आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली

  • ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उदघाटन
  • काठमाडौं, १ बैसाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन । ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको आईतवार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
    ‘यो बुढाबुढीको भलो चिताउने सरकार हो. प्रधानमन्त्री ओलीले भने, ‘यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।’ प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए । ‘पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे, यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।’
    प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए । प्रधानमन्त्री ओलीले अब कसैले पनि भोकै नांगै बस्नु नपर्ने र मागेर खानु पनि नपर्ने बताए । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुनेछ ।

    प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने उल्लेख गरे । ‘हामी नेपाललाई केही बर्ष भित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउदैछौं, यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ ।’
    प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरे । कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोले । उनीहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरे ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology