हेम्जा आलु महोत्सवको तयारी तीब्र

पोखरा, ३ चैत – पोखराको हेम्जामा आलु महोत्सवको तयारी थालिएको छ । महोत्सव चैत २२ गतेदेखि वैशाख १ गतेसम्म आयोजना हुँदैछ । यो महोत्सवको १० औँ संस्करण हो । तयारीकै क्रममा महोत्सवलाई त्यहाँका आमा र युवा समूहहरुको सहयोग रहने भएको छ । आमा र युवाहरुको शनिबार भएको भेलामा उनीहरुले हेम्जाको पहिचानसँग जोडिएकोले महोत्सवलाई हरतरहले सघाउने बताए । कार्यक्रममा बोल्दै नमूना आमा समूहकी लक्ष्मी बास्तोलाले महोत्सवलाई आमा दिदी बहिनीहरुको चाड भएको बताइन् । नवजागरण महिला समूहकी सरास्वती तिम्सिना, नहरचोक आमा समूहकी मनु तिम्सिना, जनकल्याण आमा समूहकी धना तिम्सिना हेमजा आमा समूहकी उमा आचार्य त्रिपाठी, जनजागृति आमा समूहकी मुरली तिम्सिना लगायतले पनि महोत्सवको सफलताको लागि सघाउने बताए ।
कार्यक्रममा दिव्यदृष्टि युवा क्लवका मनोज कार्की, पुर्व खेलाडी सुधिरजंग थापा, विष्णुपादुका क्लवका टिम क्याटेन रोशन केसी, हेमजा युवा संजाल तथा हेमजा युनाईटेडका प्रतिनिधिले पनि महोत्सवको व्यवस्थापनमा साथ दिने बताए । कार्यक्रममा मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्का, महासचिव वसन्तकुमार श्रेष्ठ, आर्थिक संयोजक मदन थापा, झाँकी व्यवस्थापन समितिका जयराम तिमिल्सिना, आमा समूह परिचालन समितिकी सिर्जना सापकोटा, सल्लाहकार दानबहादुर थापा, रामचन्द्र त्रिपाठी लगायतले सहजीकरण गरेका थिए । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, समावेश छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने अर्थ संकलन उपसमितिका संयोजक मदन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology