भावपूर्ण श्रद्धाञ्जली भरतमोहन अधिकारीप्रति !

  • ‘आफ्नो गाउँ आफै बनाऊँ’ र बृद्धभत्ता नीतिका सूत्रधार पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको निधन
  • नेकपाका बरिष्ठ नेता एवं पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको  निधन भएको छ। सत्तारुढ नेकपामा नै रहेपनि उनी पछिल्लो समय कुनै जिम्मेवारीमा थिएनन्। ०७१ मा सम्पन्न तत्कालिन एमालेको नबौँ महाधिवेशनबाट उनले कमिटीगत राजनीतिबाट सन्यास लिएका थिए। त्यसयता राजनीतिक गतिविधिमा उति सक्रिय नरहेपनि पार्टी र राजनीतिप्रतिको उनको चासो भने पूर्ववत नै थियो। जुन कुरा उनको आर्थिक राजनीतिक विषयका लेखमा झल्किन्थ्यो। लोकतन्त्र पुनस्र्थापनापछिका दुई निर्वाचनमा उनी उम्मेदवार भए। त्यसमध्ये एउटामा उनी पराजित भए, अर्कोमा समानुपातिक क्षेत्रबाट संविधान सभामा पुगे। तर, ०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएयताका तीन वटा निर्वाचन (२०४८, ०५१ र ०५६) मा चाहिँ लगातार मोरङ–२ बाट विजय हासिल गरेका थिए। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाटै प्रतिस्पर्धा गरे, तर तत्कालिन माओवादीका लालबहादुर सुस्लिङ मगरबाट पराजित भए। पराजयका कारण पहिलो संविधान सभामा जाने बाटो रोकिएपनि दोस्रो संविधान सभामा उनी समानुपातिक तर्फबाट छिरे। र, संविधान निर्माणमा सहभागी भए। संविधान सभामार्फत् २०७२ को संविधान निर्माणमा भूमिका खेलेका अधिकारी २०४७ को संविधान निर्माणमा पनि प्रत्यक्ष रुपमा संलग्न थिए। २०४६ को जनआन्दोलनको सफलतापछि राजा वीरेन्द्रले निर्माण गरेको संविधान मस्यौदा आयोगमा अधिकारी तत्कालिन संयुक्त वाममोर्चाको प्रतिनिधि (सदस्य) बनाइएका थिए। आयोगमा वाममोर्चाको तर्फबाट अधिकारी (नेकपा–माक्र्सवादी) का अलावा निर्मल लामा (नेकपा–चौम) र माधव नेपाल (नेकपा–माले) सदस्य थिए।
    बिसं २०१० भन्दा अघिदेखि नै कम्युनिष्ट आन्दोलनमा सहभागी हुन थालेका अधिकारी जीवनपर्यन्त कम्युनिष्ट रहे, कम्युनिष्ट सिद्धान्तप्रति उनको निरन्तर आस्था रहिरह्यो। तर अधिकारी विभिन्न चरणमा नेपालमा देखापरेका उग्र कम्युनिष्ट धारमा कहिल्यै सहभागी भएनन्। राजनीतिक रुपान्तरण शान्तिपूर्ण रुपमा हुनुपर्छ भन्ने मान्यतामा उनी आफ्ना दाजु पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी जत्तिकै अटल रहे र त्यसैमा निरन्तर लागिरहे। नेपालमा खासगरी शान्तिपूर्ण कम्युनिष्ट आन्दोलन र जनआन्दोलनलाई लोकप्रिय बनाउन अधिकारी कुनै समय निर्णायक भूमिकामा उभिए। जनआन्दोलन र एमालेको ९ महिने सरकार (२०५१–०५२) का बेला उनले यस्तो भूमिका निर्वाह गरे।
    २०५१ को मध्यावधि निर्वाचनमा कुनै दलले प्रतिनिधि सभामा बहुमत हासिल गर्न नसकेपछि सबैभन्दा ठूलो दलको रुपमा एमालेले सरकार गठनको अवसर पायो। अल्पमतकै सही, एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारी सरकार प्रमुख (प्रधानमन्त्री) चुनिए, जो नाताले भरतमोहनका आफ्नै दाजु थिए। जीवनभर सक्रिय राजनीति र वकालत गरेका भरतमोहन मनमोहनले नेतृत्व गरेको एमालेको ९ महिने सरकारमा अर्थमन्त्री बनाइए। अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका थिए। चुनावमार्फत् नेपालमा पहिलो पटक सत्तामा पुगेको कम्युनिष्ट सरकार यसकारण स्मरणीय रह्यो कि, त्यसले गाउँको विकासका लागि ‘आफ्नो गाउँ, आफै बनाऊँ’ कार्यक्रम ल्यायो। गाउँको विकासका लागि सरकारले ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रम अन्तर्गत प्रत्येक गाविसलाई ५ लाखको बजेट विनियोजन गरेको थियो। जसलाई अहिलेसम्म पनि नेपालमा आर्थिक सुधारका लागि भएको एउटा महत्वपूर्ण प्रयासका रुपमा हेरिन्छ।
    सोही बजेटबाट गाउँ–गाउँमा बाटोघाटो, पुलपुलेसा निर्माण जस्ता विकासका महत्वपूर्ण काम गरिए। यो कार्यक्रम निकै सफल रह्यो। त्यसबाहेक एमाले सरकारले ७५ बर्ष पार गरेका बृद्धबृद्धालाई मासिक २ सय रुपैयाँका दरले बृद्धभत्ता दिने नीति बजेटमार्फत् पहिलो पटक सार्वजनिक गर्यो। बृद्धभत्ता कार्यक्रम नै यस्तो कार्यक्रम बन्यो, जसले एमालेको जग गाउँ गाउँमा बनाउन, एमालेलाई जनताको हृदय–हृदय बसाउन निर्णायक भूमिका खेल्यो। त्यो बेलासम्म पनि नेपाली कांग्रेस लगायतका दलका कतिपय नेताहरु ‘कम्युनिष्ट सरकारले ७० बर्ष पुगेका बृद्धबृद्धालाई गोली ठोकेर मार्छन्’ भनेर चुनावी प्रचार गर्थे। जसले कम्युनिष्ट उम्मेदवारहरुलाई चुनाव प्रचारमा प्रतिरक्षात्मक बनाउने गरेको थियो।
    थोरै नै सही, बृद्धबृद्धालाई बृद्धभत्ता दिने एमाले सरकारले ल्याएको नीति कम्युनिष्टविरुद्ध हुने प्रचारलाई खण्डित गर्ने उद्देश्य अन्तर्गत पनि आएको थियो। जसले एमालेप्रतिको जनआकर्षण बृद्धि गरायो। एमालेका लागि बृद्धभत्ता कार्यक्रम त्यसयताका चुनावको एउटा महत्वपूर्ण नारा बन्दै आएको छ। हरेक चुनावमा एमाले (हाल नेकपा) जनतालाई आफ्नो सरकारको पालामा बृद्धभत्ता वितरण सुरु गरिएको स्मरण गराउने गर्छ। ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रमका कारण एमाले गाउँ तहसम्मको विकासका लागि सम्वेदनशील छ भन्ने देखायो भने बृद्धभत्ता वितरणले कम्युनिष्टप्रति विमुख बृद्धबृद्धालाई पार्टीप्रति आकर्षित गरायो।
    मनमोहन अधिकारीको प्रधानमन्त्रित्वकालका यी दुई लोकप्रिय कार्यक्रमका शिल्पी अर्थमन्त्रीका रुपमा भरतमोहन अधिकारी नै थिए। आफ्नै दाजुको पालामा पहिलो पटक अर्थ जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका अधिकारीले त्यसयता ३ पटक यो मन्त्रालयको जिम्मेवारी पाए। त्यसबाहेक उनी एकपटक यातायात तथा निर्माणमन्त्री पनि भए। सबैगरी उनी ५ पटक मन्त्री भए। दाजुको पालामा अर्थमन्त्री भएका उनले पटक पटक उपप्रधानमन्त्रीको जिम्मेवारी पनि पाए। गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको प्रधानमन्त्रित्वकालमा उनी उपप्रधानमन्त्री बनेका थिए। तत्कालिन एमालेबाट ४ पटक उपप्रधानमन्त्री र ५ पटक मन्त्री बन्ने अवसर पाउने एक्ला नेता भरतमोहन अधिकारी नै हुन्।
    त्यसबाहेक चार पटक सांसद र संविधान सभा सदस्य, संसदीय दलको उपनेता, प्रमुख सचेतक जस्ता महत्वपूर्ण जिम्मेवारी पाएका अधिकारी तत्कालिन माक्र्सवादी र मालेबीच एकता भई एमाले बन्नुअघि माक्र्सवादीका बरिष्ठ नेता थिए। दाजु मनमोहन अधिकारीजस्तै उनी निरन्तर रुपमा पञ्चायत विरुद्ध सक्रिय रहे। कहीँकतै कुनै सम्झौता गरेनन्। जब माले–माक्र्सवादीबीच एकता भई एमाले बन्यो, माक्र्सवादीको बरिष्ठ नेताको हैसियतमा उनी एमालेको स्थायी समिति सदस्य बनाइए। मनमोहन अधिकारी, साहना प्रधानजस्ता माक्र्सवादी पृष्ठभूमिबाट एमालेमा आएका सफल नेताहरुको अग्रपंक्तिमा अधिकारी पनि पर्छन्। एमाले बनेसँगै माक्र्सवादी पृष्ठभूमिबाट आएका कतिपय बरिष्ठ नेताहरु पलायन भएपनि उनी पार्टीमा सक्रियतापूर्वक लागिरहे।
    कसैसँग नरिसाउने, नझर्कने, मधुर मिजासका अधिकारी उमेर र राजनीतिक सक्रियताका कारण एमालेभित्र ‘बरिष्ठ नेता’ कै पंक्तिमा पर्थे। यति हुँदाहुँदै पनि आफुभन्दा कनिष्ठहरुलाई नेता मान्न कहिल्यै अप्ठेरो मानेनन्। त्यसैले, एमालेभित्र उनी सधैँ सबैका प्रिय रहे। कारण यही थियो कि, सरकारमा अवसर पाउँदा एमालेबाट अधिकारी नै अघि सारिन्थे। त्यसको अर्को कारणपनि थियो, अधिकारीको लचिलो राजनीतिक संस्कारका कारण कोइराला र देउवापनि एमालेले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने गरी अधिकारीलाई पठाइदिए हुन्थ्यो भन्ने चाहना राख्थे।
    विरोधीका लागि पनि आँखामा नबिझाउने अधिकारी पार्टीप्रति कति धेरै प्रतिबद्ध थिए भने, २०५६ को निर्वाचनमा पार्टी निर्णय शिरोधार्य गर्दै उनी तत्कालिन प्रम गिरिजाप्रसाद कोइरालासँग मोरङ–१ मा प्रतिस्पर्धा गर्न समेत तयार भए। उनी पराजित भए, तर कोइरालासँगको प्रतिस्पर्धा किन उल्लेख्य रह्यो भने, त्यो सरकारमा कोइराला प्रधानमन्त्री थिए, अधिकारी कोइरालाका बरिष्ठ मन्त्री (अर्थ) थिए।
    साहना प्रधान, वामदेव गौतमजस्ता नेताहरुले पार्टी विभाजन गरेपछिको प्रतिकूल स्थितिमा एमाले त्यो निर्वाचनमा होमिएको थियो। माले भर्खर सरकारबाट बाहिरिएपछि कोइरालाले एमालेलाई सरकारमा ल्याएका थिए। विभाजनका बाबजुद एमाले ७१ सिटका साथ प्रतिनिधि सभामा प्रवेश गरेको थियो। मोरङ–१ बाट प्रम कोइरालासँग आफु पराजित भएपनि सरकारमा पार्टीको नेतृत्व गर्दै प्रतिकूल स्थितिमा पार्टीलाई त्यो हदको विजयका लागि उनले योगदान दिएका थिए।
    यसबाहेक एमालेको आर्थिक स्थिति मजवुत बनाउन पनि उनले भूमिका निर्वाह गरे। व्यापारिक समुदायसँगको हार्दिक सम्बन्धका कारण आर्थिक भरअभर पर्दा एमालेले अधिकारीलाई नै अघि सार्ने गथ्र्यो। अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनमा यस्ता सकारात्मक पात्र हुन्, जसले आफु बृद्धावस्थामा पुगेपछि स्वेच्छाले पदीय राजनीति त्यागे। अधिकारीका तीन छोरी छन्। नबौँ महाधिवेशनमार्फत् स्वेच्छाले उनले आफुले सक्रिय राजनीति नगर्ने घोषणा गरे। उनले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गरेनन् र त्यसयताको संसदीय निर्वाचनमा पनि उम्मेदवारीको चाह गरेनन्। मुलुक र नेकपाले एक जना यस्ता उदाहरणीय नेता गुमाएको छ। भरतमोहन अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली !

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology