म्याग्दी हिमाली जिल्लामा सुचिकृत : जनतामा खुसीयाली !

म्याग्दी, १९ फागुन- म्याग्दी शनिवारदेखि हिमाली जिल्लामा सुचिकृत गरिएको छ । म्याग्दी हिमाली जिल्लामा सुचिकृत भएको खबर पाएपछि म्याग्देली जनता खुसी भएका छन् । प्रदेश तथा प्रतिनिधिसभाबाट लगातार दबाव सहित प्रमाणहरू पेश गरिएपछि केही नेपाल ऐन संसोधन मार्फत गरिएको प्रस्तावलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि म्याग्दी हिमाली जिल्ला भएको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रवहादुर थापाले बताए ।
‘म्याग्दी जिल्लाबासीलाई न्याय मिलेको छ,‘हिमालको काखमा भएर पनि पहाडी जिल्लाको नामबाट चिनिनपर्ने अवस्थाको अन्त्य भएको छ’ सांसद थापाले भने । प्रतिनिधिसभाका सदस्य थापाका अनुसार देशभर रहेका हिमाली जिल्लाले बजेट, जनसंख्याको आधारमा आवश्यकता अनुसार स्थानीय तहको थप लगाएत राज्यबाट प्राप्त गर्ने विभिन्न सुविधा प्राप्त हुने भएकाले पनि सहज हुनेछ । पारित भएको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि कार्यान्वयनमा आउने छ ।
हिमाली जिल्ला घोषणा गर्न जिल्ला समन्वय समिति, गण्डकी प्रदेश र प्रतिनिधिसभामा जिल्लाको बास्तविकताको आधारमा प्रमाण समेत पेश गरिएको थियो । हिमालै हिमालले घेरिएको म्याग्दीलाई हिमाली जिल्लामा समावेश नगर्दा म्याग्दीका जनतालाई अन्याय भएको भन्दै जिल्लाका राजनीतिक दलले समेत सामुहिक रुपमा प्रस्ताव समेत पेश गरेका थिए ।
हिमाली भूगोल भएपनि पहाडी जिल्ला कायम गरिएकोमा बजेट विनियोजन, पर्यटन प्रर्वधन, हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट प्राप्त हुने रोयल्टी लगाएत राज्यको प्राथमिकतामा पर्न नसकेको अवस्थामा हिमाली जिल्लाको मान्यता प्राप्त हुनुले हालसम्मको प्रयास सफल भएको गण्डकी प्रदेशका सांसद विनोद केसीलेबताए ।
जिल्ला समन्वय समितिले समेत हिमाली जिल्लामा सूचिकृत गर्न माग गदैं स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तरगत म्याग्दीलाई हिमाली जिल्लाको रुपमा घोषणा गर्न माग गरेको थियो । जिसस प्रमुख देवेन्द्रवहादुर केसीले हिमाली क्षेत्रमा समावेशको खवरले उत्साहित भएको बताए । केसीले हिमाली जिल्लाका जनताले सरह राज्यका स्रोत र साधनमा पहुँच बढाउन हिमाली जिल्लाले सहज भएको बताए ।
‘जिल्लाको विकासमा कोशेढुङ्गा सावित हुने छ,‘म्याग्देली जनतालाई यो सन्देशले धेरै उत्साहित बनाउेछ’ केसीले भने । जिल्लाको धवलागिरी गाउँपालिका–४ मुदीमा धौलागिरि प्रथमदेखि छैठौंसम्मका चुचुराहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology