असिना पानीको वितण्डा

म्याग्दी, २५ चैत -म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबालीमा क्षती पु¥याएको छ । असिना पानी र हावा हुरीका कारण गाउँमा सडक र खानेपानी समेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ।
जिल्लाको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसंगै परेको असिना पानीका कारण तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मंगला ३ को वडा कार्यालयबाट झाँक्रपानी सहित विभिन्न बस्ती जोड्ने ग्रामिण सडक समेत प्रभावित भएको स्वास्थ्य चौकीका अहेव बबरजंग पालले जानकारी दिए।
‘खेतभरी हिउँजस्तै सेताम्मे असिनाले अन्नबाली सखाप पारेको छ, खानेपानी र सडकमा समेत क्षती पुगेको छ’ पालले भने ।   उनका अनुसार बरंजाको ग्रामिण सडक बर्षातको समयमा जस्तै अवरुद्ध हुनुका साथै सडक आसपासका क्षेत्रमा पहिरो गएपछि खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानीको समेत समस्या भएको छ । पहिरोका कारण वडा नं ४को दुर्दी,भित्रीबन,महेशगाउँ,धापुङ लगाएतका क्षेत्रमा सडक अवरुद्ध भएको छ भने पहिरोले खानेपानीका लागि प्रयोग गरिएको पाइप बगाएपछि घरघरमा रहेका धाराहरुमा खानेपानीको आपूर्ति समेत बन्द भएको महेशगाउँका स्थानीय कृषक दलबहादुर पुनले जानकारी दिए।
दैनिकजसो असिना पानी र हावाहुरीले तरकारी तथा गहुँबाली नष्ट भएको वडा नं ४ का अध्यक्ष ओमबहादर रोकाले बताउए । असिनापानी र हावाहुरीबाट भएको क्षतीको विवरण संकलन जारी रहेको बताउँदै तत्काल सडक र खानेपानी नियमित बनाउने प्रयास जारी रहेको वडाअध्यक्ष रोकाले बताए ।
यता गाउँपालिकाले असिनापानीका कारण अस्तब्यस्त भएका क्षेत्रमा सडक र खानेपानी सहित स्थानीयलाई सहज आवतजावत हुने गरी काम गर्ने जनाएको छ । केहीदिन यता हिउँदभरिको खडेरीका कारण खेतीबारीमा बालीनाली फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि जिल्लाका अधिकांस क्षेत्रमा करोडौंको क्षती पुगेको छ । प्रहरीमार्फत क्षतिको विवरण संकलन भैरहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।
बेनी नगरपालिका, मंगला, मालिका गाउँपालिकामा गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले पुरै नष्ट गरेपछि कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology