कविता : भो वसन्त, मलाई आमा नबनाऊ !

आरुका गुलाबी झुप्पाहरूमा

बकाइनाका टुप्पाहरूमा

हल्लिँदै, बत्तिँदै, आकासिँदै

आयौ वसन्त फेरि तिमी ।

 

गुराँसका लालीमा

मयलका डालीमा

हाँस्दै, खेल्दै, रमाउँदै

आयौ वसन्त फेरि तिमी ।

 

तिमी आउने बाटाहरूमा

आँखा ओछ्याएकी म

फुरुङ्ङ पर्दै तिम्लाई अँगाल्छु

झुम्छु, चुम्छु, लहराउँछु

तिमीमै हराउँछु ।

 

मदहोस तिमी !

रंगीन म !

अघिल्ला वर्षहरूझैं

गर्भिणी हुन्छु

खुसीले सगरमाथा छुन्छु ।

 

जेठको घाम ओढेर

गर्भसितकी मलाई छोडेर

जान्छौ तिमी दूर देश

म अनेक दुःख कष्ट सहेर

वर्षेनी  सन्तान जन्माउँछु ।

 

वसन्त, देखेका छौ ?

हरेक वर्ष जन्मिएका

सन्तानका ताँती लागे

थाहा छ तिम्लाई ?

म कतिकति कविताकी

आमा बनें ।

मैले यिनलाई

मायाले सिँचे

स्याहारें !

 

तिमीबिना

हाँस्न सिकाएँ !

बाँच्न सिकाएँ  ।

यिनकै भविष्यका लागि

कहाँ पुगिनँ,

के मात्र सहिनँ ।

 

कयौं गिद्दे नजरहरूले कोपिएर

सयौं तिखा आँखाहरूले

पटकपटक घोचिएर

बलात्कृत मेरा कविताहरूलाई

कसैले गुटमुटाएर

‘फोहोर मलाई’मा हाल्दिए ।

कसैले च्यातेर,

बीच सडकमा फाल्दिए ।

भन्छन् !

मेरा कविताहरू

बोल्न जान्दैनन् रे

मन खोल्नै जान्दैनन् रे

शक्तिहीन मेरा कविताहरू

अर्थहीन मेरा कविताहरू !

 

कठै !

मेरा अपाहिज सन्तानलाई

अँगालेर धेरैबेर रोएकी छु

आँसुले हृदय धोएकी छु  ।

त्यसैले वसन्त !

जन्माउँदिन म सन्तान

बन्दिनँ म कविताकी आमा

थाकिसकें

गलिसकें ।

 

भो वसन्त, अब मलाई

आमा नबनाऊ

वसन्त !

यसपालि तिमी आउँदा

बन्ध्याकरण गरेर आऊ

विन्ती !

बन्ध्याकरण गरेर आऊ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology