बागलुङमा नेकपा एकता टुंगो : नेतृत्व ५०।५० प्रतिशत

बागलुङ, १४ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र बागलुङले जिल्लाका दशवटै स्थानीय तहको एकतालाई टुंगो लगाएको छ । पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रलाई ५०÷५० प्रतिशत नेतृत्व हुने गरी स्थानिय तहको टुगो लगाईएको जिल्ला संयन्त्रले जनाएको छ ।
संयन्त्रको बिहिबार सम्पन्न पाचौं बैठकले स्थानीय तहको पार्टी एकतालाई टुंगो लगाइएको संयन्त्र सदस्य लाल वहादुर थापाले जानकारी दिए । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाको नेतृत्व पूर्व एमालेले गर्ने भएका छन । गल्कोट नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको पार्टी नेतृत्व पूर्व माओवादीले गर्ने गरी टुंगो लगाइएको संयन्त्र सदस्य इन्द्रलाल सापकोटाले बताए ।
अध्यक्ष पाएको पालिकामा सचिव स्वत अर्को पक्षको हुनेगरी एकताको बिधि बनाईएको छ । यद्धपि नेतृत्व गर्ने व्यक्तिको बिषयमा भने निणर्य भैसकेको छैन् । आगामी चैत २५ गते भित्र सबै स्थानिय तहमा जिल्ला संयन्त्र सदस्यको उपस्थितीमा बैठक बसेर नेतृत्व र कमिटीको नामवली जिल्ला तहमा पठाउने निणर्य जिल्ला संयन्त्रले गरेको छ । चैत मसान्तसम्म वडा तहको नेतृत्वका लागि वडा तहबाट सुझाव पठाउने, पालिकाको तहबाट सिफारीस गर्ने र जिल्ला संयन्त्रले निर्णय गर्नेगरी कार्यबिधि बनाईएको सापकोटाले बताए ।
त्यस्तै पालिका तहको नेतृत्वको लागि पालिकाले सुझाव पठाउने, जिल्लाले सिफारीस गर्ने र प्रदेशले नेतृत्व टुंगो लगाउने छ । सबैतहमा कस्को नेतृत्व रहने भन्ने बिषयमा कार्यबिधि बनेकाले चैत मसान्तभित्र नेतृत्व गर्ने व्यक्तिको बिषयमा समेत वडा र पालिका तहमा टुंगो लागिसक्ने सापकोटाले जानकारी दिए । पार्टी कार्यालयमा बिहिबार पत्रकार सम्मेलन गरेर संयन्त्रले आफ्ना निर्णय सार्वजनिक गरेको हो ।
यस्तै संयन्त्रले १५ वटा जनसंगठनको एकताका लागि संयन्त्र बनाएर जिम्मेबारी दिएको छ । आगामी बैशाखमा जिल्लाका सबै तहमा पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर भैरहेका कामको बिषयमा तल्लो तहको गुनासो र आगामी आर्थिक बर्षको बजेट निमार्णका बिषयमा सुझाव संकलन गर्ने निर्णय संयन्त्रले गरेको छ । नेकपाको नगरपालिकामा ८१, गाउँ पालिकामा ७५ र वडा तहमा २९ सदस्यीय कमिटी रहने व्यवस्था छ । पत्रकार सम्मेलन इन्द्रलाल सापकोटाको अध्यक्षता, लाल वहादुर थापाको सञ्चालन र बिष्णु भुषालको बिज्ञप्ती प्रस्तुतीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology