‘मान्छे राखेका, मलामी कमाएका रवीन्द्र’

  • उनको बिदाईमा सम्भवत : पोखराकै धेरै मलामी गए ।
  • पोखरा, १७ फागुन । बूढापाका भन्थे,‘ मान्छे राख्नुपर्छ, मलामी बढाउनुपर्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शवयात्रा देखेपछि धेरैले भने,‘ साँच्चै मान्छेचाहिँ राख्नुपर्ने रहेछ । हो, रवीन्द्र अधिकारी गए । तर, जाँदाजाँदै पनि उनले सबैलाई रुवाए । उनको बिदाईमा सम्भवत : पोखराकै धेरै मलामी गए । शुक्रबार बिहान उनको पार्थिव शरीर पोखरा बिमानस्थल ल्याउँदादेखि उर्लिएको भीड उनकी अर्धाङ्गिनी विद्या भट्टराई र छोरा विराजले दागबत्ती दिँदासम्म पातलिएन । बरु, उनी खरानी बन्दैगर्दा आशुको भेल नै बग्यो । पोखराको नयाँबजारमा रहेको प्रदर्शनीकेन्द्रमा अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा धेरै शुभेच्छुकहरु भक्कानिए । उनीहरुले आफ्ना प्रिय नेतालाई हृदयदेखि नै अन्तिम श्रद्धाञ्जली दिए ।
    रवीन्द्र अधिकारीको बिदाईमा पोखराका मात्र नभएर छिमेकी जिल्लाबाट पनि शुभेच्छुकहरु ओइरिएका थिए । उनको अन्तिम संस्कार भइरहँदा घाटको वरपर हजारौँ नागरिक उभिएर आफ्ना प्रिय नेता खरानी हुँदै गरेको हेर्दै थिए । शोकमा भएका उनीहरु भन्दै थिए,‘ पोखराले मात्र नभएर सिङ्गो गण्डकी र देशले नै असल नेता गुमायो ।’ सबैसँग मित्रवत् व्यवहार गर्नु उनको खुवी थियो । चिनेजानेका सबैसँग हालखवर सोध्नु उनको विशेषता थियो । ‘उनी हालखवर मात्र नभएर परिवारको कुशल मंगलको पनि कुरा गर्थे’, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले भने,‘ मानिसको मनमा बस्न सक्ने विशेषताले नै उनी सबैका प्रिय भएका हुन् ।’राजनीतिमा प्रतिष्पर्धा हुन्छ । तर, उनले प्रतिष्पर्धीको पनि मन जितेका थिए । रवीन्द्रको निधनलगत्तै गएको चुनावमा उनको प्रतिष्पर्धी बनेका देवराज चालिसेले आफूले प्रिय नेता गुमाएको भन्दै शोक व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology