म्याग्दीका किसान अन्नबाली भन्दा फलफूल खेतीतर्फ आकर्षित

म्याग्दी, १७ चैत – हिमाली जिल्ला म्याग्दीका किसानहरु अन्नबालीभन्दा फलफूल खेती तर्फ आकर्षित भएका छन् । परम्परागतरुपमा धान,मकै,गहुँ,कोदो खेती गर्दै आएका किसानहरुले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् । अन्नबालीको तुलनमा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकोले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानहरुले बताएका छन् ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ ओटा स्थानीय तह रहेको म्याग्दीका सबै वडाहरुमा अहिले अन्नबालीको तुलनामा फलफूल र तरकारी खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
बेनी नगरपालिकाको ज्यामरुककोट,खबरा,राखु,मरेक,बास्कुना,मालिका गाउँपालिकाको बिम,ओखरबोट,देविस्थान,मंगला गाउँपालिकाको अर्मन,कुहूँ,बरंजा,रघुगंगाको भगवती,बेगखोला,पिप्ले,अन्नपूर्ण गाउँपालिकाको दाना,नारच्याङ र हिस्तान तथा धौलागिरी गाउँपालिकाको ताकम र मुदीका किसानले फलफूल खेती विस्तार गरेका छन् । बेनी नगरपालिका २ खवराका चन्द्रबहादुर कार्कीले १० मुरी धान फल्ने ३ रोपनी जग्गामा २ सय बोट केराका नयाँ विरुवा लगाउनुभएको छ । त्यसैगरी सोही गाउँका भक्तवहादुर कुवँरले पनि रोपनी खेत, बारी र पाखो जग्गा गरी ४ रोपनी क्षेत्रफलमा केरा र मेवाका विरुवा लगाएको बताए ।
अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकोले फलफूलतिर आकर्षित भएको किसानहरुको भनाइ रहेको छ ।
उता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका कृषकहरुले गत वर्षसम्म मकै र कोदो लगाउँदै आएको बारीमा ७ हजार नयाँ सुन्तलाका विरुवा रोपेका स्थानीय कृषक धनसरा पुनले जानकारी दिए । उनका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमिनलाई उपयोगमा ल्याउनका लागि गतवर्षदेखि सुन्तला र केरा खेती विस्तार गरिएको हो ।
फलफूल खेतीलाई अन्नबालीको जस्तो स्याहार सुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यक नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छोडेर फलफूल खेतीतर्फ लागेको किसानहरुले बताएका छन् ।
साविकको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक वर्ष जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा २५ हजार सुन्तलाका विरुवा वितरण गरेको थियो । गत वर्ष मात्रै ६० हेक्टर थप क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बागवानी विकास अधिकृत भोजवहादुर थापाले जानकारी दिए । अधिकृत थापाका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा म्याग्दीमा सात करोड ५० लाख मूल्य बराबरको दुई हजार २६५ मेटिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology