दलितलाई समाजमा हेर्ने नजर फेरिन नसक्नु दुखद : नेपाली

पोखरा ,२ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोबिन्द नेपालीले दलित समुदायलाई संविधान र राज्यले साथ दिएको अवस्थामा पनि समाजमा हेर्ने नजर फेरिन नसक्नु दुखद भएको बताएका छन् । धौलागिरी कास्की दलित सम्पर्क समाज हेम्जाले आइतबार पोखरा–२५ हेम्जामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य नेपालीले संविधानमा नै मौलिक हकको रुपमा दलितको हक समावेश गरेकोे र जातीय छुवाछूत विरुद्धको ऐन कानुन बनिसकेको सन्दर्भ उठाउँदै कार्यान्वयनका लागि दलित एकता अपरिहार्य भएको बताए । जातीय विभेद अन्त्यका लागि आफ्ना आनिबानिलाई सुधार गर्दै हक हित र अधिकारको लागि लडन उनले समुदायलाई आग्रह गरे । समाजका हरेक आवश्यकता पूरा गर्ने दलित समुदाय समाजबाटै अपमानित हुनु परेको अवस्थाको अब छिट्टै अन्त्य हुने उनले आशा व्यक्त गरे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी (नेकपा)का गण्डकी प्रदेश सदस्य कृष्ण नेपाली , पोखरा महानगरपालिका –२५ का संयोजक माधव पौडेल ,नेपाली कांग्रेसका वडा सभापति मधुसुधन त्रिपाठी ,स्थानीय युवा दीपेन्द्र परियार लगायतले बोलेका थिए । सो अवसरमा समाजले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरिएको थियो । कार्यक्रममा कास्की जिल्लाका विभिन्न स्थानीय तहमा रहेका दलित आमा समूहहरुलाई सम्मान गरिएको थियो । धौलागिरीबाट कास्कीमा बसोबास गर्दै आएका अधिकांस दलित समुदायमा कसैको निधन भएमा काजक्रिया गर्ने स्थानको समस्या भएको वक्ताहरुले बताएका थिए । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेपालीले प्रदेश सरकारको तर्फबाट सहयोगको लागि पहल गर्ने बताएका थिए । सो अवसरमा स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रम समाजका अध्यक्ष रणबहादुर श्रीपालीको अध्यक्षता ,उपाध्यक्ष प्रेमदेवी परियारको स्वागत र सचिव बेलबहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology