जति पात्रा फेर्यो उति नै जात्रा

समाजमा दुईखाले सकारात्मक चिन्तन देखिन्छन । पहिलो, आफ्नै जीवन अनुभवका माध्यमबाट जीवन र जगतलाई बुझ्नेहरुले विशुद्ध मानवजीवनको हितका खातिर सकारात्मक हुन अभिप्रेरित गरेका हुन्छन । र दोश्रो, मानवहित अथवा समाजहितको बहानामा आफ्नो मनसुवा अथवा स्वार्थ पूर्तिगर्न र आफ्ना कपट लुकाउन विभिन्न प्रलोभन फिंजाएर नीजि हितका खातिरका लागि प्रेरित गर्ने सकारात्मकता हुन्छन । यी दुईमा पहिलोले सुसंस्कृत र सभ्य समाजको परिकल्पना गर्छ, दोश्रोले समाजमा अदृश्य रुपमा पन्पिएको असन्तुष्टीलाई अझ बढावाको काम गर्छ । अहिले यहि दोश्रो खाले सकारात्मक चिन्तन हाम्रो समाजमा मौलाउँदै गएको छ । नकारात्मक सिकाईले स्थापित मानसिकतामा सकारात्मकता पाईंदै पाईंदैन अनि हुँदैहुँदैन । भलै सकारात्मक हुनुपर्छ भन्दै केही त्यस्ता मान्छेले फलाक्दै हिंड्न सक्छन । यस्तो सकारात्मकताको कुनै अर्थ छैन । जसले कालान्तरमा समाजलाई विस्फोट गराउँछ । तीसको दशकको मध्यतिर देखि नेपाली समाजमा चेतनाका झिल्कारु देखा परे । पचासको दशकमा चेतनाको आगो नै बल्यो । चेतनाको त्यो आगो बल्दा समाजमा व्याप्त थिचोमिचो बाट समाजले ठुलै राहत पाएकै हो । तर यो चेतना श्रृजनामा भन्दापनि विनाशमा रुपान्तरण हुँदै गयो । दशबर्षे द्वन्द्वकालले त चेतनालाई यति माथि पुर्याईदियो कि शासकका गालामा चड्कन हान्ने सम्म पुग्यो । जे सिकाईयो त्यहि कापीमा लेखियो । चेतनामा नैतिकता र अनुशासन घुस्नै पाएन । सु–संस्कृत संस्कार र परम्परागत असल कुराहरु चेतनामा घुस्नै पाएन । फलत ः समाज विग्रह उन्मुख देखापर्न थाल्यो । राष्ट्रलाई नै खण्डित गर्ने राष्ट्रघाति उठ्न थाले । भलै अहिले यो अमूर्त बनेर रहेको छ । समयक्रममा उजागर हुनेनै छ ।
आफ्नै जन्मदिने बाउआमालाई पनि श्रद्धा गर्नका लागि तर्क गर्न थालियो । बाआमाले मनोरञ्जन गर्दा म जन्मेको हुँ । मलाई भनेरै उनले जन्माएका काँहुन र ! भन्ने सम्मका नीच वैज्ञानिक तर्क हुन थालेको छ । यस्तो चेतनाले भरिन थालेको चेतनाले सुखद भविष्यको रेखा कोर्दै कोर्दैन । त्यसैले बर्तमान मात्रै सबथोक मान्न थालियो भने भविष्यमा उज्यालो देख्न मुश्किल पर्छ । यहि चेतनाले भरिएका समाजिक अगुवाहरुबाट सकारात्मक पक्षको अपेक्षा गर्नु माथी उल्लेखित दोश्रो कोटीको सकारात्मकता हो ।

विभिन्न प्रकारका संघ संस्था कम्पनि बैंकमा लामो समयदेखि तथाकथित प्रजातान्त्रिक प्रकृयाबाट जरो गाडेर रंजाईगर्नेहरुलाई दोश्रो सकारात्मक व्यवहार बढी जरुरी परेको छ । उसले जे आँटेताके पनि पुराहोस् भनी भजन सुन्न चाहन्छ । वहाँको जयजय होस् भन्दै गुनगान गर्ने सकारात्मकता चाहिएको छ । उसले जति नै गल्ति गरेपनि ऊ नै सबथोक हो । ऊ बाहेक अरु कसैले सक्दैन भन्ने दिमागमा भर्ने महत्वपुर्ण जिनिस नै दोश्रो सकारात्मक सोच हो । जरागाडेर जमेकाहरु सँधै एसम्यानको ध्याउन्नमा रहन्छन् । जरागाड्नेहरुमा जमिनमुनि ढुङ्गो पनि हुनसक्छ भन्ने हेक्का रहन्छ रहन्न त्यो भने बेग्लै छ ।
जरागाडेर डाडुपन्युँ हातमा लिएका यस्ता मान्छेहरुको मुखबाट बारम्बार पहिलो स्तरको सकारात्मक हुन खुब खोज्छन । यी मान्छेहरु भन्छन, सकारात्मक सोंच राख्ने हो भने सबैकुरा आफसेआफ ठिकठाक हुँदै जान्छ । सकारात्मक चिन्तनले जीवनमा खुशी पैदा गर्छ । खुशी हुने व्यक्तिको जीवन स्वस्थ्य रहन्छ । जीवनमा खुशी र मुस्कान उदाउँछ । उदित मुस्कानले खित्का छोडिन्छ । खित्का छुटाएर हाँस्ने व्यक्तिका संपुर्ण शारिरिक अवयवहरु हल्लिन्छन । शिथिल शरिरमा उर्जा भरिन्छ । व्यक्तिमा आउने सकारात्मक गुणले परिवारिक स्वास्थ्य पनि उर्जाशील रहन्छ । र, प्रगतिका मार्गहरु आँफै प्रशस्त हुन्छन । एवं रितले समाज र राष्ट्रलाई नै सुसंस्कृत र सभ्य बनाउँछ । आदि ईत्यादि फलाक्छन । साधुसन्त समान महान प्रवक्ता बन्छन । यिनैका हातबाट डाडुपन्यँु खोसेर मिल्काई दिने हो भने भोलिपल्टै देखि सम्पूर्ण सकारात्मक सोंच नकारात्मकतामा बदलिन्छ । अर्थात खाईपाई आएको दाना हरण हुँदा बित्तिकै यीनिहरुको आफ्नै भाष्य चरित्रमा आकाश जमिनको अन्तर देखापर्छ । त्यसैले त भनिन्छ, नकारात्मक सिकाईले उत्पादित सकारात्मकता कहिल्यै दिगो हुन सक्दैन न त चीरस्थायी नै हुन्छ । न त कसैको भलाई नै गर्छ । यी र यस्ता प्रकारका सकारात्मक ’मनुवा’हरुलाई समाजले समय छँदै चिन्न सक्नु पर्दछ ।
सकारात्मक चिन्तनका कुरा भन्नेले भने पो भन्न मिल्छ । जो नकारात्मक पाटोबाट भण्डारमा पसेर हुँडलो मच्चाईरहेको छ, उसैले के को सकारात्मक कुरा गर्नु । समाजमा नकारात्मक चिन्तन बढ्यो भन्ने उसैले पीर मान्छ, जसले परोपकारमा आँफुलाई लीन गराई रहेको हुन्छ । आफ्नो परिवार र उसकै नीजि वैयक्तिक स्वास्थ्य दीर्घायु बनाउन दुनियाँलाई उल्लु बनाउँदै हिंड्नेले सकारात्मक बन भन्दै हिंड्नु भनेको देख्नेलाई लाज लाग्नु शिवाय अरु के हुन सक्छ ? नपढेकालाई पनि थाहा छ कि झगडाले अशान्ति निम्त्याउँछ । मेलमिलापले शान्ति पलाउँछ । तर धेरै स्वनामधन्य महानुभावहरु आफ्नो दूनो आँफैसंग रहिरहोस भन्ने अभिप्रायले उसका अबगुण र कर्तुतहरु छुपाई राख्न सकारात्मकताको पाठ सुगाले झैं रटाउन खोज्छ । अनि आँफै मख्ख पर्छ । त्यसरी लुटमार मच्चाउनेले जाने हुन्छ तिम्रो अवसान टाढा हुँदैन ।
अहिले पहिलो सरकार देखि तेश्रो सरकार सम्मका सरकारले गरेका काम कारवाही सबैले देखेकाछन् । सबैले देखेको ति कुराहरु जस्ताकोतस्तै बोल्ने मान्छेलाई ’यो मान्छे नै नकारात्मक हो’ भन्न थालेका छन । देखेको कुरा कसैले खरो ढङ्गले राख्ला, शीतलो ढङ्गले राख्ला वा गीत संगीतको माध्यमले राख्ला तर राखेका कुराहरु ती सबै हुबहु हुन् । भएकै कुरा हुन । जुन आफ्नो अनुकुल मात्रै भए गरेका छन । देश र जनता भन्दा आफ्नो हितसमुह, स्वार्थ समुहको पक्षपाती छन् । जसलाई राज्यका विभेदकारी व्यवहार हुन भनेर मान्नु पर्ने नै छन । भत्केको निर्वाचन संस्कृति अनुकुल आवश्यक जोहोगर्न गरिएका अकुत सम्पत्ति आर्जन गर्ने र जनतालाई उनको स्वार्थमा आँच आउन नदिन जनता र नेपाली समाजलाई सकारात्मक बन्न विनासित्तै प्रवचन पोख्छन । जुन उनीहरुकै लागि घातक छ । गरेका काम कारवाहीहरुको चित्तै नबुझे पछि कसरी सकारात्मक हुन्छ मान्छे । सकारात्मक हुनका लागि न नकारात्मक हुने हो ।
अन्तमा, हिजो ०७५ सालसम्मका यस्ता मनगढन्ते सकारात्मक ढँटुवाहरुलाई नयाँ बर्ष २०७६ ले सद्बुद्धि प्रदान गरोस् । पात्रो फेरिनु मात्रै नयाँ होईन प्रवृत्ति फेरिनु नयाँ हो । तैंले खाईस मैले किन नखाने भन्दै आशनोन्मुख मुख कसैको नहोस् । जति पात्रा फेरिन्छन उतिनै जात्रा नहोउन । सकारात्मक चिन्तन देश र समाजका लागि होस् । आँफु उभिएको धरातालको ज्ञात सबैलाई होस् । अरुलाई मार्छु र मैले मात्रै एक्लै रजाईं गर्छु भन्नेले पनि शाश्वत सत्य मृत्युलाई आत्मसात गरोस् । देश सबैको साझा हो, निषेध र विमुख कोही नहोउन् भन्ने सकारात्मक भावना सबैमा आवस् । नयाँवर्ष २०७६ को सबैसबैमा मंगलमय शुभकामना ! धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology