेरै वटा नाटकमा मेरो अभिनय भइसकेको छ । निर्देशकलाई अहिलेसम्म भेटेको छैन ।
पहिलोपटक बिरामी भएर गएँ । त्यसमा के भयो, म सुनाउनेवाला छैन । अर्को कुनै कथामा सुनाउँला । अहिले यहाँ सुनाउन लागेको चाहिँ सनद दाइको कथा नै हो । बीचबीचमा बरालिन पनि सक्छु । मेरो आजकाल केही कुराको ठेगान छैन । सात वटा रंग एकैठाउँ मिसिएजस्ता दिनहरू । गाढा रंग । धेरै गाढा भयो भने सही–गलत छुट्टिँदैन । कालो रात र कालो दिन छिनछिनमा फेरिएजस्तो मात्र हुन्छ । बीचका रंगहरू ती दुईसँग यता र उता गर्नमै ठिक्क । रंगहरू पनि अभिनय गर्छन् ।
फेरि बरालिएँ । अब भन्छु ।
एकपटक बाटोमा हिँडिरहेका बेला एकजना मान्छे मसँग ठोक्किए । म मोबाइल चलाउँदै थिएँ । उनले ठोक्काएपछि मोबाइल हातबाट खस्यो । भुइँमा बजारियो । सिसा फुट्यो । धन्न बाहिर कभर लगाएको भएर क्षति धेरै हुन पाएन । मोबाइलको आवरण र अनुहारको आवरणमा के फरक छ, मलाई थाहा छैन ।
त्यसको एउटा फाइदा के भयो भने हामी अपरिचितबाट परिचित हुने बाटोमा लाग्यौं । उनले मेरो नाम र मैले उनको नाम जान्यौं । केवल नाम ।
उनले मेरो मोबाइल बनाइदिने भए । मैले ‘पर्दैन दाइ’ पनि भन्न सकिनँ । मोबाइल पसल खोज्दै गर्दा बाटोमा मैले उनलाई सोधें, “दाइ के गर्नुहुन्छ ?”
“खास केही गर्दिनँ । यसै बेलाबेला बिरामी हुने काम गर्छु । भर्खरै जागिर शुरु गरेर आएको । अहिले बिरामी हुने ट्रायल समय कटिरहेको छ,” उनी जोडले हाँसे ।
बिरामी हुने काम भनेको के थियो, मैले सोधिनँ । शहरमा बसेर मैले पनि बिरामी हुने नै काम गरिरहेको थिएँ । सबै मानिसहरू बिरामी हुने काम नै गरिरहेका झैं लाग्यो, यसो सोच्दा । दाइ साहित्यकार रहेछन् जस्तो भयो ।
“मैले फुटाएको मोबाइलको नम्बर देऊ । कुनै दिन सन्चो भएँ भने फोन गर्छु अनि हामी सँगै बिरामी हुने काम गरौंला,” यति भन्दै उनी हाँसे । हाँसोमा उनको घाँटीका केही चिजहरू देखिए । हाँसोसँगै घाँटीको दृश्य सित्तैमा । म मनमनै हाँस्ने । के बूढा होलान् र ?
मैले मिसकल दिएँ । हामी छुट्टियौं ।
म त्यस दिन बेलुका बिरामी परेछु । इनारमा भाँडा माझ्दामाझ्दै ढलेछु । कसैले उठाएर अस्पताल पुर्‍याइदिएछ । आँखा खुल्दा सनद दाइ अगाडि थिए ।
मलाई के भएको थियो भन्ने थाहा थिएन । उनी कसरी आइपुगे जस्तो लागेको थियो । कसैले मेरो मोबाइल खोलेर अन्तिम पटक फोन गरेको मान्छेलाई खबर गरिदिएछन् ।
“के हो भाई, झन् बिरामी सँगै हुनुपर्छ भनेको त एक्लै भइदिने ? म सञ्चो नभई तिमी भइदिने ?” उनले मलाई जिस्काए । कुममा प्वाक्क हाने ।
म केही दिन अस्पताल बसें र फर्किएँ ।
केही समयपछि एक रात असिना पानी पर्‍यो । म सुतेको कोठामाथिको च्यादर बेस्सरी करायो । डराउनै लागेको थिएँ । अचानक ढोकामा कसैले ढकढक ग¥यो । सनद दाइ थिए ।
“इन्द्रबहादुर राईलाई रातभरि झरी पर्‍यो लेख्न भन्दिऊँ त ?” जुत्ता फुकाल्दै उनी हाँसे ।
बेस्सरी भिजेका थिए । लगलग कामेका । जिउमा लुगा लपक्क टाँसिएको थियो । मैले पहिलोपटक देख्दाभन्दा सानो भएको थियो उनको जिउ । भोको देखिन्थे ।
हामी नभेटेको कति भएछ ? शहरमा कसलाई नभेटेको कति हुने, ठेगानै नहुने रहेछ । सोध्ने पनि कसलाई ?
“बर्खा लागेपछि बिरामी हुन चर्को हुन थालेको छ भाइ । निको नै हुन मान्दैन,” उनले घुँडाको घाउ देखाए ।
उनको घाउ पाकेको थियो तर आँखामा पीडा थिएन । ‘के भएको त दाइ ?’ भनेर सोधिनँ । बरु सोधें, “केही खाने दाइ ?”
“थाहा छ भाइ, घाउ नहुँदाको भन्दा हुँदाको पीडा मीठो हुन्छ । सहने बहाना हुन्छ,” मैले दिएको चिया पिउँदै उनले भने । मलाई के भन्ने जवाफ आएन । मुन्टोमात्र हल्लाएँ ।
उनी केबल कम्पनीमा काम गर्थे । कम्पनीले च्यानल नपुगेका ठाउँमा तार पुर्‍याउने अभियान थालेको थियो । उनी त्यसमा टेक्निसियन कि के थिए । त्यहाँ आउनुभन्दा पहिला बिजुलीको तार तान्ने काम पनि गर्थे । तारसँग कुनै मोह थिएन तर पनि तानिरहन्थे । मेरो कोठामा पहिलोपटक आउँदा पनि उनले केबलको तार छोएका थिए । भनेका थिए, “तारमा मनोरञ्जन दौडाउँदा दौडाउँदै आफ्नो जिन्दगीको मनोरञ्जन सकियो यार ।”
मैले ‘कसरी दाइ ?’ भनेर पनि सोधिनँ । सोधें, “केही खाने दाइ ?”
उनको बिहे भएको थियो । लभ म्यारिज हो भन्थे तर सुखद थिएन । कमाएको सबै सम्पत्ति भाउजूले नै लगिसकेकी थिइन् । अर्कै मान्छेसँग अफेयर छ त्यसको भन्थे । तर, गुनासो गर्थेनन् । “त्यसको भन्दा पनि बाउआमाको पीर छ यार, केही गर्न पाइएन,” यसै भन्थे ।
यत्तिकैमा समय बित्दै गएको थियो । उनलाई किन बितेको पनि पत्तो थिएन । मलाई पनि थिएन । मेरो टाउकोको समस्या जटिल हुँदै गइरहेको थियो । हरेक पटक तमासले दुख्थ्यो । एकसाइड पारेर दुख्थ्यो । कसैले लोहोरोले हात किच्याइदिएको जस्तो पीडा हुन्थ्यो मलाई । म अस्पताल जान मन गर्दिनथें । डक्टरले भन्ने गरेको कुनै पनि उपचारमा मेरो पहुँच थिएन । म त्यहाँबाट भाग्न चाहन्थें । कहाँ जान चाहन्थें, त्यो पनि थाहा थिएन ।
सनद दाइ अस्पतालमा आउँथे । जिस्क्याउँथे, “क्या भाइ, दाइको सिको गर्न लायो कि के हो ?”
केही समयमा हामी एउटै कोठामा बस्न थाल्यौं । भाउजू उनलाई छोडेर कता गइसकेकी थिइन् । मलाई आउँछिन् कि जस्तो लाग्थ्यो । दाइलाई पनि । उनले पहिला उनीहरू बस्ने गरेको कोठामा चाँबी लगाएर राखेका थिए । हामी पल्लो कोठामा बस्थ्यौं ।
“ऊ आई भने पहिलो दिन तिमी भुइँमा सुत्नू नि,” दाइ कुममा हान्थे ।
हामी पालैपालो बिरामी भयौं र पालैपालो निको भयौं । डुब्न लागेको मान्छेलाई पानीले माथि र तल लैजाँदै गरेजस्तो । अक्सर त हामी पानीमुनि नै हुन्थ्यौं । पानीमाथि झुलुक्क निस्किएको बेला निको भएजस्तो लाग्थ्यो ।
एकदिन उनलाई अस्पताल लगिएको बेला म बाहिर गएको थिएँ । मैले काम गर्ने अफिसले मलाई फिल्डमा खटाइदिएको थियो । उनलाई साह्रो परेर लगिएको भन्ने फोनमा थाहा पाएँ । कसले लगिदियो, थाहा छैन ।
उनको शरीर एकदमै पातलो हुँदै गइरहेको थियो । ‘किन ?’ भनेर मैले धेरैपटक सोध्दा पनि भनेनन् । डक्टरले के भनेको छ भनेर पनि सुनाएनन् । केवल यतिमात्र भनिरहे, “बिरामी हुने पेशामा लागेपछि यति त सामान्य हो । म चाँडै निको हुन्छु भाइ, चिन्ता नले ।”
“केही बेर त बस् न । बूढो मान्छेलाई रुँघ्यो भने धर्म हुन्छ,” जिस्काउँथे ।
शरीर हेरिनसक्नु भएको थियो । हातका नाडीजत्रा भएका थिए उनका खुट्टा । भित्रका नसा र हड्डीलाई पातलो छालाले ओढाएजस्तो । आँखा भित्र कता पुगेका थिए । म उनलाई हेरेर डराउँथें ।
मलाई देख्नासाथ उनी अनौठो हाँस्थे । त्यस्तो विचित्र हाँसो मैले देखेको थिइनँ । कस्तो नसुहाएको उनी हाँसेको ? हाँसेको नसुहाउने पनि हुन्छ ?
त्यही हाँसोले गर्दा म अस्पतालमा रोकिएँ । धेरैपल्ट । उनलाई चाँडै त्यहाँबाट लिएर निस्कन मन थियो मलाई । तर, म पनि कतै रोकिएँ ।
एकदिन बिहान । राति अबेरसम्म उनीसँग गफिएर पल्लो बेडमा सुतेको थिएँ । नर्स आएर झक्झक्याइन् । उठेर दाइतिर हेरें । उनी चीरनिन्द्रामा थिए ।
ठूलो शहर एकैपटक डुबेजस्तो भयो । उनी मेरा लागि शहरका केही खास मान्छेमध्ये एक थिए । बिनासूचना कोही डुब्दा कतैबाट पनि बचाउन नसकिने रहेछ ।
मैले आँसुलाई बचाउन सकिनँ । पुछ्न पनि सकिनँ । सनद दाइ मलाई नै हेरिरहेका थिए ।
“उहाँको कोही आफन्त भए बोलाइदिनुहोस्,” कसैले मलाई पछाडिबाट भन्यो । बाहिर बरन्डामा निस्किसकेको थिएँ । काठमाडौंलाई केही थाहा थिएन । मानौं— केही भएकै छैन ।
उनको आफन्त मबाहेक कोही पनि थिएन । मेरो आफन्त उनीबाहेक कोही थिएनन् ।
अब म एक्लो भएको छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology