सन्ततीको सम्झनामा ओभाएनन् आशु………..

बागलुङ, ७ चैत – फागुन ७ गते जिल्लाको जैमिनी नगरपालिकाकै लागि कालो दिन सावित भयो । जनकल्याण माविको बर्षिकोत्सव मनाएर फर्किने क्रममा जैमिनी–८ छिस्तीको रापुङमा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना कलिला बालिकासहित चार जनाको मृत्यु भएपछि सिंगो नगरपालिका शोकमा डुबेको थियो । नगरभरि फैलिएको शोक दुर्घटना भएको समय लम्बिँदै जाँदा बिस्तारै धेरैले बिर्सिए तर दुर्घटनामा आफ्ना कलिला बालिका गुमाएको क्युवैको गाउँमा भने अझै आँसुले छोडेको छैन् ।

दुर्घटनामा मृत्यु भएका परिवार मात्रै होईन सिंगो गाउँनै उनीहरुको सम्झनामा रुने गरेको छ । दुर्घटनाका कारण मृत्यु भएका र घाईते भएकालाई पिडामा मल्हम लगाउन भन्दै बिभिन्न संघ संस्था र स्थानीयले सहयोग संकलन गरेर हस्तान्तरण गरिरहँदा उनीहरु भक्कानिएर रोए । जैमिनी नगरपालिको छिस्ती, जैदी लगायतका क्षेत्रबाट बागलुङ बजारमा पेशा व्यवसायको शिलशिलामा रहेकाहरुले स्वस्फुर्त अभियान चलाएर उठेको रकम मंगलबार हस्तान्तरण गरे । राहत रकम बुझ्न आएका मृतकको परिवारको भावुकताले सिंगो गाउँनै पिडामा रहेको उजागर गरिरहेको थियो ।

राहत वितरण तथा श्रद्धाञ्जली सभामा उपस्थित गाउँलेहरु सबैका आँखा अझै ओभएका छैनन् । दुर्घटनामा मृत्यु भएकी प्रियंका पुनका पिता थम्मन थापा कार्यक्रममै भक्कानिएर रुन थालेपछि क्युवैमा सन्नटा छाईरहेको छ । दुर्घटनामा मृत्यु भएकी टिका (तुलसी) पुन, ज्योति पुन, प्रियंका पुन र एलिना पुनको परिवारमा फागुन ७ को घटनामा लागेको घाउ ओभाएको छैन् । मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाईतेहरु सम्झना पुन र संगम श्रीषको परिवार पनि दुःखमा छन् । खुट्टामा चोट लागेका संगम अस्पतालबाट डिस्चार्ज हुने चरणमा रहेको भएपनि सम्झनाको अझै होस आएको छैन् ।

दुर्घटनामा घाईते भएका ११ जनामध्ये ९ जना घर फर्किएको लामो समय बितेको भएपनि दुर्घटनाको कहालीलाग्दो क्षण भने भुल्नै नसकेको घाईते धना श्रीषले बताईन् । दुर्घटनामा मृत्यु भएका परिवारको लागि राहत र घाईतेको उपचार खर्चका लागि बिभिन्न सामाजिक संघ संस्था, व्यक्ति तथा समुदायले सहयोग गरिरहे छन् । उनीहरुको पिडामा साथ र सहयोग दिँदै सान्तवना दिनका लागि अभियानहरु सञ्चालन भैरहेका छन् । जैदी र छिस्तीबाट बागलुङ बजारमा बस्दै आएकाहरुले सञ्चालन गरेको सहयोग संकलन अभियानबाट संकलित रकम मृतक तथा घाईतेका परिवारलाई बुझाईएको छ ।

प्रतिनिधिका रुपमा क्युवै पुगेका उद्योग बणिज्य संघ बागलुङका उप–महासचिव थानेश्वर सुवेदी, साविकको छिस्ती गाविसका पुर्वअध्यक्ष बिष्णु पौडेल र समाजसेवी मानबहादुर पुन सहितको टोलीले उनीहरुलाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो । मृतकहरु चारै जनाको परिवारलाई जनही १५ हजार, उपचार गराईरहेका घाईते दुई जनालाई जनही ३५ हजार, गम्भिर घाईते भएका धना श्रीष, बिष्ण श्रीष र पुजा श्रीषलाई २० हजार र बाँकी ६ जना घाईतेहरुलाई जनही १० हजारका दरले उक्त रकम वितरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै सुवेदीले मृत्युलाई फर्काउन नसकिने भएपनि राहत रकमले मृत्यु पछिका कर्ममा सहयोग पुगोस भन्ने हेतुले रकम संकलन गरेर हस्तान्तरण गरेको बताए । घाईतेको उपचारमा परिवारलाई थप पिडा पर्न नदिनको लागि रकम सहयोग गरेको उनको भनाई थियो । दुर्घटनाका घाईते तथा मृतकका परिवारलाई जैमिनी नगरपालिका, जापानमा रहेका जैमिनीबासी, कोरियामा रहेका जैमिनीबासी लगायतका संघ संस्थाले पनि यसअघिनै सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology