कार्तिकदेखि कालीगण्डकी गर्जको निमार्ण कार्य शुरु हुने

म्याग्दी, २ बैशाख –
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा निर्माण हुने १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्यूत आयोजना आगामी कार्तिकदेखि निर्माणको चरणमा प्रवेश गर्ने भएको छ ।
चैत १५ र १६ मा राजधानी काठमाण्डौंमा आयोजित लगानी सम्मेलनमा चीनको ‘युनान सिन्ह्वा वाटर कन्जर्भेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी’ र आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुशनबीच समझदारी भएको थियो । सोही सम्मेलनमा आयोजनाका लागि चिनिया कम्पनिले करीब रू. ४० अर्ब लगानी गर्ने सहमति भएको थियो ।
हाइड्रो सोलुशनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानले आयोजनाको विद्युत् खरीदरविक्री सम्झौता (पीपीए) तथा परियोजना विकास सम्झौता (पीडीए)का काम जति चाँडो भए, उति नै लगानीकर्ता आउने सुनिश्चितता हुने बताए ।
प्रधानका अनुसार हालसम्म आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको छ । जग्गा खरीद गरिसकिएको तथा विस्तृत परियोजना प्रतिवेदन तयार भइसके र आयोजनाको विस्तृत डिजाइन चिनियाँ कम्पनी सीड्रीले बनाइरहेको अवस्थामा कामदार भिसाका साथै वन तथा जग्गा लगायतका कुराहरुमा नेपाल सरकारले सहजीकरण गरिदिएको खण्डमा आगामी कात्र्तिकदेखि परियोजनाको निर्माण कार्य शुरु हुने छ ।
निर्माण अघिका सबै अनुमति प्राप्त भए २०७७ असार मध्यसम्ममा पूर्ण निर्माणमा जान सकिने आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुशनले जनाएको छ ।
चीनमा जलविद्युत् आयोजना विकासमा काम गरेको ‘युनान सिन्ह्वा वाटर कन्जर्भेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी’ दक्षिण एशियामा पनि यसको सम्भावना देखेर लगानी तथा विकासका लागि उत्साहित भएको हो । हाइड्रो सोलुशनका प्रमुख प्रधानका अनुसार कालीगण्डकी गर्ज उक्त कम्पनीले दक्षिण एशियामा विकास गर्न लागेको पहिलो परियोजना हो । काठमाण्डौंमा सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनबाट नेपालका विभिन्न १५ परियोजनाहरुमा विदेशी लगानी भित्रिने परियोजनाहरुमध्ये म्याग्दीको कालीगण्डकी गर्ज पनि परेको हो ।
कालीगण्डकी गर्ज निर्माण प्रक्रियामा प्रवेश गरी लगानीका अभावमा अलपत्र परेको थियो । आयोजनालाई तिब्रता दिन चिनिया कम्पनीले ८० प्रतिशतसम्म लगानी गर्ने सम्झौता भएको छ ।
मुस्ताङको दामोदरकुण्डदेखि शुरु भएर म्याग्दी हुँदै बग्ने कालीगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्न २०६३ सालमा कालीगण्डकी गर्ज आयोजनामो सर्वेक्षण भएको थियो । २०६८ पुस १९ गते उत्पादन लाइसेन्सका लागि विद्युत विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्ध भएको थियो । पुरानो लाइसेन्स रद्ध भएपछि नेपाल कालीगण्डकी गर्जको नाममा पुरानै कम्पनिले आयोजनाको पुनः सर्वेक्षण र निर्माण प्रक्रिया अघि बढाएपछि चिनियाँ कम्पनिले लगानीमा चासो देखाएको थियो ।
यस आयोजनाको हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । आयोजनाको पाँच किलोमिटर सुरुङ रहने छ ।आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँ मुआब्जा दिएर ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
आयोजना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नदीको बहाबमा आधारित रन अफ दि रिभर आयोजनालाई अर्धजलाशययुक्त (पिकिङ) बनाउने तयारी भएको बताइएको छ ।
प्रस्तावित कालीगण्डकी गर्ज कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउपालिकामा पर्दछ । यहाँ सरकारले सडक तथा खानेपानी पूर्वाधार पु¥याइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology