बृद्धबृद्धा र विपन्नका लागि वरदान बन्दै निशुल्क स्वास्थ्य शिविर

म्याग्दी, १२ चैत – यसै त उराठ र पट्यार लाग्दो बुढ्यौली,त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुखलाग्दो हुँदैन । यस्तै दुःख र पीडामा थिईन म्याग्दीको रघुगंगा गाउँपालिकको कुइनेमंगलेकी ७१ वर्षिया सश्रुङ्गा छन्त्याल ।
दुर्गम कुइेमंगलेबाट २ दिनको समय लगाएर मोतियाविन्दुको शल्यक्रियाका लागि शिविरमा आएकी ७१ वर्षिया छन्त्यालले बुढेसकालमा छर्लङ्ग आँखा देख्न पाएकोमा खुसी व्यक्त गरिन। ‘विगत तीन वर्षदेखि दुइवटै आँखा राम्रोसंग देख्दैनथें’ छन्त्यालले भनिन ‘अप्रेशन गरेपछि त छ्याङ्गै देख्ने भएँ ।’

‘हामी नेपाली’ काठमाण्डौंको आयोजना,नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंको प्राविधिक सहयोग,बेनीका विभिन्न लायन्स क्लवहरु, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौंको व्यवस्थापनमा सम्पन्न निशुल्क आँखा शिविरबाट १ हजार ६ सय जनाभन्दा बढी आँखाका विरामीहरु लाभान्वित भएका छन । ती मध्ये दुई सय भन्दा बढि विरामीहरु ७० वर्ष पार गरेका रहेका थिए । शिविरमा ८२ जना मोतियाविन्दु भएका विरामीहरुकोको निशुल्क शल्यक्रिया समेत गरिएको थियो ।
तीन वर्ष पछि आफ्ना आफन्त र उज्यालो संसार देख्न पाएपछि छन्त्यालले खुसीहुँदै भनिन —‘यो उमेरमा पनि मैले अर्को जन्म पाएँ ।’
छन्त्याल जस्तै बेनी नगरपालिका ५ पुलाचौरकी ५२ वर्षिया मना परियार,मंगला गाउँपालिका २ मिठौलाकी ७२ वर्षिया मैति किसान लगातएले नयाँ दृष्टि पाएका छन । आँखाको सल्यक्रिया लगत्तै नजिकै रहेका आफन्तलाई समातेर मुसुक्क हाँसर उनिहरुले चारैतिर छक्क पर्दै हेरेपछि चिकित्सक सहित स्वास्थ्यकर्मी समेत दङ्ग परेका थिए ।
आँखा देख्ने भएपछि ७० वसन्त पार गरेका बृद्धबृद्धाहरुले चिकित्सकहरुलाई ‘भगवानको रुप’ भनेर प्रशंसा समेत गरेका थिए । बेनी नगरपालिका ५ पुलाचौरकी ५२ वर्षिया मना परियारले १३ वर्षपछि आफूले पूर्ण रुपमा आँखा देखेको बताईन । परियारले भनिन ‘उनिहरु (चिकित्सक) भगवानकै रुप बनेर आए,म १३ वर्षपछि पूर्णरुपले आँखा देख्न सक्ने भएँ ।’
त्यसैगरी मंगला गाउँपालिका २ मिठौलाकी ७२ वर्षिया मैति किसान विगत ७ वर्षदेखि मोतियाविन्दुका कारण अध्यारो जिन्दगी वाचिरहेकि थिईन। अहिले उनले पनि आँखा देख्ने भएपछि चिकित्सक र शिविर आयोजकलाई ‘मेरा लागि त देउतै आए’ भनेर आशिक समेत दिईन ।
बुढ्यौलीका कारणले आँखाको दृष्टि कमजोर भएका कैयौं विरामीहरुले पनि चश्मा पाएपछि पहिलाको भन्दा राम्रो देख्न थालेको प्रतिक्रिया दिए ।

म्याग्दीमा पछिल्लो समय विभिन्न संघसंस्था र व्यक्तिहरुले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने क्रम बढेसंगै स्थानीय बृद्धबृद्धा र विपन्न व्यक्तिहरु लाभान्वित भएका छन् । गत फागनुमा म्याग्दी पोखरा चौतारीको आयोजना,ज्यामरुककोट समाज नेपाल र बेनी नगरपालिका २ वडा कार्यालयको सहआयोजनामा ज्यामरुककोटका भकुण्डेमा सम्पन्न विशेषज्ञ चिकित्सक सहितको बृहत निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका थिए ।
शिविरमा ४ सय १८ जना महिला र १ सय ८७ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये १२२ जना स्त्रीरोग,नाक,कान र घाँटीका ८७,फिजिसियन १९९ र हाडजोर्नी तथा नशारोग सम्वन्धि २०७ जना विरामीले विशेषज्ञ चिकित्सकहरुबाट उपचार र सल्लाहा प्राप्त गरेका शिविरको आयोजक संस्था म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष एवम् शिबिरका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।
संयोजक घिमिरेका अनुसार २७ जना विरामीहरुलाई पोखरामा नै बोलायर उपचार गरिएको छ । शिविरमा गौश्वारा, विमिराबोट,तमाने, भकुण्डे,फापरखेत,खवरा,बगरफाँट लगाएत बाग्लुङ जिल्लाको चनौटे,पन्चासे र मालिकाबाट समेत विरामीहरु आएका शिविरको सहआयोजक संस्था ज्यामरुककोट समाज नेपाल काठमाण्डौंका अध्यक्ष रामवहादुर कार्कीले बताए ।

शिबिरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.भरत खत्री , स्त्रीरोग विशेषज्ञ डा.छममाया पुन, फिजिसियन डा. रोशन श्रेष्ठ, नशारोग विशेषज्ञ डा. राजन शर्मा, हाडजोर्नी विशेषज्ञ डा.सुनिल पहाडी, फिजिसियन डा. किरण तामाङ तथा नाक कान घाटी का विशेषज्ञ डा.सञ्जय महर्जनको टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेका शिविरको आयोजक संस्था म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष एवम् शिबिरका संयोजक गोपाल घिमिरेले जानकारी दिए।
त्यसैगरी जिल्लाका मंगला,मालिका,धौलागिरि र रघुगंगा गाउँपालिकामा हालै सम्पन्न भएका निशुल्क स्वास्थ्य शिविरहरु प्रभावकारी भएपछि नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा पुलाचौरमा सम्पन्न भएको निःशुल्क आँखा शिविरमा साढे दुई सय जना लाभान्वित भएका छन् ।

पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे २ सयजना लाभान्वित भएका हुन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २ सय ४० जनाको आँखा परीक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधी वितरण गरिएको छ । तीमध्ये ५ जनाको तुरुन्तै मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने भेटिएको हुँदा उनीहरुलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा रिफर गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताए ।

म्याग्दीमा एक वर्षको अवधिमा १४ वटा निशुल्क स्वास्थ्य शिविरहरु सम्पन्न भएको छन् । ती शिविरहरुबाट स्थानीय बृद्धबृद्धा र विपन्न वर्गहरु लाभान्वित भएका चिकित्सकहरुले बताएका छन् । ‘शिविर आफ्नो लागि बरदान सावित भएको विपन्न वर्गहरुको भनाइरहेको छ ।
बेनीमा सम्पन्न स्वास्थ्य शिविरमा पुरुषको भन्दा पहिलाको संख्या बढि रहेको महारानी क्लवकी अध्यक्ष हिरा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषहरुले उपचार गराएका छन् ।
शिविरको आयोजक आयोजक ‘हामी नेपाली’ काठमाण्डौंका उपाध्यक्ष गंगाराज पौडेलले आफ्नो संस्थाले वर्षेनी नेपालका विकट जिल्लाहरुमा पुगेर शिविर आयोजना गर्ने गरेको बताए । विभिन्न कारणले आँखाको ज्योति गुमाएर अध्याँरोमा जिन्दगी विताउन बाध्य गरिब तथा आँखाका दीर्घरोगीहरुको उपचार गरी ज्योति प्रदान गर्न पाउँदा आफूहरुलाई पनि आनन्द लाग्ने उनकोको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology