के भन्छन रविन्द्रको अन्तिम श्रद्धाञ्जलीमा सहभागी पोखरेलीहरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले पोखराबासीहरू स्तब्ध छन् । पोखरेलीको मुहारमा मुस्कान गुमेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मात्र नभई उद्योगी, व्यवसायी, नागरिक समाज र समग्र विद्यार्थी जगत्समेत चिन्तित छ । अधिकारी कुनै एक राजनीतिक पार्टीका नेतामात्र नभई समग्र कस्केलीको सारथिको रूपमा स्थापितथिए । शुक्रबार जब राजकीय सम्मानका साथ स्वर्गीय नेता अधिकारीको अन्तेष्टि गरियो, हजारौँ मानिस भावविह्वल भए । उनीसंग बितेका क्षण, उनीसंग योजना, व्यवहार र ढाडसहरू सम्झे । बाँकी रह्यो त केवल अब सम्झनामात्र !

पूर्वाग्रह नभएका नेता
कृष्ण केसी
सभापति (नेपाली काँग्रेस, कास्की)
अधिकारीको निधनले कम्युनिस्ट पार्टीमात्र होइन, नेपाली राजनीतिक आन्दोलनका लागि समेत क्षति भएको छ । काँग्रेसले पनि उहाँलाई जुझारु र स्वावलम्बी नेताको रूपमा लिएको छ । त्यस प्रकारका नेताको निधनले काँग्रेस दुःखी छ । अधिकारी असल राजनीतिज्ञ हुनुहुन्थ्यो । समग्र कास्की जिल्लाको सम्भावित नेताको रूपमा हामीले लिएका थियौँ । जिम्मेवारी आफैँ लिने र अरूलाई दोष नदिने उहाँको स्वभाव थियो । राजनीतिक आन्दोलनमा हामीहरू सँगै हुन्थ्यो । कफ्र्यु लगाउँदा हामी सँगै तोड्थ्यौँ । उहाँको अवसानले कास्की जिल्लामात्र नभई नेपालकै राजनीतिक अभियानमा ठूलो क्षति पुगेको छ । उहाँ सानैदेखि चर्चामै हुनुहुन्थ्यो र जुझारु हुनुहुन्थ्यो । उहाँको चर्चामा नै निधन भयो । पार्टी कार्यकर्ता हुँदामात्र नभई मन्त्री हुँदा पनि उहाँको एउटै बानी थियो । अहम्ता भन्ने फिटिक्कै थिएन । त्यस्ता गुणहरू हरेकले सिक्नुपर्छ । रवीन्द्रले कुनै असहज राजनीतिक एजेण्डा भए पनि सहजीकरण गरेर मिलाउन सक्नुहुन्थ्यो । कास्की जिल्लाको विकास निर्माणमात्र नभई देशकै विकासका पूर्वाधार निर्माणमा उहाँको सोच राम्रो थियो । यस्ता नेताको निधनले हामी स्तब्ध छौँ । उहाँले हामीहरूलाई कहिल्यै पनि प्रतिपक्षीको रूपमा हेर्नुभएन । अग्रजलाई सम्मान र पछिल्लो पुस्तालाई माया दिनुपर्छ भन्ने उहाँको गुण थियो ।

विकासप्रेमी नेता
मानबहादुर जिसी
मेयर (पोखरा महानगरपालिका)
मन्त्री रवीन्द्र अधिकारीको निधनले कम्युनिस्ट पार्टीमात्र होइन, नेपाली राजनीतिक आन्दोलनका लागि समेत क्षति भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ (साविक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै अब्बल र योग्य राजनीतिकर्मीका रूपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो । अधिकारीको निधनसँगै मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालिन, अध्ययनशील, प्रतिभावान, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीलाई गुमाउँदा कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित भएर अधिकारीले गरेको सङ्घर्षले कम्युनिस्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिएको छ । उहाँको योगदानलाई पोखराले सधैँ स्मरण गरिरहनेछ ।

अभाव सधैँ खड्किरहनेछ
सूर्यबहादुर के.सी.
सङ्घीय सांसद/नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य
सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध छु ।
अधिकारी भद्र, मिलनसार र सुयोग्य नेता हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिबाट सङ्घर्ष गर्दै नेपाली राजनीतिमा अघि बढ्नुभएका अधिकारी उदियमान नेता
हुनुहुन्थ्यो । उहाँको निधनले समग्र कास्की जिल्लामा नभई देशलाई क्षति पुगेको छ । रवीन्द्र अधिकारीका गुणहरू अन्य राजनीतिककर्मीले पनि सिक्नुपर्नेछ ।
कास्की जिल्लालाई मात्र नभई देशलाई केही गर्ने नेताको रूपमा हामीले हेरेका थियौँ । उहाँको हँसिलो स्वभाव समन्वय गर्न सक्ने खुबी अनुकरणीय छ । अधिकारीमा राजकीय नेतामा हुनुपर्ने गुण थिए । ठूलो सानो सबैलाई सम्मान गर्ने, बोलचाल गर्ने, आफैँ बोलाउने, नमस्ते गर्ने बानीले पनि कतिपयको मन खिच्थ्यो । उहाँको अभाव सधैँ खड्किरहनेछ ।

दुर्घटनाजस्तो लागेको छैन 
धनराज आचार्य
बालसखा
उहाँ मेरो बालसखा हुनुहुन्थ्यो । सँगै खेल्ने, खाने, डुल्ने, हिँड्ने गर्दथ्यौँ । उमेरले मभन्दा जेठो भए पनि सबै कुरामा हामीहरू सँगै हुुन्थ्यौँ । मन्त्री अधिकारी पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएपछि अर्को वर्ष म सभापति थिएँ । उहाँ मेरो बालसखामात्र नभई राजनीतिक गुरु र अनन्य मित्र पनि हुनुहुन्थ्यो । उहाँको शिक्षा जुन जुन स्कुलमा भयो, मेरो पनि त्यहीँ भयो । हामी कस्ता हौँला ? आज मैले कल्पना गर्न सकेको छैन । फोटो हेर्दा, फोन आउँदा रवीन्द्र आइहाल्नुहुन्छ जस्तो लाग्छ ।
हरेक दिन ‘म्यासेज’ मा कुरा हुन्थ्यो । भोलि जर्मनी जाने भन्नुहुन्थ्यो, ताप्लेजुङ हानिनु भएछ । ती शब्द मैले तपाईंसँग पनि भन्न नसक्ने अवस्थामा छु । भक्कानो फुटेर आउँछ । म पेसातिर लागेँ, उहाँ राजनीतितर्फ लाग्नुभयो । हामीहरू एउटै डुङ्गामा छौँ जस्तो लाग्थ्यो । समयले दासढुङ्गाजस्तै बनाइदियो । मलाई त सो दुर्घटना नै हो जस्तो लाग्दैन । यसको न्यायिक छानबिन हुनुपर्छ । पाँच जनाको सिटमा सात जना किन राखियो ? पछिल्लो समय उहाँमाथि लगाइएका आरोपले उहाँभन्दा मलाई दुखेको छ । किनभने उहाँलाई धेरै अवसर आए, आर्थिक प्रलोभनमा कहिल्यै पर्नु भएन । सो कुरा मलाई थाहा छ । संसद्को विकास सभापति हुँदादेखिका घटनाक्रम मलाई ‘सेयर’ गर्नुहुन्थ्यो । देशलाई माया गर्नुहुन्थ्यो । आर्थिक रूपमा निकै पारदर्शी अधिकारीमाथि लगाइएका लान्छना पनि निराधार भएर जानेछन् भन्ने मलाई विश्वास छ ।

लालजोडी भन्दै हाँसो ठट्टा
बासु त्रिपाठी
पर्यटन व्यवसायी
विद्यार्थी जीवनमा हामीहरू सँगै राजनीतिमा थियौँ । अधिकारीमा कुन व्यक्ति कस्तो हो भन्ने छुट्याउने गुण थियो । छोएरै बोलाउने, हाँसेर बोल्ने र विषयवस्तुको गहिराइमा पुग्ने उहाँको बानी थियो । विद्यार्थी राजनीतिमा सँगसँगै भए पनि मैले पर्यटन व्यवसाय थालेँ । तापनि घरमा जाने आउने क्रम जारी रह्यो । मेरी श्रीमती पनि एमालेमा लागेकोले हामीहरूलाई लालजोडी भन्दै हाँसो ठट्टा गर्नुहुन्थ्यो । कास्कीका जनताको हितका लागि एमाले र अर्को पार्टी नभनी जसको पनि काम गर्नुहुन्थ्यो । मसँग एसएसएममा धेरै कुरा हुन्थ्यो । मसँग एउटा स्मरण छ – खाडीमा थुनिएका हेम्जाका छ जना युवालाई उहाँले सरकारमा नगए पनि बाहिर बसेर सकुशल नेपालमा
अवतरण गराउनुभयो । उहाँका धेरै गुण छन् । उहाँको दृष्टिकोण सधैँ स्पष्ट, सोचाइ फराकिलो थियो । समय व्यवस्थापन उहाँको
विशेषता नै हो ।

अभिभावक गुमाएको महसुस
नरेश भट्टराई
पर्यटन व्यवसायी
मन्त्री अधिकारीले हरेक पेसा र व्यवसायलाई ढाडस दिनुहुन्थ्यो । तिमीहरू गर, म पछाडि छु भन्नुहुन्थ्यो । एक साताअघि पोखरामा देखिने गरी काम गर्नुप¥यो भनेँ उहाँले बसुन्धरा पार्कको प्रोजेक्ट लिएर आउ भन्नुभयो । प्रोजेक्ट अहिले मन्त्रालयमा छ । उहाँकै सल्लाहले लेकसाइडमा सीसी टीभी जोडियो । नेपाल प्रहरीले हतियारसहित अपराधी पक्राउ गर्न सफल भयो ।
पोखरा आउँदा जाँदा बिजी (ब्यस्त) छु भने पनि होटलमा पस्ने, छोराछोरीलाई सोध्ने, व्यावसायिक ढाडस दिने र नेपालको प्रगति भनेको पर्यटन हो भन्नुहुन्थ्यो । बसिरहँदा पछाडिबाट आएर धाप मार्ने, भाइ के छ भन्ने, बोलाउने उहाँको बानी थियो । काम गर्दा कुनै पनि अधुरो बनाएर नछोड्ने । जे सपना देखिन्छ, त्यो सपना पूरा गर्नुपर्छ भन्ने उहाँको सोच थियो । मैले पर्यटक ल्याउँछु, तिमीहरूले सेवा देऊ, उहाँको भनाइ यस्तै यस्तै हुन्थे । उहाँजस्ता नेता गुमाउँदा अभिभावक गुमाएको मात्र नभई राष्ट्रले सुयोग्य कर्मठ, इमानदार नेता गुमाएको छ । यस्ता नेता उत्पादन गर्न शताब्दी लाग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology