कुचो लिएर सडक सरसफाईमा निस्के बागलुङका आमाहरु

बागलुङ, ३ चैत – सदरमुकामस्थित बागलुङ कालिका आवारोड आमासमूहले बजार सफाई गरेका छन् । उनीहरुले नगरका विभिन्न टोलमा पुगेर सफाई अभियान चालेका हुन् । समयमा फोहोर मैला उठ्न नसकेको, घर अगाडिको फोहोर उठाउन नगरबासी जागरुक नभएको कारणले सन्देश मुलक काम गरेको समूहकी सदस्य लक्ष्मी शर्माले बताईन् । नगरभित्रको सरसफाईको जिम्मा नगरपालिकालाई भएपनि सफाईमा चासो कम हुन थालेकोले यो अभियान गरेको उनीहरुको भनाई छ । यसरी फोहोर संकलन गरेर आमाहरुले गरको गेटमा समेत डस्टविन पनि राखिदिएका छन् । स्थायी रुपमा फोहोर व्यवस्थापनको काम नगरेपछि नगरक्षेत्रमा सफाई अभाव छ । स्थापना कालदेखि बागलुङ नगरपालिकाले राजमार्ग छेउबाट कालीगण्डकी नदीमा फाल्ने फोहोर फेरी ठाउँ सारेर दिगो व्यवस्थापनलाई बेवास्ता गरेको आरोप समेत लाग्ने गरेको छ ।
अहिले नगरपालिकाले फोहोर उठाउने जिम्मा स्थानीय सहकारीलाई दिएको थियो । सम्झौता नविकरण समेत नभएको भन्दै फोहोर उठाउन आनाकानी भएपछि आमासमुह, विद्यालयका बालबालिका लागेर फोहोर संकलन भैरहेको हो । आमाहरुले उठाएको फोहोर एकीकृत गरेर फाल्ने व्यवस्था मिलाएको समूहकी अगुवा लक्ष्मी शर्माले बताईन् । बजारमै फोहोर मैला सफाईका लागि यहाँका बालबालिकाले हरेक शनिवार अगुवाई गरेका छन् । सदरमुकामस्थित दुई वटा बिद्यालयमा पढ्ने बालबालिकाले सफाई अभियान थालेपछि उनीहरुकै साथमा कलेजका बिद्यार्थी र अन्य संस्थाले पनि साथ दिन थालेका छन् । सदरमुकामकै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलमा पढ्ने ज्योती थापा, सुमी कार्की र सुप्रिम कार्की तथा रुद्रे पिपल माविमा अध्ययन गर्ने ज्वाला थापाको अगुवाईमा शनिवार धेरै बालबालिका जुट्न थालेका छन् । उनीहरुले कालिका खानेपानी कम्पनीका प्रोपाईटर संगको सहकार्य गरेर पुराना जारलाई फोहोर फाल्ने साधन बनाएरका छन् ।
अहिले सम्म ३ सय जार काटेर डस्बिन बनाएर पोलपोलमा राखेका छन् । बिद्यालयमा पढ्ने क्रममा उनीहरुले सामुहिक छलफल गरेर यो अवधारणा ल्याएको बताए । घरभित्रको सरसफाईको क्रममा एकदुइवटा जारलाई प्रयोग गरेपछि सबैको सहयोग पाएर टोलटोलमा सफाई अभियान चलाउन लागेको ज्योती थापाले बताईन् । अभियानलाईनै धौलागिरी बहुमुखी क्यामपसको नेविसंघ ईकाईले पनि साथ दिएको हो । ‘भाईबैनीको अभियान देखेर हामी पनि प्रभावित भयौं त्यसैले उनीहरुलाई सहयोग गरेर हामी पनि सफाई अभियानमा हिडेका हौं’ नेविसंघकी सदस्य सीता सापकोटाले भनिन्, ‘हामीले काम गर्न थालेपछि घरघरबाट आमाबुवा पनि निस्केर साथ दिनु भएको छ ।’ नगरपालिकामा कार्यरत जापानी स्वयंसेवकहरु पनि बालबालिकासंगै निस्कन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology