राजेन्द्र महतो २७ वर्षदेखि बागलुङमा

बागलुङ, १३ चैत – कर्मचारीको सामान्यतया २ बर्षमा सरुवा हुन्छ । धेरै कर्मचारीले फरक फरक जिल्लामा पुगेर काम गर्न रुचाउँछन् । तर धम्जा स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र महतो २७ बर्षदेखि एउटै कार्यालयमा काम गरिरहेका छन् ।
मधेसी मुलका राजेन्द्र महतो पहाड जिल्लामा आएर जागिर खान समेत खुसी छन् । सर्लाहीको सलेमपुर घर भएका राजेन्द्र महतोले २०४९ सालदेखि काठेखोला गाउँपालिका–३ को धम्जा देउराली स्वास्थ्य चौकीमा इन्चार्ज भएर सेवा गरेका हुन् ।
आर्युवेद र जनरल मेडिसिन दुवै बिषय अध्ययन गरेका महतोले सरकारी जागिरको लागि २०४९ सालमा स्थायीमा उत्तीर्ण भएका थिए । उनको पहिलो पोष्टिङ बागलुङ भयो । उनका बाबुआमाले त्यति टाढा नजान सल्लाह दिए । ‘अर्को जागिर खाएपनि हुन्छ, त्यति टाढा कसरी जाने भनेर मलाई रोक्ने प्रयास गर्नु भएको थियो’ महतोले भने, ‘बल गरेरै म आएको थिए ।’

पोखरा बागलुङ राजमार्ग खुल्ने क्रममै भएकोले कहिले हिड्ने, कहिले गाडी चढ्ने गर्दै सदरमुकाम आएको उनले स्मरण गरे । उकालो बाटो भारी खेपेर धम्जा पुग्दा निरास भएपनि गाउँ पुगेपछि न्यानो स्वागत पाएर रमाएको सम्झने महतो धम्जामै रमाएका छन् । दुइचार महिनामै स्थानीयको चासो र सम्मानले उनलाई ग्रामीण बस्तीमै काम गर्ने जोस बढ्यो । बर्षमा दुइपटक मात्र घर पुग्दा बाबुआमाले फर्कन धेरै आग्रह गरे । पटक–पटक आश्वासन दिएर फर्केका महतो अझै सरुवा मिलाएर गैहाल्ने योजनामा छैनन् । ‘बस्दा बस्दा घरघरका मानिस चिनेको छु, कसलाई कस्तो उपचार गर्दा निको हुन्छ भन्ने पनि जानिसकेको छु’ महतोले भने, ‘मलाई अब मधेसमा गएर काम गर्न अप्ठ्यारो लाग्छ ।’ महतोको बोली, भाषा र भेष समेत बागलुङे गाउँको जस्तै भएको छ ।
मगर, बाहुनक्षेत्री र दलीतहरुको बसोबास भएको धम्जामा उनले सबैको साझा व्यक्तिको उपाधि पाएका छन् । सरुवा भएर मुस्ताङ जाँदा गाउँलेहरुले राजनीतिक र सामाजिक दवाव दिएर फिर्ता ल्याएका थिए । ‘पहुँच भएकाले राजनीतिक दवाव लगाए, नभएकाहरु मुस्ताङसम्म लिन गए’ उनले भने, ‘एकदुई महिना उता बस्दा पनि यहाँका मानिसकै याद आइरह्यो ।’

रोजगारीकै क्रममा उनले बिबाह गरे । मधेसी मुलकै बिवाह गरेपनि श्रीमती चन्द्रकला पनि अनमी हुन् । उनी सर्लाहीमै काम गर्छिन् । विवाहपछि घर जाने आउने क्रम केही बढेको छ । तर सरुवा भएर कामकै लागि भने जान चाहेका छैनन् । ‘सरुवा भएर हैन, पेन्सन निस्केर घर जानुपर्ला’ महतोले भने, ‘त्यसपछिको सेवा उता गर्ने योजना छ ।’ स्थानीयले भने बस्ने व्यवस्था गराएर गाउँमै राख्ने आश्वासन पनि दिएका छन् । ‘हामीले यहीको स्थानीय जस्तै मानेका छौं, एकपटक हेरिदिए रोग निको हुन्छ, उहाँको योगदान पनि राम्रो छ’ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीषले भने, ‘परिवार ल्याएर यहीं बस्नुहोस्, घरजग्गा उपलब्ध गराउँछौं भनेका छौं ।’ महतोले गाउँलेको चाहना र बाबुआमाको चाहना कसलाई पुरा गराउने भन्ने समस्याले सताएको बताए । महतोको सेवा सम्झेर छिमेकी अमरभूमी र अर्गलका मानिस पनि यहीं उपचारका लागि आउने गर्छन् ।महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकीमा कार्यरत अन्य कर्मचारी समेत उनको सेवा र नेतृत्वप्रति सन्तुष्ट छन् । हेल्थ असिस्टेन्ट पदमा पोष्ट भएर आएका उनी अहिले सातौं तहको जनस्वास्थ्य निरिक्षक हुन् । व्यवस्थापकीय र उपचार सेवा दुवै उनको राम्रो पाएको अनमी सारदा सापकोटाले बताईन् । स्थानीयले भने गाउँको बिकास निर्माण, सामाजिक कार्यक्रम र कतिपयको पारिवारिक काममा समेत महतोको सल्लाह माग्न बोलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology