आफैंलाई हेर्ने ऐना ‘पिपिरी’

“पहिलो कृति नै दोस्रो कृतिको रचनागर्भ हो !” मेरो सन्दर्भमा पनि ठ्याक्कै यही कुरा लागू हुन्छ ।
२०७४ को एक गृष्मकालीन महिना । ‘मुदिर’ आएको एक वर्ष भएको हुँदो हो । कामविशेषले चितवन पुगेको थिएँ । प्रिय सखा कपिल अञ्जान भेटिए । नियमित भेट हुने शृंखला टुटेको थियो । सोचेको थिएँ– मित्रले हालखबर सोध्लान् । गजलजस्तो बनेको जिन्दगीको कुरा होला । गजलजस्तो बन्न नसकेको जिन्दगीको कुरा होला । गलत निस्कियो मेरो अनुमान ।
“अर्को किताब लेख्न कहिले शुरू गर्छौ ?”
अचम्म ! उनले त हालखबरभन्दा पहिले किताबको कुराबाट गफको मेलो निकाले ।
‘मुदिर’को आगमनपछि मेरो दिमागमा उपन्यासका पात्ररूपी बीज त प्रविष्ट भएका थिए तर ती भ्रूणका रूपमा विकास भइसकेका थिएनन् । कपिलले उकेरा लगाएपछि के चाहियो ? फुरूंग परिहालें ।
“तत्कालै लेखिहाल्न दिमागमा फुर्तिलो कथा छैन !” टार्ने कोशिस त गरें ।
तर, पात्रहरूले बसिखान कहाँ दिन्थे ? एककिसिमको ऐंठन शुरू भयो । कपिलसँगको वार्तालापको एक महिनापछि ‘पिपिरी’ यात्रा आरम्भ गरें ।
० ० ०
कतार ! धेरैको मथिंगलमा यो मरूस्थलभन्दा भिन्न छैन । प्रियजन गुमाएका आफन्तजनको मनमा त यो ‘मृत्युलोक’ नै बनेको होला । आलो पसिना टाँसिएको रियालमा जिन्दगीको रथ धकेलिरहेका परिवारजनका लागि त कतार अमरापुरी नै हुने भइगो । मेरा लागि कतार ‘मुदिर’को जन्मदाता पो भयो । कतारको उष्ण भूमिमा पाइला नटेक्दो हुँ त ‘मुदिर’ले मेरो आँगनमा कसरी पाइला टेक्दो हो ?
‘पिपिरी’को कथाचाहिँ कतार जानुभन्दा निकै अगाडिको हो । बाल्यकाल छिचोलेर कैशोर्यकालतिर पाइला चाल्दै गर्दाताकाको ।
मनभित्र ठूलो हुटहुटी थियो– उपन्यासमा भिन्न ढंगले आफ्नो जिन्दगी पोख्ने ।
तिनताक ‘अस्थिपञ्जर’ नाम दिएर उपन्यासमा हाडछाला भर्दै थिएँ । आफूभित्र भ्रमका आँकुरा पलाइहाल्यो । क्या उपन्यास लेखें लागेको थियो । तर, अमर न्यौपाने दाइले ओखती बनेर भ्रम निवारण गरिदिनुभयो, “भएन मीनराज, व्यापक गोडमेल गर्नुपर्छ ।”
वास्तवमा त्यो निकै मीठो सुझाव थियो । नत्र ‘पिपिरी’को अस्थिपञ्जर उपन्यासको कंकालमात्रै हुँदो हो । भाषा, शिल्प र लालित्यबाट कोशौं टाढा ।
झन्डै पाँच वर्ष भस्र्याएपछि ‘पिपिरी’को धून उपन्यासको आवरणमा पाठककको हातमा आइपुगेको छ ।

‘पिपिरी’ कुनै कथा होइन । यसको पात्रविधान वास्तवमा अ(कथा) नै हो ।
आख्यानकार अमर न्यौपाने दाइ अक्सर भन्छन्, “आर्यघाटमा जलिरहेको मान्छेसँग पनि दुई दर्जन उपन्यास बन्न पुग्ने कथा हुन्छन् ।”
आर्यघाट पुग्दा चिता पखालिरहेको दृश्य आँखामा प¥यो भने हत्तपत्त अमर दाइलाई सम्झन्छु– यी शवको धूँवा होइन, नलेखिएको उपन्यासको गन्ध हो ।
‘पिपिरी’ त्यही जल्न नपाएको एउटा कथा हो ।
सुविख्यात नाटककार टोम स्टोपर्ड भन्छन्, “यदि तपाईंले आफ्नो बाल्यकाल बोकेर हिँड्नुहुन्छ भने तपाईं कहिल्यै बूढो हुनुहुन्न ।”
‘पिपिरी’ त्यस्तै कथा हो, जसका पात्रहरू जहिल्यै बालख रहन्छन् । कहिल्यै जवान हुँदैनन् । बुढ्यौली त उनीहरूको शब्दकोषमै छैन ।
लेख्न बस्दा मेरो मानसपटलमा प्रेमचन्दको एउटा भनाइ ठुङ्न आइपुग्छ– लेख्न त ती मानिसहरूले सक्छन्, जोभित्र छटपटी हुन्छ ।
वास्तपमा ‘पिपिरी’ मभित्रको त्यही छटपटी र हुटहुटीको अतृप्त कथा हो ।
पछिल्लो समय आख्यानमा निर्माण, विनिर्माणको उपक्रम चलिरहेछ । कोठमा बसेर हामी स्वैरकल्पनाका अनेक फूलबुट्टा भरिरहेका हुन्छौं । आस्वादित बनिरहेका हुन्छौं । तर, पनि दुःखी छौं हामी ।
कालान्तरमा आफैंले लेखेका कथा पनि निस्प्राण र नीर्जिव लाग्न थाल्छन् । वास्तवमा त्यस्ता कथाहरूको त जीवन नै हुँदो रहेनछ । र त, अरूका ठुल्ठूला कथा खोज्दै हिँड्न हामीले आफ्नै कथा भन्न गाह्रो पो मानिरहेका छौं कि भन्ने आत्मानुभूति पनि हो– ‘पिपिरी’ ।
वास्तवमा आफैंतिर फर्किएर नहेर्दासम्म आफ्नो जीवनको रंग ठम्याउन गाह्रो हुन्छ । अतः आफू हिँडेको बाटोको पादध्वनि पनि हो– ‘पिपिरी’ ।
शहरी सभ्यताको थिचोमिचोमा परेपछि ग्राम्य सभ्यता इतिहासको गर्तमा विलुप्त भइसक्यो । फाटेको जाँघेबाट चिहाइरहेको बाल्य अभाव, चुँडिएका चप्पलमा मुस्कुराइरहेको शिशु जिन्दगी, वनपाखामा गुञ्जने पिपिरीको सुरम्य संगीत । र, हिजोका बालसुलभ भोगाइहरू क्रमशः मिथ, लोक र ग्राम्य कथा बनिसके ।
केही गाउँको मौलिकता ०७२ वैशाखको भूकम्पले आफूसँग लिएर गयो । बाँकी चिनारी भएरभरका युवासँगै विदेश पलायन भइसक्यो । हिजो आफूले भोगेको औसत तर अतिव लोभलाग्दो बाल्यकाललाई जिउँदो राख्न पनि उपन्यासकै सहारा लिनुपर्‍यो । यसर्थ ‘पिपिरी’ आमबाल्य भोगाइको रमणीय संग्रहालयसमेत हो ।
० ० ०
बालखहरू अबोध हुन्छन् भन्ने आमबुझाइ छ । तर, उनीहरूको शैशव मानसपटल जिज्ञासा र कुतूहलले भरिएको हुन्छ भन्ने तथ्य किन हो किन हामीले बिर्सिएका छौं । भविष्यको सहाराका नाममा हामीले उनीहरूलाई आफ्नो सपनाका भरिया बनाएका छौं । गाउँ–समाज र आफ्नै परिवारप्रति उनीहरूको अलग दृष्टिकोण हुन्छ र यसले उनीहरूको वैयक्तिक जीवनमा प्रभाव पारिरहेको हुन्छ भन्ने तथ्यसँग परिचित त छौं तर आँखा चिम्लन्छौं ।
तसर्थ ‘पिपिरी’मा म आफैंले भोगेर आएको भूतपूर्व जिन्दगीलाई वर्तमानको क्यानभासमा उतार्ने कोसिस गरेको छु । समाजमा भित्रभित्रै छिपेर बसेको बाल्य मनोदशा, गरिबी र अभावको गुँडभित्र मुस्किलले पँखेटा हालेका र खुला हावामा पङ्ख फिँजाइरहेकाहरूले उपन्यासमा आफैंलाई पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology