डाक्टरको आन्दोलन : नैतिकताको प्रश्न ?

विगत केही दशकदेखि चर्चामा रहेको नेपाल अहिले पनि चर्चामा नै छ । चर्चाका विषय र रुप फेरिएपनि चर्चा भने कायम नै छ । पछिल्ला दिनमा भएको चर्चा भने कहीँ नभएको बेथिति नेपालमा भएर हो । यतिवेला मुलुकको हरेक क्षेत्र वेथितिमा चलिरहेको छ भन्दा कसैको पनि असहमति हुदैन होला शायद । जवाफदेहिता नभएको सन्दर्भमा गतहप्तादेखि नेपाली डाक्टरहरू अस्पतालमा बिरामीको उपचार नगरीकन हडताल गरेर सरकारलाई आफ्ना नाजायज माग पुरा गर्न दवाव दिइरहेका छन ।
डाक्टरहरूको आन्दोलन कै कारणले यतिबेला सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीको बिचल्ली भएको छ । माथिल्लो वर्गका ब्यक्ति त उपचारका लागि नीजि अस्पतालमा पुगेर उपचार गरिरहेका नै छन । तर तत्लो वर्गका नागरिक सवैभन्दा बढि मर्कामा परिरहेका छन । नागरिकप्रति जवाफदेही बन्ने डाक्टरहरु र सरकार दुवै त्यति गम्भिर भएको देखिदैन ।
मुलुक संघियतामा गएपछि स्वभाविक रुपमा हाम्रा संरचनाहरु पनि सोही अनुसार नै रुपान्तरित हुनुपर्ने हो । तर केही सिमित ब्यक्तिका स्वार्थले कुनै न कुनै ठाउँमा अवरोध सिर्जना गर्ने काम भइरहेको छ । अहिले सरकारले गरेको कर्मचारी समायोजन अनुसार आफुहरू नचल्ने र मन्त्रालयको निर्णय आफुहरूलाइ मान्य नहुने भन्दै राजधानीदेखि जिल्ला तहसम्मका डाक्टरहरुले तमासा मच्चाउने काम गरिरहेका छन् । यसको प्रत्यक्ष असर त गरिब दःुखी नेपाली जनता उपचार पाउनबाट बन्चित भएका छन् ।
देशमा गणतन्त्र आएको यहीँ आन्दोलन गर्नलाई हो त ? मनपरि ढंगले जेजे मन लाग्यो त्यहीँ त्यहीँ गर्नलाई नै हो त ? अहिलेको काम, बाताबरण, मान्छेको व्यवहार हेर्दा त्यहीँ कुरा छर्लङ्ग हुन्छ । हिजोको दिनमा सरकारी जागिर खानेबेलामा सरकारले खटाएको ठाउमा जान्छु भनेर प्रतिबद्धता जनाएका कर्मचारी डाक्टर लगायतले आज हरेक कुरा आफुले भने अनुसार नै हुनुपर्ने नत्र भने आन्दोलन गर्ने जुन खालको बेथिति चलिरहेको छ यसलाई जबसम्म हल गर्न सकिदैन तबसम्म देशमा स्थिरता र सुशासन सम्भव छैन । अझ वढि बेथिति र अराजकता मच्चिने निश्चितप्राय छ ।
अहिले देशमा इतिहास कै शक्तिशाली कम्यनिष्ट सरकार छ, त्यो पनि सामान्य हैन पुरै दुई तिहाईको बहुमत भएको । यो सरकार हिजोका जस्ता नौ नौ महिनामा फेरिएला भन्ने कुनै शंका गर्ने ठाउँ पनि छैन । अहिले देश संघियतामा गएर ३ तहको सरकार पनि बनिसकेको अबस्था छ । यस्तो समयमा अझै पनि देशमा जसले जे गरेपनि हुने, जस्तोसुकै माग राखेर आन्दोलन गरेपनि हुने कारणले पनि समस्या झन भन्दा झन थपिदै गएको हो । सरकारले अतिआवश्यक क्षेत्रमा हडताल गर्न प्रतिबन्ध लगाएको छ तर सरकारको निर्णयलाई अरुले होइन, डाक्टरहरुले नै ढोती लगाइदिएका छन यतिवेला । उनीहरु त बढि नागरिकप्रति जवाफदेही र जिम्मेवार बन्नुपर्ने हो । कर्मचारीको आन्दोलन हेर्दा साच्चै देशमा शक्तिशाली सरकार छ कि इतिहासमै सबैभन्दा कमजोर सरकार छ भनेर सोच्नुपर्ने अवस्थामा पुराइदिएका छन् ।
सरकारले राजधानीमा भएको सिंहदरबार गाउँ गाउँमा पठाएको भनेर दिनहुँ भनिरहेको छ । अहिले एक स्थानीय तह एक अस्पताल बनाउने घोषणा भइरहेको समयमा सरकारले खटाएको ठाउँमा डाक्टर सरुवा भएर जान मान्दैन अबस्था यस्तो छ । सबैलाई पैसा कमाउने ठाउँ नै चाहिएको छ । सबैलाई राजधानीमै काम धन्दा चलाउनु परेको छ । सबैलाई आफ्नो लुटको धन्दा संस्थागत गर्नुपरेको छ । अझ वढि अनियमिततामा कुद्नु परेको छ ।
साच्चै डाक्टरलाई नेपाली जनताले भगवानको रूपमा लिन्छन । अहिले सरकारी अस्पतालमा बिरामी औषधी उपचार नपाएर छट्पटी रहेको दृश्य मिडियाहरूले देखाइरहेकाछन् । अरू पेशा जस्तो पनि हैन डाक्टरको पेशा । यो त निकै संबेदनशिल पेशा हो । अहिले देशभर हजारौं हजारौं बिरामी अस्पताल बाहिर छट्पटी रहदा पनि आन्दोलनरत डाक्टरको मति सुधार भएको छैन । साच्चै अहिले मान्छेहरू संबेदनसिल हैन संबेदनाहिन बन्दै गइरहेका छन भन्ने स्पष्ट छ । डाक्टरले अहिले राखेका माग जायज भए पनि आन्दोलनको नाममा बिरामीको उपचार ठप्प पार्दा बिरामीको बिचल्ली भएको छ यतिबेला । अस्पतालमै बिरामीका आफन्त डाक्टरको आन्दोलन देखेर चकजिल परेका छन् ।
साच्चै गायक पशुपति शर्माले गाएको गीत लुट्न सके लुट कान्छा नेपाल मै छ छुट अरू देशमा पाइदैन नेपाल मै छ छुट भन्ने गीत डाक्टरको आन्दोलनमा पनि निकै सान्दर्भिक छ । अहिले सरकारी अस्पतालमा आन्दोलन चलिरहेको छ त्यहा आन्दोलन गर्ने डाक्टरले भने बजारको निजी अस्पतालमा गएर चर्को शुल्क लिएर विरामीको उपचार गरिरहेका छन । उनीहरुले चर्काे शुल्क लिएर निजि अस्पताल र मेडिकलमा गएर सेवा दिन भने छोडेका छैनन् ।
एकातिर सरकारी अस्पतालमा हडताल अनि अर्काेतिर निजी अस्पतालमा उपचार चलिरहेको छ । नाटक गर्नुको पनि हद हुन्छ नि ! यतिबेला देशमा राँडीको राज्य चलिरहेको छ भन्दा फरक नपर्ला जसले जेजे मन लाग्यो त्यहीँ त्यहीँ गर्ने । यस्तो गर्दासमेत कसैले केही गर्न सकेको छैन । नेपाली जनता चुपचाप लाटोले केरा हेरेर बस्ने भन्दा अर्को केही गर्न सकेका छैनन् । राष्ट्रिय मानव अधिकार नागरिक समाज कहाँ छन् भनेर खोज्नु पर्ने भएको छ । देशमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायतका राजनीति पार्टी पनि छन् भन्ने सुनिन्छ तर कहाँ छन् कुन हालतमा छन् त्यो पनि थाहा छैन ।
साच्चै अहिले डाक्टरले आन्दोलन गरेर बिरामी जाँच्न छोडे जस्तै पत्रकारले आन्दोलन गर्ने, मिडिया ठप्प पार्ने, खानेपानीको कर्मचारीले आन्दोलन गर्ने, खानेपानी ठप्प पार्ने, बिधुतका कर्मचारीले आन्दोलन गर्ने, अनि देश अन्धकार बनाउने, टेलिकमका कर्मचारीले संचार सेवा ठप्प पार्ने हो भने के हालत होला देशको बिचारनिय कुरा छ यहाँ । आफ्नो माग सरकारसँग राख्ने आन्दोलन गर्ने अधिकार सबैलाई छ तर आन्दोलन कसले गर्ने कतिहदसम्म गर्ने भन्ने प्रमुख प्रश्न हो अहिले देशमा अधिकारको नाममा अराजकता मौलाएको छ आफ्नो निश्चित स्वार्थ पूरा गर्न जसले जे मन लाग्यो त्यसले त्यहीँ त्यहीँ गर्ने छुट यो वा त्यो नाममा दिदै गर्दाको परिणाम हो ।
सरकारले संघियतालाई लागू गर्ने भनेर लागिपरेको देखिएपनि यो सानोतिनो चोटले सफल हुने देखिदैन जवसम्म सबै स्थानीय तहमा दरबन्दी अनुसारको जनशक्ति पुराउन सकिदैन । तबसम्म नेपाली जनताले सेवा सुबिधा हैन सकस नै झेल्नुपर्ने निश्चित छ । सरकारले अहिले भइरहेको सबै खालको विकृति विसंगतिलाई जबसम्म हल गर्न सक्दैन तबसम्म नयाँ नयाँ खालको घटना समाजमा घटिरहने निश्चित छ । अहिले डाक्टरले गरिरहेको आन्दोलनलाई सारा नेपाली जनताले मुर्दावाद भनेर भन्नू अन्यथा हुदैन किनभने भगवानको अर्को रूप मानिने डाक्टर स्वयम् आफ्नो कर्तव्य सबै भुलेर आन्दोलन गर्न हिड्छ भने मुर्दावाद नभनेर कसरी जिन्दावाद भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology