आर्थिक अभावले दुई दिनदेखी अस्पतालमै शव

  • गाउँले र अभियान्ताहरु सहयोग उठाउन जुटे
  • बागलुङ, १८ फागुन– बागलुङको निसीखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षिय लक्ष्मण विक धौलागिरी अंचल अस्पताल बागलुङमा मृत्यु भएको शनिबार दुई दिनभयो ।
    जिल्ला सदरमुकाम बागलुङदेखि धेरै टाढाबाट उपचारको क्रममा अंचल अस्पतालमा श्रीमति सहित आएका विकको मृत्यु पश्चात उनको शव काजक्रियाको लागि लैजान समस्या भएको छ । छरछिमेकमा ऋणधन गरी उपचार गर्न १४ फागुनमा अंचल अस्पताल आएको विक परिवारसँग भएको दुई÷चार पैसा पनि उपचारको क्रममा सकिए पछि अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए ।
    गत माघदेखि मृत विक थला परेका थिए । उनको एक श्रीमति र ४ वर्षका दुई जुम्लिया छोरा छोरी रहेका छन् । ज्याला मजदुरीमा जीवन निर्वाह गर्दै आएको विक परिवार शव समेत घाटमा पु¥याउने पैसा नहुँदा ठूलो संकटमा परेको छ ।
    ‘कसैले सहयोग गरे त भाईको शव आफ्नै घाटमा लैजाने मन थियो’मृतका दाजु बलहादुर विकले भने–‘भर्खर त नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा किन्न समेत मुस्किल अवस्था छ ।’भाईको मृत्यु खबर पाए लगतै गाडी भाडा समेत ऋण खोजेर बागलुङ बजार आएका विकले सबैसँग सहयोगको अपिल गरेका छन । ‘भाई मृत शरीरले समेत सुःख पाएन विकले थपे– घाटमा पु¥याउनु र काजक्रिया उम्काउन पनि ठूलो सकस भयो ।’मजदुरीमा परिवारको लालनपालन गर्दै आएका विकको मृत्युले परिवार विचल्लीमा परेका छन् । परम्परा अनुसार १३ दिन काजक्रिया गर्ने संस्कार रहे पनि आर्थिक अभावको कारण तीन दिनमा छोट्याउने तयारी गरेको दाजु बलबहादुरले बताए ।
    सम्पतिको नाममा एउटा भुपडी र एक विहानको पाखो बारी बाहेक विक परिवारसँग कुनै चल अचल सम्पत्ति नभएको स्थानीय रामु विकले बताए । छिमेकीको शव उठान समस्या भए पछि स्थानीयले सहयोग संकलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेको विकले बताए । ‘विक परिवारको अवस्था अत्यान्त दर्दनाक रहेछ’ बागलुङका पत्रकार सज्जनकुमार सिंहले भने–‘स्थानीय संघ संस्था र व्यक्तिसँग सहयोगको अपिल गरेर तत्कालको समस्या हल गर्ने तयारीमा छौँ ।’ सदरमुकाम स्थित दलित अगुवासँग सहकार्य गरी शवलाई कालीगण्डकीसम्म लैजाने कोशिस गरिरहेको पत्रकार सिंहले बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology