कथा : मेरी प्राप्ति

म समाचार पढेर स्तब्ध थिएँ।
जिउ थरथर कामिरहेको थियो।
निधारमा निस्किएको चिटचिट पसिना कन्चट हुँदै तल घाँटीसम्मै बगिरहेथ्यो।
विस्तारै मेरो शरीर चिसो हुँदै गएको मैले महशुस गरिरहेको थिएँ। त्यही अनुहार, त्यही आँखा, अनि त्यही हिस्सी। ऊ त्यही थिइ मेरी प्राप्ति। तर मन मानिरहेको थिएन। सपना होस् यो, कुनै भयंकरको सपना भन्दै म आखाँ चिम्ली भगवानको प्राथना गर्छु। तर कटु सत्य यही थियो ऊ प्राप्ति नै थिइ। प्राप्ति, मेरी प्यारी बैनी।
खासमा प्राप्तिसँग मेरो कुनै रगतको नाता थिएन। उसको र मेरो नाता मानवताको मात्रै थियो। बैनी हुन रगत कै नाता किन हुनु पर्यो र? उनी मेरो आफ्नो रगतको नाताभन्दा पनि बढी थिइन्, प्यारी थिइन् मलाई। प्राप्तिको र मेरो भेट पनि अचम्मसँग भएको थियो, एउटा होटलको कोठामा।
म मेरो अफिसको कन्फरेन्समा सिड्नीको हिल्टन होटलमा गेस्ट भएर गएको थिएँ। ऊ त्यही होटलमा कोठाहरूको हेरविचार गर्ने काम गर्थी।
एउटा संयोग थियो त्यो – मेरो त्यो होटलमा बसाइ हुनु अनि उसको मेरै कोठाको हेरविचार गर्ने जिम्मा पर्नु।
त्यो एउटा खुसीको अनुभूति थियो मेरो लागि। म साह्रै खुसी भएको थिएँ। त्यसदिन जुन दिन मैले उसलाई होटलमा नेपाली  भनेर थाहा पाएँ।
त्यो बिहान म होटलको कोठामा अलि ढिलोसम्म बसेको थिएँ। कन्फरेन्स अलि ढिलो सुरू हुने हुनाले ब्रेकफास्ट कोठामै अर्डर गरी म आफ्नो ल्यापटपमा काम गर्दै थिएँ।
‘हाउस किपिङ हाउस किपिङ’ भन्दै कसैले ढोका ढक्ढकायो।
‘कम इन,’ भन्दै मैले भित्र आउने अनुमति दिए तर मेरो आँखा भने कम्प्युटर मै थियो।
‘गुड मर्निङ म्याम,’ ऊ भन्दै थिइ, ‘मीठो मसिनो स्वरमा। अनायास म उसको बोलीले आकर्षित भए। कानमा उसको स्वर मीठो लाग्यो मलाई। कता सुनिरहेको जस्तो, कोही आफ्नैको जस्तो थियो त्यो स्वर। मैले टाउको उठाएर हेर्दै ‘गुड मर्निङ’ भने।
ऊ मुसुक्क हाँस्दै, ‘उड यु माइन्ड मुभिङ अफ द बेड? आइ विल चेन्ज लिनिंन,’ भनी।
‘स्व्योर’, भन्दै म बेडबाट ल्यापटपसहित बेडको नजिकै अर्को छेउमा राखेको सोफामा बसें। मेरो आँखा उसको युनिफर्ममा अड्काएको नेम ट्यागमा पर्छ, जहाँ प्राप्ति लेखिएको थियो। कति राम्रो युनिक नाम, म मनमनै भन्छु।
उसको नाम देख्ने बित्तिकै मलाई विश्वास हुन्छ कि ऊ मेरै थिइ, म जस्तै थिइ अनि हामी एउटै माटोका थियौं। धेरै भएको थियो, मैले आफ्नो मान्छे भेट्न नपाएको अनि आफ्नो भाषामा बोल्न नपाएको।
उसलाई देखेर म उत्साहित भएँ। म खुसी हुँदै ‘यु मस्ट बि नेपाली’ भने।
उसले ‘नो’ भन्दै मसँग आँखा नै नजुधाई मलाई अलि बेवास्ता गरे झैं गरी बाथरूमतिर पसी। उसको बोलीमा मलाई सत्यताको महशुस भएन। मलाई विश्वास थियो। ऊ नेपाली नै थिइ। सायद उसले चिनिन नचाहेको होला भने झैं लाग्यो। मनमा दु:ख लाग्यो, मैले फेरि उसलाई दोहोर्‍याएर सोधिनँ।
साह्रै राम्री थिइ प्राप्ति, देख्ने बित्तिकै मेरो आँखामा बसेकी थिइ ऊ। उसको निर्मल निर्दोष अनुहार, बान्की परेको आँखा, सर्लक्क परेको जिउ, ऊ कुनै सिनेमाको हिरोइनभन्दा कम थिइन।
त्यो थियो मेरो पहिलो भेट  प्राप्तिसँग।
प्राप्तिसँग भेट भएको करिब एक महिना जति पछि मेरो फेरि सिटीमा जाने काम पर्यो।
एप्रिलको महिना थियो। अलिअलि चिसो सुरू भएको थियो। मेरो मनपर्ने महिना हो एप्रिल- न त गर्मी धरै न त जाडो नै।
यो मौसममा समुद्रको तटमा बसी कलाकारको क्यानभासमा नीर पोखे झै सफा निलो आकाशको मुनि त्यही नीर खनाएर बगे जस्तो नीलो समुद्रको छालका तरंगहरूमा भुलेर बस्न मलाई खुब रमाइलो लाग्छ, अनि शान्ति मिल्छ। प्राय: अफिसको काममा सिटी आएको बेला म सरकुलर कि मा गएर समुद्रको प्रवाह हेर्ने गर्छु।
सिटीको यो ठाउँमा आएर बसेपछि मलाई समय बितेको पत्तै हुँदैन। घण्टौ बिताउन सक्छु म यो नीलो पानीमा बहकिरहेक़ो छाल मात्र हेरेर पनि।
आज पनि म काम सकिएपछि आफ्नो सधैं गएर बस्ने बेञ्च, जहाँ बसेर म समुद्रको गहिराई नापिरहने गर्थे, कल्पनामा ती निला रंगहरूसँग खेल्ने गर्थे, हो त्यही गएर बस्छु। यो ठाउँ मेरो लागि अति प्यारो छ, जसमा विगतका धेरै सम्झनाहरू बाँधिएका छन्। अनि आज भन्दा १२ वर्ष अघिदेखि यो मेरो साधना गर्ने ठाउँ  भएको छ। त्यसैले जहिले सिटी आए पनि म एकपटक यहाँ नआइकन फर्किदिनँ।
आज अरू बेलाभन्दा अलि शान्त छ यहाँ, सायद अलि दिउँसै भएर होला।
म बसेको छेवैमा १९/ २० वर्षकी केटी आएर बसिन्। साइडबाट मात्र देखिएको उसको अनुहार कता कता चिर परिचित लाग्छ तर को भनेर सोझै ठम्याउन भने सक्दिनँ म। ऊ फोनमा कुरा गरिरहेकी थिइ। तर कुन भाषामा यसै ठम्याउने अवस्थामा थिइनँ। म ध्यान दिएर उसले के भाषा बोल्दैछे भनेर सुन्ने प्रयास गर्छु। समुद्री हावाका झोंकासँगै उसका केही शब्दहरू बहेर मेरो कानसम्म आइपुग्छ, म निश्चित हुन्छु कि ऊ नेपाली नै रै’छ भनेर।
कतै प्राप्ति त होइन? म आफैंलाई प्रश्न सोध्छु।
म बेलाबेलामा फर्केर उसलाई हेर्छु, उसले फोन राखेपछि म ऊ भएको बेञ्चतिर गएँ। म छक्क परें,  उ त्यही थिइ- मेरी प्राप्ति।
‘प्राप्ति?’ ‘यु आर नेपाली, आरन्ट यु?’ म भनें।
ऊ छक्क परेर मलाई हेर्छे।  सायद उसले मलाई सम्झेकी थिइन।
‘आइ डोन्ट नो यु बट हाउ डु यु नो माइ नेम?’  उ छक्क परेर सोध्छे।
उसको अनुहारको अभिव्यक्ति देखेर मलाई विश्वास हुन्छ कि उसले साच्चै नै मलाई सम्झेकी थिइन।
उसको प्रश्नलाई बेवास्ता गर्दै  ‘आइ हर्ड यु टकिङ इन नेपाली, आइ एम नेपाली टु’, मैले भने तर उसले कुनै उत्सुकता देखाइन।
मैले उसलाई नेपाली मै सोधें ‘बैनी कहाँ बस्नु हुन्छ ?’
‘यतै सिटीतिर,’ उसको जवाफ छोटो थियो, पक्कै ऊ मसँग कुराकानी गर्ने मुडमा थिइन तर मैले कुरालाई निरन्तरता दिएँ।
‘तपाइलाईं मैले हिल्टन होटलमा भेटेको थिएँ। बिर्सिनुभयो जस्तो छ बैनीले,’ मैले भने, ‘अझै काम गर्दै हुनुहुन्छ त्यस होटलमा ?’
‘छैन, छोडिदिए।’
‘किन ?’
‘काम गाह्रो भयो।’
पक्कै होटलको काम गाह्रो थियो। मलाई त्यति खेर नै लागेको थियो कि यस्तो सुकुमारी केटीले त्यस्तो शारीरिक काम कसरी गर्छे होला भनेर। जे होस्, मैले विषयवस्तु बदलेर उसलाई फेरि सोधें, ‘कैले आउनुभएको बैनी नेपालबाट ?’
‘एक वर्ष अलि बढी भयो।’
‘नयाँ नै हुनुहुँदो रैछ सिड्नीमा,’ मैले भने। ऊ चुप लागि।
‘बैनीको नेपालमा घर चाहिँ कहाँ ?’
उसले नसुनेझै गरी मोबाइल चलाएर बसी।
उसले मलाई होटलमा पनि बेवास्ता गरेकी थिइ। अहिले पनि बेवास्ता नै गरिरहेकी छे, म अचम्मित भएँ। किन? किन उसलाई म नेपाली भन्दा त्यति खुसी लागेन? किन ऊ यस्तो चिसो मन कि छे जब कि उसको अनुहारमा त्यस्तो कोमलता र सरलता झल्किएको छ, म छक्क परें।
‘म यहाँ भन्दा झन्डै दुई घण्टा पर, ब्लु माउन्टेन नजिकै बस्छु,’ मैले आफैं भने।
‘धेरै वर्ष भयो म यहाँ आएको। मेरो नेपाली साथीभाइ कोही छैन। बैनी नेपाली भन्दा सारै खुसी लाग्यो।’
‘नेपाली साथी त नभएकै राम्रो। नेपालीलाई नाचिनेकै जाति। नेपालीले नेपालीलाई ठग्छन् यहाँ, लुट्छन्। चिनेर के फाइदा? कसैलाई नचिनेकै बेस’, ऊ भन्छे।
उसको बोलीमा तिक्तता थियो, घृणा थियो अनि क्रोध थियो।
‘किन? के भयो र? बैनीलाई कसैले ठग्यो ?’
ऊ चुप लागि।
‘मलाई भने हुन्छ। मलाई तिमीले आफ्नो दिदी जस्तो मानेर सबै कुरा शेयर गर्न सक्छौ। तिमीलाई देखेदेखि किन किन मलाई तिमीमा आफ्नो विगत याद आउँछ। म पनि सायद तिम्रै उमेरको थिएँ यहाँ आउँदा। यस्तैगरी एक्लै यहाँ आएर बस्थे, ऊ त्यो बेञ्चमा। त्यसैले यो ठाउँ अनि त्यो बेञ्च मलाई सारै प्यारो छ,’ भन्दै मैले आफू अघि बसेको बेन्चलाई औंलाले देखाउँदै भने।
प्राप्ति चुपचाप मेरो कुरा सुनिराखेकी थिइ। सायद उसलाई अचम्म लागिरहथ्यो होला म किन यसरी ऊसँग नजिकिन खोजिरहेको छु भनेर, या त उसका शंकालु मनले ममाथि अरु धेरै शंका गरिराखेको थियो। ऊ मलाई वाल्ल परेर, प्रश्नले भरिएको आँखाले हेरिरहेकी थिइ।
‘तिमीलाई म देखेर अचम्म लाग्यो होला’, मैले भने, ‘स्वभाविकै हो। म तिम्रो लागि एक अजनबी हुँ। तर मसँग डराउनु पर्दैन। म तिमीलाई हानी हुने केही काम गर्दिनँ भन्दै उनलाई विश्वास दिलाउन खोजें।
‘हैन, त्यस्तो हैन। म नचिनेको मानिसलाई विश्वास गर्न अलि हिच्किचाउने भएकी छु यो देशमा आएदेखि, त्यसैले,’ ऊ भन्छे।
मैले आफ्नो पर्सबाट मेरो बिजिनेस कार्ड निकालेर उसलाई दिँदै भने, ‘ठीकै छ, म तिमीलाई मसँग नजिकिन जोड गर्दिनँ। तर कुनै दिन मसँग कुरा गर्न मन लाग्यो भने यसमा मेरो नम्बर छ। मलाई जतिखेर फोन गरे पनि हुन्छ।’
उसले मेरो कार्ड हेर्छे। सायद उसको सोचाइ अब म प्रति बदलियो, उसको अनुहारमा म अलिकति खुसीको लहर देख्छु।
‘हस्।’
‘हजुरको नाम एकदम राम्रो लाग्यो, म हजुरलाई निधि दिज्जु भनुँ?  यदि माइन्ड गर्नु हुन्न भने, भन्दै ऊ मुस्कुराउँछे।
‘नट आय्ट अल, ड्याट वुड बि सो नाइस,’ मैले भने।
अनि मन भित्रभित्रै एकदम खुसी लाग्छ मलाई, सायद मैले उसको मन जित्न सफल भए भनेर।
‘तिमीले मलाई दिज्जु भन्छु भन्दा सारै खुसी लाग्यो प्राप्ति। मलाई आज मेरो बिछोडिएको आफन्त भेट्टाएको जस्तो महशुस भैराखेको छ तिमीले दिज्जु भन्दा।’
ऊ केही बोल्दिन, अलिकति मुस्कुराउँछे मात्र।
‘तिमी किन यस्तो चुपचाप र निराश देखिन्छ्यौ? सबै ठीक छ तिमीलाई?’ मैले सोधें।
उसले मुन्टोमात्र हल्लाई।
‘भन तिम्रो मनमा त्यस्तो कुनै पिर छ भने, मसँग सेयर गर, मन हल्का हुन्छ।’
‘आजै सबै कुरा गरेर के गर्नु? पछि कुरा गरुला निधि दिज्जू, अहिले म जान्छु,‘ यति भनि ऊ जुरुक्क उठेर गइ।
मलाई अचम्म लाग्यो ऊ जुरुक्क उठेर हिँड्दा तर मैले उसलाई रोक्न सकिनँ।
‘मलाई फोन गर्न नभुल्नु नि,’ मैले चिच्याएर भने।
ऊ केही नबोली त्यहाँबाट हिँडी।
जे भए पनि म साह्रै खुसी थिएँ। प्राप्तिसँगको यो नयाँ सम्बन्धले मनमा खुसी मिलेको थियो, धेरैपछि एक प्रकारको सन्तुष्टि मिलेको थियो मनमा।
मैले मेरो १२ वर्ष अगाडिको आफ्नो जीवन उसमा पाइरहेथें। त्यो १२ वर्ष अघिका मेरा दिनहरू एक एक गर्दै मेरो मानसपटलमा घुमिरहेथ्यो।
हुन त मैले नेपालीहरू भेट्दै नभेटेको पनि हैन तर मलाई यसरी कसैसँग नजिकिन मन लाग्दैन थियो। कसैसँग आफ्नोपनको आभास हुँदैनथ्यो। तर प्राप्ति फरक थिइ, सबभन्दा फरक। अनि अनायास ऊ मेरो जीवनमा एक प्यारो मानिस बनी, मेरो संगिनी, मेरो बैनी बनी।
प्राप्तिलाई भेटेको कैयौं दिन भैसकेको थियो। यस अवधिमा उनको एकपटक पनि फोन आएन। एकातर्फ नराम्रो लाग्यो भने अर्को तर्फ ऊ देखि रिस पनि उठेर नआएको होइन तर मेरो आफ्नै त्यो दिन मलाई याद आयो, जति खेर म भड्केर हिँडेको थिएँ। दुनियाँदेखि म वाक्क थिएँ। सायद ऊ त्यस्तै स्थितिमा छे होला भने झैं लाग्यो, मैले उसलाई तिरस्कार गर्न सकिनँ। तर मनमा अनेकौं तर्कनाहरू भने आइरहे।
म त्यतिखेर स्तब्ध भएँ, जब मेरो आँखा पत्रिकामा आएको समाचारमा पुगे। मैले दोर्‍याइतेर्‍याइ हेरें। बाँकी समाचार मैले पढ्न सकिनँ। उसको मृत्युको खबर जो छापिएको थियो। उसको आत्महत्याको कारण भने खुलाइएको थिएन। उनले त्यहीँ ठाउँबाट आत्महत्या गरेकी थिइ जुन ठाउँमा म सधैं गएर बस्ने गर्थीं।
यो घटनाले मन एकदम दुखित भयो।मनभित्र छटपटी यस्तो बढ्यो कि म स्थिर भएर कतै बस्न सकिनँ।
के नाता थियो ऊसँग मेरो र म यसरी ब्याकुल भएर छटपटाइ रहेछु, मैले आफैं बुझ्न सकिनँ।
प्राप्तिसँगको मेरो भेट जम्मा दुई तीन चोटिको अनि केहि घण्टा मात्र थियो। ऊ मसँग राम्ररी खुल्न अनि नजिकिन अझै बाँकी नै थियो। भर्खर जन्मिएको हाम्रो मित्रता हुर्कन पनि नपाउँदै ऊ यस दुनियाँबाट हिँडी।
प्राप्ति बितेको दुई हप्ता भइसकेको थियो। पत्रिकामा छापिएको उसको नाममा गएर मेरो आँखा टक्क अड्कियो।
मैले हतारिएर समाचार पढें। अनि मलाई छर्लंग भयो उसले किन नेपालीलाई घृणा गरेकी रहेछ भनेर।
ऊ साच्चै नै लुटिएकी रैछ। ती पैसाका भोगीहरूले उसलाई मानसिक र शारिरिक दुबै रूपमा लुटेका रैछन्। जब दु:ख पर्छ दु:खहरू एकपछि अर्को गर्दै आइलाग्छन्।
समस्यामाथि समस्याको भार थपिएपछि सायद उसले जीवनको मूल्य भुली। आफ्नो अधुरो सपना बोकी कुन मुखले नेपाल फर्कने भन्ने चिन्तामा उसले आफ्नो ज्यान फालिछ।
सुन्दर भविष्यको मिठो सपना बोकेर पढ्न आएकी प्राप्तिलाई विभिन्न लोभ र लालच देखाई लुट्ने ठगहरूलाई कसले सजाय दिने ?
एकछिन फेरि सोच्न बाध्य भएँ। यति छिटो हरेस खानु हुँदैन थियो प्राप्तिले। ऊ हिँडेको बाटोमा म पनि हिँडेको थिएँ। मलाई पनि त्यति नै कठिन भएको थियो त्यो बाटो अनि त्यो यात्रा तर मैले हार मानिनँ। मैले हरेस खाइनँ। त्यसैले त म अहिले यहाँ छु।
प्राप्ति,  तिमीले पनि हरेस नखाइदिएको भए आज तिमी पनि यही हुने थियौ। अनि तिमी र मसँगै एक अर्काको दुखसुख बाँडिरहेको हुने थियौ।
मेरी प्राप्ति अब एक स्मृतिको पानामा रहने छिन्।
उनलाई चिन्ने र उनीसँग मित्रता बढाउने मेरो इच्छा अधुरै रह्यो। मन भरंग हुन्छ, नमीठोसँग दुख्छ, अनि म फेरि उसको फोटोमा हेरेर टोलाउँछु, अनि सोच्छु- ऊ मेरी प्राप्ति, मेरो माटोको मायामा, मेरो भाषाको मायामा बनेकी मेरी बैनी, उसले जीवनको मूल्य बुझेकी भए, आफ्नो जीवनको माया गरिदिएको भए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology