के अखबार मर्दैछन् ?

  • प्रविधिको बढ्दो विकास कुनै पनि असल कुराहरुको विस्थापनका लागि होइन ।
  • दुर्ईवर्ष अघि म अमेरिकाको न्युयोर्कमा रहेका बेला त्यहाँको एक प्रमुख दैनिक अखबार न्युयोर्क टाइम्समा पढेको एक लेखको शीर्षक थियो यो । त्यो आलेखमा लेखकको धारणा थियो–अब संसारबाट अखबारहरु मर्दैछन् । लेखकको नाम अहिले बिर्सिँएँ । तर उनले लेखमार्फत राखेको धारणा अहिले पनि सम्झिँदै छु कि अब संसारबाट अखबारहरु मर्दैछन्, किनभने उनीहरुको स्थान अबका केही वर्षभित्रै डिजीटल मिडियाले लिँदैछ । सारमा उनको त्यस लेखको उद्देश्य भनेको संसारमा पछिल्लो समयमा डिजिटल मिडियाको विकास हुदै गएपछि अब अखबारहरु कागजमा छापिने र मानिसका घर घरमा पुग्ने जमाना गए । त्यस अखबारको सामग्री अथवा सूचना नागरिकले आफ्नो गोजीमै भएको मोबाइल या कम्प्युटरबाटै पढ्न पाउने भएपछि किन अखबार छाप्ने र वितरण गर्ने झन्झट गर्नुपर्यो ?
    म केही दिन अमेरिकामा रहेँ । त्यो लेखपछि पाठक र सरोकारवालाहरुका विविध खालका क्रिया प्रतिक्रियाहरु पनि आए । उनीहरुमध्ये कतिपय लेखकको विचारसँग सहमत थिए भने कतिले त्यसको कडा विरोध पनि गरेका थिए । विरोध गर्नेहरुले नयाँ प्रविधि आउँदैमा अखबार बन्द नहुने तर्क गरेका थिए । उनीहरु के त्यसो भने पुस्तकहरु पनि बन्द हुन्छन् त भनेर पनि भनिरहेका थिए । उनीहरुमध्ये अधिकांशले संसारमा मिडियाका नयाँ नयाँ स्वरुप र तिनको सञ्चालनका लागि नयाँ प्रविधि र ‘डोमेन’ हरुको विकास भइरहेको भए पनि एकले अर्काेलाई विस्थापित गराएर बन्द नै गरेका उदाहरणहरु भने निकै नै थोरै छन् भनिरहेका थिए ।
    के अखबारहरु मर्दैछन् त ? यो प्रश्न र बहस अमेरिकामा मात्र सीमित छैन । विश्वका अरु देशहरुमा पनि उठेको छ । त्यहाँको पनि तर्क त्यही हो कि अब अनलाइन समाचार पोर्टलहरु बढेका छन्, जसका कारण अखबारहरुलाई गाह्रो पर्न सक्छ । बिहानै अखबारको सट्टा अनलाइन हेर्न सकिने छ, त्यसैले अब पत्रपत्रिकाहरुको धेरै खाँचो पर्ने छैन । कुनैपनि देशको मात्र होइन कि संसारमा नै अनलाइन समाचार पोर्टलहरु बढ्दै छन् र ती मिडियाले अखबारको स्थान आफैले ग्रहण गर्नेछन् । कतिले सबैले देख्नेगरी मञ्चमा नै आसन ग्रहण गर्नेछन् र कतिले भने यथास्थानमौ गर्नेछन् तर जहाँजहाँ अखबार छन् ती सबैको स्थानमा यीनै रहने छन् । सबैको अनुमान यस्तै छ, सबैको तर्क यस्तै छ ।
    त्यसो भए नेपालको हालत के छ त ? अहिले हाम्रा सामु पनि यो प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको छ । यो प्रश्न मिडिया हाउसहरु, मिडियाका सरोकारवालाहरु अनि धेरैजसो त विश्वविद्यालयका पत्रकारिता कक्षाहरुमा उठ्ने गरेको छ यो सवाल र जवाफ । प्रविधिको बढ्दो विकासले अखबारलाई नै हान्नेछ भन्ने अनुमान धेरैले लगाउने गरेका छन् । उनीहरुले पनि अमेरिकनले भन्दा फरक अर्थ र अनुमान लगाउने गरेका छैनन् ।
    तर मलाई त्यस्तो लाग्दैन । मलाई लाग्दछ प्रविधिको बढ्दो विकास कुनै पनि असल कुराहरुको विस्थापनका लागि होइन । कुनै पनि विषयको नयाँपन या नवीन्तम विकास भनेको बरु असल कामलाई प्रवद्र्धन या विस्तार गर्नका लागि हो । जस्तो कि पहिले सञ्चारका लागि एकखाले मेसिन आएको थियो पेजर नाम गरेको । त्यो पेजरले एकोहोरो मात्र सञ्चार गर्दथ्यो । त्यसमार्फत ‘फलानोलाई फोन गर्नु रे’ भन्ने काममा मात्र प्रयोग हुनसक्थ्यो । तर त्यसको केही समयमै नेपालमा मोबाइल फोनको नै विकास भयो । अब मोबाइलबाटै दुइतर्फी नै कुराकानी गर्न सक्ने अवस्था भयो । त्यसपछि त्यो पेजरको स्थान मोबाइलले लिइदिएको हो । यहाँनेर यो दृष्टान्तले के कुराको पुष्टि गर्न खोजेको हो भने प्रविधिले बढी कामयवी साधनको अनुशरण थप बढाउँछ । त्यसैले पेजर विस्थापित हुनपुग्यो । तर त्यो पेजर पुरै काम गर्न पहिले नै आएको थिएन । एकतर्फी मात्र काम गर्न आएको थियो । किनभने दुइतर्फी सञ्चारको कामगर्ने टेलिफोन सेट त नेपालमा छँदै नै थियो ।
    प्रश्न अखबारको हो । अखबार पत्रकारिताको न्युनतम अथवा प्रारम्भिक विधा या स्वरुप हो । यसपछि पनि पत्रकारिताका धेरै विधाहरुको विकास भएको छ । अखबारपछि रेडियोको विकास भयो र टेलिभिजन आए । पछिल्ला केही वर्षयता संसारमै र नेपालमा समेत अनलाइन समाचार पोर्टलहरु आएका छन् । तर तिनले अखबारको काम गर्न सकेका छैनन् । अखबारले आफ्नो काम गर्दैछ र रेडियो, टिभी या अनलाइनले आफ्नै काम गर्दैछन् । यसरी कुनै पनि सञ्चारको विधामा त्यो भन्दा अर्काे विस्तारित र विकसित विधाको विकास भयो भनेर अर्काे विधाको मृत्यु हुने भए त संसारमा रेडियोको विकास पछि अखबार मरिसकेको हुने थियो । त्यस्तै टेलिभिजनको आविश्कारपछि त झन् रेडियो ज्युँदै मर्नुपर्ने हो किनभने रेडियोको आवाज मात्र सुन्ने हो तर टिभीले तस्बिर नै देखाइदिन्छ । सुनेकोमा भन्दा देखेको वस्तु या अवस्थामा मानिसको झन् बढी भावना भरिएको हुन्छ । त्यसैले गर्दा टिभी रेडियोको काल बन्नुपर्ने हो । अर्काे कुरा अहिलेको अनलाइनमा पनि त्यो टिभीमा जस्तै सबै चिजहरु उपलब्ध छ । यसले पनि सचित्र बयान गर्नसक्छ । अझ यसमा त झन् शब्द र चित्र अनि आवाज सबै छ । त्यसैले रेडियो टिभी र पत्रिका सबका सबको निधनको बाटो अब खुलेको हो भनेर अनुमान लगाउने त ? करिब १२ वर्षअघि पनि नेपालमा एक नयाँ अभ्यासको विवाद थालिएको थियो । नेपालका एफएम रेडियोहरुले बिहानै दैनिक पत्रिकाको समाचार पढ्ने भए र त्यसको विरोधमा अखबारवालाहरु निस्किए । उनीहरुको तर्क थियो कि यसरी बिहानै रेडियोले अखबार पढेपछि पत्रिका कसैले किन्दैनन् अनि संकटमा परिन्छ । के त्यसपछि नेपालका अखबारहरु नै संकटमा परे त ? या रेडियोमा थोरैमात्र शीर्षक पढेपछि झनै त्यो समाचारको बिस्तृत विवरण जान्न पाठकले झनै अखबार किनेर पो पढे कि ? यो अनुसन्धानको विषय हुनसक्छ ।
    यतिखेरको हाम्रो यो आलेखको आसय हो कि अखबार मर्दै छैनन् । बरु उनीहरुको दायित्व थपिएको छ । यसको उदाहरण ढोरपाटन दैनिक हो । जो करिब दुई दशक पुग्न आँटेको आफ्नो जवानीलाई यतिखेर पोखरा प्रवेश गराएको छ । यो सब पोखरेली तथा पोखरामा बस्ने धौलागिरिबासीको मायाले हो । कसैको माया नभई कहीँ कतै कोही घुस्रिन जाँदैन । यतिखेर पोखरामा छापिन थालेको छ । यसबेला दिने शुभकामना पनि यही नै हो । जसले गर्न सक्छ त्यसको आयतन आफै बढ्दै जान्छ । उसले पुष्टकारी खाएर जिममा ज्यान तन्काउनै पर्दैन । विश्वमा अखबार मर्दैत छैनन् भन्ने प्रश्नका बाबजुत पनि ढोरपाटनले आफ्नो अखबारको आयतनलाई आज झनै बढाउँदै लगेको छ । यसको उदाहरण गत बिहीबार मैले बुटवलामा पनि प्रस्तुत गरेँ । बुटबलका एकजना वरिष्ठ सञ्चारकर्मी बालकृष्ण चापागाइँले नेतृत्व गर्नुभएको अखबार दैनिक पत्रको कार्यालयमा पुगेका बेला मोफसलबाट गरिरहेको पत्रकारिताका लागि केही चूनौतीहरु औँल्याउन उहाँले गरेको आग्रहमा मेरो भनाई थियो– संसारमा चलेको यो बहसलाई अपुष्ट प्रमाणित गर्दै ढोरपाटनले पोखराबाटै छपाई गर्नेगरी आफूलाई विस्तारित गरेको छ, त्यस्तै लोकप्रियता दैनिक पत्रले पनि प्रतिदिन हासिल गरिरहेकोले चूनौती नै देख्नुपर्ने कुनै कारण देखिँदैन । जसले जे काम र कर्तव्य गर्नुपर्ने हो त्यो नियमित र नियमानुसार गर्यो भने अकालमा मृत्युवरण गर्नुपर्दैन । यसको अर्थ हो अखबारले पनि आफ्नो काम गर्नुपर्यो, आफ्ना कर्तव्यहरु पूरा गर्नुपर्यो । स्थापनाकाल देखि नै म यस अखबारको परिवारको एकजना सदस्य भएको नाताले पनि यस परिवारको आयतन अझ बढी फैलिएको देख्न चाहनु स्वाभाविकै हो । तर यस्तो चाहना सबै पाठकको होस् र पोखरेलीको जनजिब्रोमा पनि बाग्लुङ्गेकोजस्तै ढोरपाटन झुण्डियोस् । त्यसपछि अहिलेभन्दा अझ बढी उदाहरण ढोरपाटनकै प्रस्तुत गर्न पाइयोस् । शुभकामनाको यीनै शब्दहरु । (पाठक राससका कार्यकारी सम्पादक हुन्)

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology